कांग्रेस सभापति सुशील कोइरालाको देहावशानपछि केही सुस्ताएजस्तो देखिएको कांग्रेसमा महाधिवेशनको रस्साकस्सीले फेरि गति पक्रिसकेको छ । सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवा क्याम्पबीचको त्रिपक्षीय म्याचका रूपमा व्याख्या गरिएको आसन्न महाधिवेशनबारे अचानक नयाँ शिराबाट व्याख्या हुन थालेको छ । के अब साँच्चै कोइराला परिवारको वर्चस्व कांग्रेसमा समाप्त हुनै लागेको हो त ? संस्थापन पक्षको नेता रामचन्द्र पौडेल भएका हुन् ? कि शेरबहादुर देउवाको पल्ला भारी भएको हो ? अथवा कांग्रेसमा पुराना सबै समीकरण भत्कन लागेका हुन् ? उल्लिखित प्रश्नबारे विचार गर्दा यसै सन्दर्भमा चलिरहेका विभिन्न चर्चा उल्लेख्य छन् । पहिलो चर्चा के भने, संस्थापनको एकमात्र दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरिरहेका रामचन्द्रसँग अर्का दाबेदार कृष्ण सिटौलाले कुनै छलफल गरिरहेका छैनन् । बरु चुनौतीको स्वरमा भनिरहेका छन्, ‘लौ भन्नुस् त तपाईंको भोट कति छ ?’ अर्को चर्चा झन् रोचक छ । आफूलाई पनि सभापतिकै दाबेदार भन्न रुचाउने अर्जुननरसिंह केसी देउवासँग बार्गेनिङ गर्दै छन् । केसीले आफ्ना ज्वाईं गगन थापाका लागि कुनै पदाधिकारीका निम्ति बार्गेनिङ गरेका होलान भन्ठान्नुभयो भने त्यो गलत हुन्छ । बरु केसीसँग देउवाले भनिरहेका छन्, ‘ज्वाईंलाई पनि मेरै खेमामा ल्याउने ग्यारेन्टी गर्नुस् ।’ उता, गुरु घिमिरे र प्रदीप पौडेलसँग मिलेर गगन थापाले ‘सिद्धान्तको पुनव्र्याख्या, संगठनको पुनःनिर्माण’ को प्रस्ताव गरेका छन् । बजारमा नयाँ शक्तिको चर्चा चलेको बेला यी युवानेताले कांग्रेसकै पुनःनिर्माण गर्ने बहस चलाएका छन् । कांग्रेसको पुरानै ढाँचा र परम्परामा आत्मसमर्पण गरेको आरोप लाग्ने गरेका उनीहरूले साँच्चै यसपटक पार्टीभित्र नयाँ समीकरण निर्माण गर्न सक्छन् ? यो प्रश्नको जवाफ दिन त्यति सजिलो छैन । यद्यपि, उल्लिखित चर्चा र प्रसंगबीचमा कांग्रेसमा अहिले नै कोइराला ‘डाइनेस्टी’ को विरासत धान्ने पात्र देखानपरेको भने सत्य हो । र, अझ महत्वपूर्ण सवाल के भने जिल्लामा भइरहेका अधिवेशनमा पुराना नेता हार्ने र राजनीतिमा खासै धेरै समय नखर्चेका युवानेता धमाधम जित्ने स्थिति कसरी पैदा भयो ? अथवा भनौं, यसो भयो त किन भयो ?
