0
गोल्डेन न्यूज संवाददाता
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई अबको ४० वर्षभित्र धनी देश बनाउन सकिने बताएका छन् । नयाँ शक्ति निर्माण अभियानले मंगलबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालमा अबको १०–१५ वर्ष्भित्र गरिबीको अन्त्य गरेर ४० वर्षभित्र धनी मुलुक बनाउन सकिने बताए । सो क्रममा उनले देशको अबको राजनितिक कार्यभार विकास र सम्बृद्धि भएको बताए ।
नयाँ संबिधानमा प्राप्त राजनितिक उपलब्धिको जगमा टेकेर नेपाललाई सम्बृद्धि र विकासमा अधि बढाउन नयाँ बिचार, निति र नेतृत्व आवश्यक रहेको भट्टराईको भनाई छ । नेपालको विकासमा राजनीतिक अस्थिरता, भ्रष्ट्राचार, संसदीय व्यवस्था र विभेद मुख्य चुनौतिको रुपमा रहेको भन्दै उनले राजनीतिक स्थिरता, एकता, समानता, जन सहभागिता र सन्तुलित बिदेश नीति बनाउन सकेमा नेपालको विकासका लागि पर्याप्त स्रोत साधन रहेको उनले तर्क गरे । उनले व्यक्तिगत स्वतन्त्रताको रक्षा र सामुहिक हितलाई प्राथमिकता दिने राजनीतिक कार्यदिशा सहितको नयाँ पार्टी गठन गर्ने जानकारी दिए । मधेशको समस्या समाधानका लागि सार्थक वार्ता गर्न सरकार र आन्दोलनरत पक्षलाई पूर्व प्रधानमन्त्री भट्टराईले आग्रह गरे । उनले परनिर्भरताको अन्त्यका लागि बिदेश र परराष्ट्र नीतिको परिवर्तन अपरिहार्य भएको बताए । 
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको सरकार र समानुपातीक व्यवस्थाबाट चुनिने व्यवस्थापिका संसद हुनुपर्ने धारणा राखे । लोकतन्त्रलाई जनताको घरदैलो सम्म पु¥याउनका लागि भोट माग्नलाई मात्रै जनता कहाँ जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । आर्थिक सम्बृद्धिका लागि जल, जमिन, जडिवुटी, जंगल र जनशक्तिको सही ढंगले परिचालन गर्ने र जनतालाई विकासमा सहभागी गराउन आवश्यक रहेको बताए । कार्यक्रममा नयाँ शक्ति निर्माणका अभियन्ता देवेन्द्र पौडेलले अबको दुई वर्षमा नयाँ शक्ति नेपालको पहिलो पार्टी बन्ने दावी गरे ।












Post a Comment

 
Top