0
हरि पन्त÷गोल्डेन न्यूज
जिल्ला विकास समिति कास्कीमा एकै दिनमा चन्दा, सहयोग माग्न कति जना आउलान् ? ५, १० या १५ जना । यदि यति थोरै संख्यामा माग्न आउलान् भन्ने सोच्दै हुनुहुन्छ भने तपाइँ भ्रममा हुनुहुन्छ । कास्की जिविसमा एकै दिनमा कम्तिमा ३० देखि १५० जनासम्म चन्दा र सहयोग माग्न आउने गरेको खुलेको छ । चन्दा र सहयोग माग्न आउनेमा गैरसरकारी संस्थाहरु सबै भन्दा बढी रहेको बताइन्छ । साथै पत्रकार, राजनीतिक दलका पार्टी र तिनका भातृ संगठनहरु, सर्वसाधारण पनि विभिन्न पीडा र समस्या लिएर सहयोग माग्न आउने गरेको बताइन्छ । यसैगरी विभिन्न टोल विकास संस्था, आमा तथा महिला समूह पनि विभिन्न कार्यक्रमका नाममा सहयोग माग्न आउने गरेको बताइन्छ । विभिन्न संघ–संस्थाले विभिन्न कार्यक्रम गर्दा खानाका लागि, कार्यक्रम संचालनका लागि, यातायात खर्चका साथै अन्य अनुपयुक्त काममा समेत सहयोग माग्ने गरेका छन् । जिविसमा केही सरकारी संस्थाहरुले पनि धेरै बाहनामा सहयोग माग्न आउने गरेको बताइन्छ । जसका कारण स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीका साथै जिविसका सम्बन्धित कर्मचारी पनि हैरानमा पर्ने गरेका छन् । सहयागका नाममा हुने यस्ता अवाञ्छित गतिविधिले कास्कीका स्थानीय विकास अधिकारी भएर हालैमात्र आएका रामचन्द्र तिवारी हैरानमा पर्ने गरेका छन् । उनी भन्छन्–‘यसअघिका स्थानीय विकास अधिकारीले माग्न आउने सबैलाई धेरै÷थोरै सहयोग दिने गर्नुभएको रहेछ । माग्न आउनेक्रम अहिले पनि जारी नै छ। यसबाट म हैरान भइसकें ।’ आफूले माग्न आउनेलाई सहयोग दिन बन्द गर्न खोजेको तर कठिनाइ भइरहेको उनले बताए । ‘अब माग्न आउनेलाई म सहयोग दिन्न । जे गर्छन् गरुन, म त्यसको प्रवाह गर्दिन । मातहतका कर्मचारीलाई सहयोगका नाममा आउने पत्र नै नबुझ्न भनिसकेको छु’, प्रश्न गर्दै तिवारीले भने–‘चन्दा र सहयोग माग्न आउनेसंग डिल गर्दैमा मेरो दिन बित्छ । अनि मैले कसरी अन्य काममा ध्यान दिउँ ?’ एकै दिनमा कम्तिमा ३० देखि १५० जनासम्म सहयोग माग्न आउने गरेको उनले खुलाशा गरे । 
मेहनत गरेर खानुपर्छ भन्ने संस्कार नेपालमा धेरै कम भएको र सहयोग मागेको भरमा ठूलो सपना देख्नेहरु धेरै भएको तिवारी बताउछन् । झोलामा संस्था बोक्ने अनि खल्तीमा हाल्ने पैसा माग्ने प्रवृत्तिलाई अन्त्य गर्न आफूले खोजेको तिवारीले स्पष्ट पारे । ‘संस्था चलाएर न्वाँरन गर्न, जन्म दिन मनाउन र श्राद्ध गर्न सकिंदैन भने किन संस्था चलाउनु ?’ उनले भने–‘मागेकै भरमा संस्था चलाउने हो भने त्यस्ता संस्थालाई बन्द गर्न या खारेज गर्न म चुनौती दिन्छु।’
‘भिख मागेरै संस्था चलाउने प्रवृत्ति जति चल्नु थियो चल्यो । अब त्यस्ता संस्था चल्न सक्दैनन्, जिविसबाट एक कौडी पनि पाउँदैनन्–तिवारीले भने । ‘नेपालमा संचालित गैरसरकारी संस्थाले सबै काममा राज्यको भर परेर राष्ट्र डुबाए’, उनले भने–‘त्यस्ता संस्थालाई जिविसमा प्रवेश गर्न अनुमति छैन । अन्य निकायले पनि सहयोगका नाममा रकम बाँड्ने कार्यलाई बन्द गर्नुपर्छ ।’ भिख माग्न आउनेलाई नदिंदा थर्काउने र धम्की समेत दिने गरेको तिवारीले दुःखेसो गरे । उनले भने–‘यदि रकम नदिने हो भने थर्काएरै भएपनि माग्ने प्रयत्न गर्छन् र त्यतिले पनि पुगेन भने धम्की समेत दिएर जाने गरेका छन् ।’ उनले सचेत नागरिक पत्रकारले समेत कहिले गोष्ठी, कहिले विज्ञापन त कहिले अधिवेशन आयोजना गर्दा खाना लगायत कामका लागि बजेट मागेर हैरान पारेको खुलासा गरे । 
रचनात्मक र विकासमूलक कामका लागि भने परिस्थिति हेरेर आफूले सक्दो सहयोग गर्ने उनले स्पष्ट पारे । रचनात्मक र विकासमूलक काम बाहेक न्वाँरन गर्न र तिथि मनाउन झोला लिएर कोही पनि नआउन उनले आग्रह गरे । यस्तो विकृति सबै क्षेत्रमा व्याप्त रहेकोले विकृति अन्त्य गरि सहयोगका नाममा दिइने बजेटलाई विकासमा लगाउने हो भने मुलुक छिट्टै संवृद्ध हुने उनको दावी छ । नेपालमा नराम्रो कुराको मात्र खोजी गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सबै अघि बढ्ने हो भने मुलुक संवृद्धितर्फ जाने उनले स्पष्ट पारे ।













Post a Comment

 
Top