0
गोल्डेन न्यूज संवाददाता
केस्रा विधाको चौथो वार्षिकोत्सवमा लामो समयदेखि साहित्य साधनामा लागिरहेका १० जना स्रष्टा सम्मानित भएका छन्। सम्मानित हुनेहरूमा प्रतिभा प्रेरणा परिषद् दार्जिलिङका सभापति मुक्तिनाथ शर्मा शोषित, युवा समालोचक असफल गौतम, साहित्यकार राइ रूमानी, इक्शाहाङ चेम्जोङ, सुन्दर सागर, विजय दंगाल, रोमन पीडा, कृष्ण लिम्बु, डम्बर तुम्बापो, विजन लिम्बु रहेका छन्। अन्तर्राष्ट्रिय सङ्गोष्ठी तथा सम्मान समारोहका प्रमुख अतिथि उपप्राध्यापक भक्तिप्रसाद पौडेल, सभापति मौलश्री लिम्बु र अतिथि सेलिङ केसीले नेपाली ढाका टोपी, खादा र प्रशंसापत्रद्वारा सम्मान अर्पण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि भक्तिप्रसाद पौडेलले सम्मानित सबैलाई बधाई ज्ञापन गर्दै केस्राको प्रवद्र्धनका लागि समय समयमा यस्ता गोष्ठी आयोजना गर्नुपर्ने बताए। प्रतिभा प्रेरणा परिषद् दार्जीलिङका सभापति मुक्तिनाथ शर्मा शाषितले नेपाली भूमीमा पहिलो पटक आउन पाउँदा हर्षानुभूति भएको बताए। अतिथि डा. विजयकुमार लिङ्देनले अध्ययनले सबै कुरालाई सफल बनाउने भएकाले समुदायमा साहित्यप्रतिको असल विचार निर्माणका लागि पढन् संस्कृति बसाल्न आवश्यक रहेको बताए।
केस्रा लेखन, चुनौती र सम्भावना विषयमा असफल गौतमले प्रस्तुत गरेको कार्यपत्र माथि छलफल गरिएको थियो। कार्यक्रममा रेगिस्थानी कवि तीर्थ संगम राई, पत्रकार सेलिङ के.सी., साहित्यकारहरू सुन्दर कुरूप, समीर पारखी, विजय दंगाल, टंक अधिकारी, कृष्ण उदासी, कैशाल शेखर, सुन्दर तबेबुङ, विराट किराँतीलगायतले कार्यपत्रमाथि टिप्पणी राखेका थिए। समय अभावले अन्य १५ स्रष्टाले केस्राको प्रवद्धनका लागि चाल्नुपर्ने कदमबारे पेश गरेका गोष्ठीपत्र माथि भने छलफल हुन सकेनन्। कार्यपत्र प्रस्तोता असफल गौतमले दुई वर्ष अगाडि लेखिएको पुस्तक समीक्षाको पौरखले यो अवसर जुराइदिएको बताउँदै कार्यपत्रमाथि राखिएका जिज्ञासाबारे प्रष्ट पारेका थिए। उनले केस्रा विधाको विधागत विकासका लागि वृहत अभियान चाल्नुपर्ने धारणा व्यक्त गरे। झापाको झिलझिलेमा आयोजित तीन दिने उक्त सङ्गोष्ठीमा १६ गते स्रष्टा स्वागत, १७ गते सम्मान तथा अन्तर्राष्ट्रिय सङ्गोष्ठी र १८ गते रचना वाचनसहित तीन दिने समारोह समापन गरिएको थियो। १८ गतेको कार्यक्रममा दिलीप घिमिरे, भावना सुब्बा, राज अविरल यात्रीलगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए। मौलश्री लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राई रूमानीले संस्थाका गतिविधिबारे चर्चा गरेको कार्यक्रममा चन्द्रा चामलिङले स्वागत मन्तव्य राखेकी थिइन। कार्यक्रमको सञ्चालन इक्शाहाङ चेमजोङले गरेका थिए।

Post a Comment

 
Top