0
गोल्डेन न्यूज संवाददाता
बैशाख १२ को विनासकारी भूकम्पको कारण देशका १४ जिल्ला नराम्ररी प्रभावित भए । पश्चिमाञ्चलको गोरखा वारपाक केन्द्र मानिएको ७ दशमलब ९ रेक्टर स्केलको भूकम्पले काठमाडांै उपत्यका सहित धेरै जिल्लामा ठूलो मानवीय एवं भौतिक क्षति भयो । पश्चिमाञ्चलको पोखरामा पनि त्यसको कम्पन पूर्ण रुपमा महसूस गरियो । तर पोखरा उपत्यकामा कुनैपनि मानवीय एबं भौतिक क्षति भएन । भूगर्भविद्हरुको भनाईमा पोखरा संयोगले जोगियो । झण्डै एक सय २४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको पोखरामा यस्ता क्षेत्रपनि छन् जहा बस्ती विस्तारको लागि उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरीएको छ । पोखराको झण्डै १० प्रतिशत त्यस्ता भूभागमा रहेका वस्ती जोखिमयुक्त भएकाले कुनैपनि बेला ठूलो क्षति ब्यहोर्नुपर्ने भूगर्भवद्हरु बताउँछन् । पोखराको छोरेपाटन र सेति किनारमा रहेका बस्तीहरु सबैभन्दा बढी जोखिममा छन् । पोखरा उपहानगरपालिका वडा नं १७ छोरेपाटन स्थित गुप्तेश्वर गुफा माथि भएको वस्ती विस्तारले जोखिम झनै बढाएको छ । गुफा माथि ठूल्ठूला संरचना बर्षेनी थपिदै गएका छन् । गुप्तेश्वर गुफा ब्यबस्थापन समितिका कार्यालय प्रमुख नारायण पौडेलका अनुसार अहिलेसम्म गुफा माथिका ८ घरलाई स्तानान्तरण गरिसकिएको छ । अन्य घरहरु पनि हटाउने प्रक्रियामा छन् । गुफाको आम्दानीबाट सञ्चालन गरिएको क्याम्पस भवन पनि जोखिमपूर्ण स्थानमै पर्छ । बिज्ञहरुले गुफामाथि बनाइएका घरहरु निकै जोखिममा रहेकोमा सचेत गराएपनि सम्बन्धित पक्षले संरचना निर्माणको लागि अनुमति दिईरहेका छन् । ‘छोरेपाटन क्षेत्र पोखराको सबैभन्दा बढी जोखिमयुक्त छ,’ भूगोलविद् डा. कृष्ण केसीले भने–‘तर यही क्षेत्रमा अब्यवस्थित रुपमा घरहरु बनिरहेका छन् ।’ गुफा करिब ३ किलोमिटर क्षेत्रमा फैलिएको छ । सन् १९९८ को प्रतिवेदनले पोखरामा सेती नदीको डिल 
(नदीपुरदेखि रातो पैह्रोसम्म), फिर्के खोला छेउछाउ, गुप्तेश्वर गुफा, अर्मला क्षेत्र उच्च जोखिमको क्षेत्र भनि किटान गरेको छ । 
यस्तै नदीपुर, महेन्द्रपुल, तेर्सापट्टी, चिप्लेढुङ्गा, न्यूरोड, पुरानो बसपार्क, हरियो खर्क, पार्दी, लामाचौरका केही भाग, दीप लगाएतका क्षेत्रलाई जोखिम क्षेत्रको रुपमा उल्लेख गरिएको छ । तर अहिलेसम्म पनि यस क्षेत्रमा संरचना निर्माणको काम रोकिएको छैन । उच्च जोखिमका क्षेत्रमा बढी भार हुने खालका संरचना निर्माण नगर्न प्रतिबेदनले सुझाएको छ । ‘पोखराको सबै क्षेत्र जोखिममा परेको होईन’ केसी भन्छन्–‘केही ठाउँ उच्च जोखिममा छ, यसतर्फ सचेत हुन सके कुनै क्षेति बेहोर्नुपर्दैन ।’ सेती नदीको दायाँ–बायाँ १०० मिटर र फिर्के खोलाको दुवैतर्फ ४० मीटरसम्म भौतिक संरचना निर्माण गर्न नहुने विज्ञहरूको सुझव छ । तर यो नियमलाई पोखरा उपत्यका नगर विकास समितिले घटाएर पाँच मीटरमा झारेको छ । यही मापदण्ड पनि कार्यान्वयन नभएर अहिले खोला माथी नै धमाधम संरचना बनेका छन् । ३५ फिटभन्दा अग्लो घर बनाउन नपाइने नगरपालिकाको नियम छ । तर यो नियम पनि कसैले पालना गरेका छैनन् । ४ तला भन्दा होचा घरहरु पोखरामा सायदै कम छन् । 
नगरपालिकाले निश्चित मापदण्ड भन्दा माथिको संरचना निर्माण गर्दा नक्सापास दिँदैन, तर नक्सापास सम्म प्रक्रियागत ढंगले निर्माण गर्छन् भने त्यसपछि आपूmखुशी तला थप्ने क्रम बढ्दो छ । सेती नदीको किनार वरपर, गुप्तेश्वर गुफा, पातालेछाँगो भएको क्षेत्रमा संरचना विस्तार प्रक्रिया तत्काल रोक्नुपर्ने र यसलाई नियमन गर्न सकेको खण्डमा धेरै हदसम्म जोखिम कम हुने डा.केसीको सुझाव छ । पछिल्लो समय नगरपालिका संगको साझेदारीमा लुमन्ती परियोजना अन्तर्गत विस्तार गरिएको सामुहिक बस्तीपनि जोखिमयुक्त क्षेत्रमा रहेको केसीले बताए । विजयपुर खोलाको डिल भिर क्षेत्रमै मापदण्ड विपरित सामुहिक वस्ती विस्तार गरिएकाले जोखिमबाट टाढा नरहेको उनले बताए । 
पोखरामा सामुहिक बस्ती विस्तार भएका ठाउँमा मापदण्ड खासै पालना भएको पाईँदैन । विजयपुर खोला नजिकै रहेको राजमार्ग छेउका २५ भन्दा बढी घरहरु पनि उच्च जोखिममा छन् । यसको पनि घरमाथि नै माटोको ढिस्को छ भने घरको छेउमा भिर छ । पोखरामा मापदण्ड विपरित बनेका संरचनाका कारण पनि जोखिम बढाएको छ । उपत्यकाका सबै ठाउँमा गहिरो अध्ययन हुनुपर्ने सहरी विकास तथा डिभिजन कार्यालय पोखराका प्रमुख तपेन्द्र खड्काले बताए । जमिनको भारवहन क्षमता र संरचना अध्ययन पछि मात्रै कुन स्थानमा कति ठुलो घर बनाउने भन्ने तय गर्नुपर्ने उनले बताए । ‘हामी सतहमा गरिएको अध्ययनका भरमा ब्याख्या गरिरहेका छौं,’ खड्काले भने ‘भित्रि अध्ययन कसैले गरेको छैन, सरकारको ध्यान यसमा जानु जरुरी छ ।’ पोखरा उपमहानगरपालिमा पछिल्लो समय बार्षिक ४ हजारसम्म नयाँ घरहरु थपिने गरेको तथ्याकं छ । जुन सबैजसो मापदण्ड विपरित छन् । पोखरामा अहिलेसम्म करिब ७० हजार घर निर्माण भैसकेको छ । ‘हामीले मापदण्ड विपरित बनेका संरचनालाई निरुत्साहित गर्ने काम गरेका छौं’–नगरपालिकाका ईन्जिनियर पूर्ण गुरुङ्गले भने ‘घरधनीहरुको अटेरपनाले यस्तो अवस्था आएको हो ।’ यसलाई नियमन गर्न जनप्रतिनिधि नआएसम्म नसकिने नगरपालिकाका कर्मचारीहरु बताउँछन् । जोखिमयुक्त क्षेत्रमा ७ हजार भन्दा बढी मापदण्ड विपरितका घरहरु रहेको विज्ञहरुले बताएको रातोपाटीमा बखर छ ।

Post a Comment

 
Top