कांग्रेस वृत्तमा चलेको अझ अर्को चर्चा सुनौं । पुराना नेताहरू वडामै हार्ने स्थिति पहिलाका अधिवेशनमा पनि बनेकै हो । तर, यसपटक राजनीतिमा ‘आलाकाँचा’ ठानिएका नेताले अनुभवी ‘भेट्रान’ नेतालाई ‘जय नेपाल दाइ’ भन्न छाडिदिए, बरु आँखा जुधाउने खेलमा उत्रे । के धेरैले भन्ने गरेझैं कांग्रेसमा युवा नेतृत्व बलियो भएर आएको हो ? के यो युवापनमा परम्परागत राजनीतिक विरासत भत्काउने र पार्टी्भित्रैबाट नयाँ राजनीतिक व्याकरण बनाउने हुटहुटी छ ? कि फगत नेतृत्व हत्याउने लालसामात्र ? यी प्रश्नका आलोकमा एउटा कुराचाहिँ भन्न सकिन्छ, नेपालका राजनीतिक दलहरूको आन्तरिक राजनीति चलिआएको व्याकरणमा मात्र अब चल्ने छैन । सर्वप्रथम त, देशमा गणतन्त्र आएको छ र जनताले अपेक्षा गर्नलाई वा भ्रमपूर्वक नै सही आस गर्नलाई कुनै राजा छैन । त्यसैले समाजमा देखापरेको नयाँ शक्ति समीकरण राजनीतिक दलमै अभिव्यक्त हुने हो । गणतन्त्रको अभ्यास हुनेक्रममा राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा पुस्तान्तर देखापरिसकेको छ । यो पुस्तान्तरको अर्थ बूढा पुराना नेताको ठाउँमा युवानेता आउनेमात्र होइन, हरेक क्षेत्रमा नयाँ तरिका र विचारको अभ्यास पलाउने पनि हो । त्यसैले रामचन्द्र पौडेलको संकट कृष्ण सिटौला वा प्रकाशमान सिंहलाई आफूतिर तान्ने खेलमा मात्र सीमित छैन । राजनीतिक रंगमञ्चमा अरू दलसँग आफूले गरेको प्रतिरोधको हिसाब–किताबले मात्र उनको वैचारिक तयारी पूरा हुँदैन । युवानेताले गरेको सांगठनिक र वैचारिक पुनव्र्याख्या र पुनःनिर्माणको प्रस्तावसँग प्रतिस्पर्धा गर्ने कुन विचार छ उनीसँग ? यही सवाल देउवा क्याम्पमा पनि उठ्नु स्वभाविक छ ।
पछिल्लो महाधिवेशनबाटै कांग्रेसले जनजाति, दलित, आदिवासी, मधेसी, महिला लगायतको प्रतिनिधित्व सुनिश्चित गर्ने परिपाटी बनाएको छ । त्यस्तो प्रतिनिधित्वको प्रतिशत पुगे नपुगेको बहस अलग्गै होला तर मूलतः कांग्रेसमा समावेशीकरणको बहसले सैद्धान्तिक स्वीकृति पाइसकेको सत्य हो । त्यही सिद्धान्तलाई संविधानमा व्यवस्था गर्ने बेला रामचन्द्र र शेरबहादुरको भूमिका कस्तो रह्यो भन्ने हिसाब–किताब कार्यकर्ताले पक्कै गरेका छन् । त्यसैगरी, समानुपातिक प्रतिनिधित्वसहितको निर्वाचन प्रणालीमा कुनै दलको बहुमत नआउने पक्का हुँदा पनि अहिलेसम्म शक्तिशाली रहेका नेताहरूले किन प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था गर्न व्यवधान गरे ? यसको जवाफ पनि ती नेताले दिनैपर्छ ।
