0
मधूसुदन दवाडी
 कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सोमबार राति निधन भएको छ । उनको निधनसँगै नेपालको राजनीतिले एक जना अग्रज र परिपक्व नेता गुमाएको छ । सबैभन्दा महत्वपूर्ण विषय त देशको ठूलो पार्टीको सभापति बन्दै गर्दा सक्रिय राजनीतिमा नै उनको जीवनले विश्राम लिएको छ । संविधान निर्माणको कार्यसँगै सुशीलको नेपाली राजनीतिमा चर्चा–परिचर्चा बढेको थियो । उनकै नेतृत्वको सरकारले नै देशमा नयाँ संविधान निर्माण गरेको थियो । चारतिर फर्किएका फरक–फरक दर्शन बोकेका दलहरुलाई एकै ठाउँमा ल्याएर संविधान निर्माण प्रक्रियामा सहमत गराउनु निकै चुनौतीपूर्ण थियो, जुन अभिभारा स्वर्गीय कोइरालाले पूरा गरे । संविधानसभाबाट देशको मूल कानुन लेख्ने सपना कांग्रेसका पिता बीपी कोइरालाको नै थियो, जुन सुशील कोइरालाले पूरा गरे । पटकपटकको दरबार र राजनीतिक दलको अन्तद्र्वन्द्वले गर्दा संविधानसभाबाट संविधान लेख्ने कार्य अन्योलमा नै परेको थियो । जीवनको अन्तिम क्षणसम्म क्यान्सरसँग लड्दै उनले निकै सक्रिय जीवन बिताएका थिए । निधन हुनु केही क्षणअघिसम्म पनि उनले कांग्रेस काठमाडौँको अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । क्यान्सरले थलिएका उनले कहिल्यै पनि घरमा विश्राम लिएको देखिएन । उनका लागि जीवनभन्दा पनि राजनीति नै महत्वपूर्ण बन्न पुग्यो । रोगी नेताको देश भन्ने गरेकोमा कार्यकर्तामा निराशा नआओस् भनेर उनले सधैँ भन्ने गर्दथे,–‘मैले क्यान्सरलाई जितिसकेँ ।’ क्यान्सर लागेर पनि उनले कहिल्यै क्यान्सर लागेको महसूस गरेनन्, सधैँ आत्मविश्वास बढाइरहे । सन् १९३९ मा विराटनगरमा जन्मिएका कोइराला विसं २०१० सालबाट सक्रिय कांग्रेसको राजनीतिमा लागेका थिए । बीपी कोइरालाको शासनकालदेखि आजको गगन थापाको युगसम्म निरन्तर राजनीतिमा उनले आफ्नो सक्रियता देखाइरहे । विसं २०१७ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा गरेसँगै १६ वर्षसम्म उनले भारतमा निर्वासित जीवन बिताउन पुगे । पञ्चायती कालखण्डको मध्यतिर विसं २०३६ सालमा उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । उनी पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै महामन्त्री, कार्यवाहक सभापति, उपसभापति हुँदै कांग्रेसको विसं २०६६ सालको १२औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित भएर अहिलेसम्म क्रियाशील थिए । पहिलो संविधानसभामा निकै नराम्रोसँग पराजय भोगेको कांग्रेस उनकै कार्यकालमा दोस्रो संविधानसभामा देशकै सबैभन्दा ठूलो राजनीतिक शक्तिका रुपमा स्थापित हुन पुगेको थियो । कांग्रेसको विजयसँगै उनी देशको ३७औँ प्रधानमन्त्रीका रुपमा २०७० माघ २७ गते निर्वा्चित भएका थिए । स्वर्गीय कोइरालाको नेतृत्वको सरकार रहँदा नै संविधानप्रति असहमति राख्दै भारत सरकारको अघोषित नाकाबन्दी र मधेस आन्दोलन सुरू भयो, तर पनि सुशील कोइराला कत्ति पनि नआत्तिएर वार्ता र छलफललाई नै केन्द्रमा राखिरहे । सधैँ प्रजातन्त्र, लोकतन्त्र र मानवअधिकारको पक्षमा अविचलित रुपमा उभिइरहे । असजिलो परिस्थितिमा पनि उनी दोस्रोपटक प्रधानमन्त्रीमा उम्मेदवार बने र कांग्रेस सभापतिमा पनि उनले फेरि उम्मेदवार बन्ने चाहना देखाएका थिए । कतिपयले उनलाई राजनीतिक स्वार्थ र गुटको राजनीतिले गर्दा पदलोलुप बनेको भन्ने आरोप लगाए पनि उनको जीवनको अन्तिम क्षणसम्मको क्रियाशीलतालाई सबैले विशेष प्रशंसा गर्नुपर्दछ । जीवनभर अविवाहित रहेकाले पनि उनलाई सन्त नेताका रुपमा चिन्न सकिन्छ । सादा र सरल जीवन नै उनको परिचय बनेको छ । जीवनमा पटकपटक मन्त्री बन्ने अवसर पाउँदा पनि कुनै लाभको पद लिएनन् । आजसम्म कुनै भ्रष्टाचारको आरोप नलागेकाले पनि व्यक्तिगत रुपमा उनको जीवनमा खासै कुनै स्वार्थ देखिएन । उनका वरिपरि घुम्नेहरुले सरकार र पार्टीमा रहँदा व्यक्तिगत स्वार्थ र नातागोताका लागि काम गरे होलान्, तर उनमा त्यस्तो देखिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै उनी सरल नेता रहेको भन्दै उनको सकारात्मक गुणको प्रशंसा गरेका छन् । कांग्रेस अहिले १३औँ महाधिवेशनको सँघारमा रहेकाले पनि उनको निधनले पार्टीका सम्पूर्ण गतिविधि प्रभावित बन्न पुगेका छन् । गुट तथा उपगुटबाट निकै प्रभावित बनेको कांग्रेसको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण कार्य त्यति सहज थिएन । उनी महाधिवेशन सफल बनाउनका लागि सक्रियतासाथ देश दौडाहामा लागिपरेका थिए । जतिसुकै वृद्ध र अशक्त नेता भनिए पनि अघिल्लो महाधिवेशनमा ल्याएको मत परिणामले पार्टीमा उनको लोकप्रियतालाई पुष्टि गरेको थियो । उनको लामो राजनीतिक जीवन र परिपक्वताले गर्दा पनि पार्टीमा उनको एकछत्र प्रभाव कायमै थियो । परिपक्व र पाका नेताहरुको बाहुल्यता भएको कांग्रेसमा उनी पार्टीको मियो नै बनेका थिए । जतिसुकै युवानेता चाहिन्छ भने पनि पाका र अनुभवी नेताको अनुभव पनि पार्टीमा त्यत्तिकै आवश्यक पर्दछ । पाका नेताले नै युवानेतालाई मार्ग्निर्देशन प्रदान गर्ने हो, अब कांग्रेस त्यो अवसर प्राप्त गर्नबाट चुकेको छ । अबको कांग्रेस नेतृत्वले उनको सरल जीवनबाट विशेष शिक्षा लिन आवश्यक छ । कांग्रेस नेताको तडकभडक र विलासिताको जीवनशैलीले नै कार्यकर्तामा निराशता छाएको बेलामा स्वर्गीय कोइरालाको जीवन सबै कार्यकर्ताका लागि प्रेरणा बनिरहने छ । यसअघि बीपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पनि सक्रिय राजनीतिमा रहँदैमा निधन भएका थिए, जुन अवस्था निम्तनु नेताहरुको रहर नभई बाध्यता थियो । त्यही बाध्यतामै जेलिएर अहिले सुशील कोइराला पनि क्रियाशील रहँदै निधन भएको छ । विशेषतः उनको जीवनको अन्त्यतिर उनलाई भारतपरस्त नेताको आरोप पनि लाग्यो, भारतकै इशारामा पनि उनी प्रधानमन्त्रीका लागि ओलीसँगै संसद्मा उम्मेदवारका रुपमा उभिए । सभापतिमा पनि उनले फेरि आकांक्षा राखेको बाहिर सुनिएकै थियो, शायद् धेरैको पदप्रतिको आकांक्षा बढेकाले पनि उनले उठ्ने बताएका थिए । उनका बारेमा मानिसहरुले विभिन्न आलोचना गरे, तर सबै विषय उनको बाध्यता थियो । कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो नहुँदा कतिपय नेताहरु समय–समयमा बलिको बोकोजस्तो बन्ने गर्दछन्, त्यही पीडामा उनी पनि परे । निस्वार्थ जीवनभर राजनीतिमा होमिएका सुशीलले पनि चाहेजस्तो राम्रो काम गर्न सकेनन् । न त उनको कार्यकालमा गुटको राजनीति अन्त्य भयो, न त कांग्रेस पार्टी नै बलियो बन्न पुग्यो । खराब राजनीतिक संस्कार र स्वार्थको राजनीतिले उनको त्याग र सरल राजनीतिक जीवन छायामा पर्न पुग्यो । पार्टीको आन्तरिक विवादले गर्दा उनले समयमा नै पार्टी अधिवेशन पनि गर्न सकेनन् । 
जुन बेला अधिवेशनको तयारी चलिरहेको थियो, त्यही समय उनको भौतिक उपस्थिति रहेन । कुनै एउटा राजनीतिक दल र सरकार भनेको एक जना व्यक्तिले चाहेरमात्र सफल बन्न सक्दैन, जसमा हरेक नेता र कार्यकर्ताको सहयोग आवश्यक पर्दछ । सुशील कोइरालाले पनि सरकारमा रहँदा वा पार्टीभित्र काम गर्दा पार्टीकै कतिपय नेताको पूर्ण समर्थन वा सहयोग पाउन भने सकेका थिएनन् । जीवनको अन्तिम क्षणमा उनले चाहेर पनि विश्राम लिन सक्ने अवस्था थिएन । एकातिर कांग्रेस महाधिवेशनमा होमिएको थियो भने अर्काेतिर देश आफैँमा नाकाबन्दी र मधेस आन्दोलनको महासंकटमा फसेको थियो, जसको अन्त्यका लागि पनि उनले सकारात्मक भूमिका खेलिरहेका थिए । स्वर्गीय कोइरालाको निधनमा सरकारले राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ दिने तयारी गरेको छ । उनकै श्रद्धाञ्जलीकै लागि कांग्रेसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ, तर पनि उनको जीवनका असल गुणलाई अनुकरण गर्न सकेमा नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । उनले देखेको सपना भनेको नयाँ संविधानको सफल कार्यान्वयन र देशले विकास तथा समृद्धिको बाटो लिनु नै हो । अब कांग्रेस उनको सपनालाई पूरा गर्न लाग्नुपर्दछ । सुशील कोइरालालाई सबैले नेपाली कांग्रेसभित्र गुटको राजनीति गरेको आरोप लगाए पनि गुटको अन्त्य नै कोइरालाको चाहना थियो । कुनै बेला विभाजित भएको कांग्रेसलाई एक बनाउने महत्वपूर्ण भूमिका पनि उनले खेलेका थिए । झन्डै पाँच दशकसम्म राजनीतिमा बिताएका कोइरालाको सपना नै लोकतन्त्रलाई संस्थागत गरेर देशलाई विकसित बनाउनु थियो । निस्वार्थ राजनीति, निरन्तरको क्रियाशीलता र त्याग नै सबैलाई कोइरालाको जीवनले सिकाएको पाठ हो । हरेक मानिसभित्र केही न केही गुण र अवगुण त सबैमा हुन्छ, चाहे त्यो नेता होस् वा सर्वसाधारण । स्वर्गीय कोइरालाले जुनसुकै राजनीतिक दर्शन बोकेको भए पनि उनका जीवनका सकारात्मक गुणहरु सबैका लागि सधैँ प्रेरणा बनिरहने छन् । सधैँ दोषलाई मात्र खोजेर अर्काको आलोचना गर्नुमात्रभन्दा पनि देशको राजनीतिक नेतृत्वले उनका सही गुणहरुलाई सधैँ अपनाउन सक्नुपर्दछ, तबमात्र स्वर्गीय कोइरालाप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।

Post a Comment

 
Top