0
गोल्डेन न्यूज संवाददाता
महाधिवेशनको मिति नजिकिंदै गर्दा कांग्रेस पार्टी सभापति सुशिल कोइरालाका साथै उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा लगायतका केन्द्रीय सदस्य समेत देश दौडाहामा लागेका छन् । यसैक्रममा पार्टी सभापति सुशिल कोइराला र केन्द्रीय सदस्य महेश आचार्य पोखरामा आए भने अर्का केन्द्रीय सदस्य डा. प्रकाशशरण महत बाग्लुङ पुगेका थिए । महत शुक्रबार पोखरा हुँदै बाग्लुङ पुगेका थिए । केही दिनअघिमात्र उपसभापति रामचन्द्र पौडेल, नेता एवं पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का पोखरा आएर कार्यकर्तालाई प्रशिक्षण दिनुका साथै पार्टीभित्रका भएका नराम्रा कामको भण्डारफोर गरेका थिए । नेताहरु देश दौडाहामा लागिरहँदा र उनीहरुको मन्तव्य सुनिरहँदा नेपाली कांग्रेस पार्टी ३ टुक्रा भएको महसूस हुन्थ्यो । तर शुक्रबार पोखरा आएका पार्टी सभापति सुशिल कोइरालाले पार्टी एकढिक्का नै रहेका बताए । उनले पार्टीमा गुटवन्दीतर्फ नलागि  पार्टीमा सबैलाई एकढिक्का बनाउने तर्फ लाग्न आग्रह गरेका थिए ।   

कोइरालाले नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस, कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र एकआपसमा आरोप प्रत्यारोपको संस्कृति मौलाएको र यसले समग्र सङ्गठनलाई हित नगर्ने हुँदा नेतृत्वलाई एक बनाउन कार्यकर्ताले आफ्नो कुरा राख्नुपर्ने बताए । ‘१२औंं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा लिए पनि १३ औंँ महाधिवेशन आउँदासम्म पनि पार्टीमा भावनात्मक एकता कायम हुन सकेको छैन,’ उनले भने–‘संस्थागत मर्यादा कायम गर्दै आरोप प्रत्यारोपबाट नभई पार्टीभित्र एकता कायम गर्नु आवश्यक छ ।’ देशमा लोकतन्त्रका लागि नेपाली काँग्रेसले लामो समयदेखि अनवरत सङ्घर्ष गरेको बताउँदै उनले देशलाई हिंसात्मकताबाट शान्ति तर्फको बाटोमा बढाउँदै नेपाली जनताको लामो समयको सङ्घर्षको उपलब्धिका रूपमा काँग्रेसकै नेतृत्वमा देशले नयाँ लोकतान्त्रिक संविधान प्राप्त गरेको बताए ।देशलाई सङ्कट परेका बेला काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति कोइरालाले मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गर्न पार्टी दृढ रहेको उल्लेख गरे । जननायक विपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापकै जगमा काँग्रेसले हिंसात्मक विद्रोहलाई शान्तिमा रूपान्तरण गरेको बताउँदै उनले देशका जस्तासुकै समस्याको समाधानका लागि पार्टीले अग्रसरता लिने उल्लेख गरे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेपाली जनताको चेतनास्तर उचो बनाउन नेपाली काँग्रेसको महत्वपूर्ण भूमिका रहेको बताउँदै गाउँ, समाजमा आफ्ना हकहित र अधिकारका लागि सङ्गठित हुने विद्यमान अवस्थाको सिर्जना काँग्रेसकै देन भएको उल्लेख गरे । मधेसले शान्तिपूर्ण आन्दोलन का माध्यमबाट आफ्ना पहिचान स्थापित गर्न खोजेको उल्लेख गर्दै उनले मधेस आन्दोलनको राजनीतिक रूपमा समाधान गर्न काँग्रेसले अग्रसरता लिनुपर्ने बताए । वर्तमान सरकारले संविधानलाई मिचेर भागबण्डाका नाममा मन्त्रालय फुटाएको उल्लेख गर्दै उनले सरकारलाई जोगाउने नाममा राज्यको अर्बौंको दायित्व बढ्ने गरी गरिएको कार्य गलत भएको टिप्पणी गरे ।

नेपाली काँग्रेस, कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले विभिन्न राजनीतिक विचारका राजनीतिक दललाई एक ठाउँमा ल्याएर काँग्रेसले राष्ट्रलाई लोकतान्त्रिक संविधान दिएको बताए । संविधानको कार्यान्वयनका जिम्मालाई पनि दृढताका साथ काँग्रेसले पूरा गर्ने बताउँदै उनले देशलाई अब आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए । 

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन बागलुङले शुक्रबार बागलुङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा महतले प्रधानमन्त्रीले अहिले मुलुकको समस्या समाधान गर्न भन्दा पनि मन्त्रिमण्डल विस्तारमै बढी ध्यान केन्द्रीत गरेको आरोप लगाएका हुन्।  उनले मुलुक संकटपूर्ण अवस्थामा गुज्रिरहेका बेला सरकार समस्याको निकासका लागि कुनै पहल चाल्न नसकेको बताए । महतले तराई मधेसका अन्दोलनका कारण देशमा असहजता सृजना भएको र देशको उर्जा संकट न्यून गर्नका लागि सरकारले कुनै कदम चाल्न नसकको उल्लेख गरे । आन्दोलनरत मधेसी मोर्चाका कारण देशमा असहज परिस्थिति सिर्जना भएको वताउँदै उनले वार्ता र सहमतिमार्फत निकासको बाटो खोज्न आग्रह समेत गरे।   







Post a Comment

 
Top