पैसा, ‘पावर’ र ‘मसल’को राजनीति कांग्रेसमा संस्थागत भएको छ भनिन्छ । अहिले पुराना, त्यागी र अनुभवी नेतालाई युवाले वास्ता गरेनन् वा हराइदिए भन्ने गुनासो छ । तर, यस्तो परम्परा कसले बसाल्यो त ? पैसा, ‘पावर’ र ‘मसल’को राजनीतिकै कारणले अहिले पुराना नेता पाखा लाग्दै जाने अवस्था बनेको हो भने यसैलाई कांग्रेसले वैचारिक परम्परा बनाइसकेको रहेछ भनेर बुझ्ने कि नबुझ्ने ? यस्तै हो भने गुरु, गगन र प्रदीपहरूको राजनीतिक भविष्य पनि पैसा, ‘पावर’ र ‘मसल’मै अडिने होला । त्यसो हुनु भनेको अहिले उनीहरूले प्रस्ताव गरेको वैचारिक र सांगठनिक पुनःनिर्माणको बहस केवल चुनावी मसला साबित हुनेछ । देउवा, पौडेल, सिटौला, सिंह र केसीहरूको राजनीतिक आधार कुन प्रभावशाली युवा नेतालाई आफूतिर तान्ने भन्ने हुनु अस्वाभाविक भएन । तर, यतिले मात्र अहिले देखिएको पुरानाप्रतिको अविश्वासको सैद्धान्तिक निरूपण हुँदैन । के युवाले पुरानालाई आँखा तरेको पैसा, ‘पावर’ र ‘मसल’मा अधिकार गर्नकै लागि मात्र हो त ? यदि उनीहरू त्यस्तो ठान्छन् भने पनि यो प्रकरणको सैद्धान्तिक निरूपण हुँदैन । मूल कुरा गणतन्त्र स्थापना र संविधान निर्माणपछिको नयाँ राजनीतिक परिदृश्यमा आइरहेको परिवर्तन नै हो । मधेसी, जनजाति, दलित आदि सीमान्तकृत समुदायको मुद्दा संविधानले पूर्णतः सम्बोधन नगरेको हुनाले यी मुद्दा प्रत्येक पार्टीभित्र संघर्षको विषय हुने नै छन् । तथापि, यी मुद्धा अब गौण बन्नेछन् बरु समाजलाई अघि बढाउने, आर्थिक समृद्धि कसरी गर्ने भन्ने विषय नै अब मूल रूपमा उठ्नेछन् । साथसाथै सामाजिक न्याय अबको राजनीतिले कसरी स्थापित गर्छ भन्ने नै हो । त्यसो हुनासाथ शिक्षा, स्वास्थ्यलगायत आधाभूूत आवश्यकताका विषयमा सामान्य जनतालाई लाभ हुने राजनीतिक, आर्थिक प्रणाली बन्छ कि बन्दैन त ? त्यस्तो राजनीतिक, आर्थिक अभियानको नेतृत्व गर्न कांग्रेससँग कुन ‘भिजन’ छ त ? गुटको जोड–घटाउ र तानातानले मात्र यी सवालको जवाफ दिँदैन । ठेकेदार, तस्कर, कालोबजारी र भ्रष्टाचारीले पैसा र ‘मसल’को बलमा राजनीतिको ‘पावर’ दुरुपयोग गरिरहने प्रणाली स्थापना गर्नमा कांग्रेसको योगदान कस्तो रह्यो ? यस्तो प्रणाली भत्काउन कांग्रेस इच्छुक छ कि छैन ? सर्वसाधरणको जीविका सवालमा कुन नीति र कार्यक्रम उसले बनाउन सक्छ ? कांग्रेसमा देखिएका युवाको उभारले यी सवालको जवाफ खोज्छ । आज नभए भोलि यी सवाल बलियो बन्नेछन् । पार्टीको वैचारिक र सांगठनिक पुनःसंरचनाको सवाल आज सबै पार्टीको मूल सवाल भइसकेको छ । यसमा देउवा, पौडेलहरू खरो उत्रने सम्भावना न्यून छ । के गुरु, गगनहरूले यी सवालको नेतृत्व गर्न सक्लान् ? जिल्ला र क्षेत्रमा मात्र होइन, महाधिवेशनमा आइरहेका नयाँ अनुहारले पुराना समीकरण भत्काइदिने निश्चित छ । तर, नयाँ समीकरण कस्तो बन्छ र कुन आधारमा बन्छ ? यो हेर्न बाँकी छ ।
Post a Comment