0
नयाँ संविधान निर्माणपछिको मधेस आन्दोलन र त्यसैको आडमा भारतले लगाइरहेको अघोषित नाकाबन्दीका कारण अहिले पनि मुलुकमा इन्धनको चरम अभाव छ । मलुकभर खाना पकाउने ग्यासको हाहाकार छ । पोखरा पनि त्यो समस्याबाट अछुतो रहने कुरा नै भएन । देशका विभिन्न शहर बजार र सडकमा ग्यासका रित्ता सिलिन्डरको ताँती देख्दा आमउपभोक्ताको पीडा सहजै अनुमान गर्न सकिन्छ । पेट्रोल र डिजेलको अवस्था पनि उस्तै छ । सर्वसाधारणलाई पेट्रोल र डिजेल वितरण नगरिएको कति भयो, आयल निगमसितै त्यसको जानकारी नहोला । सवैतिरबाट चर्काे अभावमा हरेक सर्वसाधारण नागरिक छटपटाइरहेका छन । इन्धनको अभावले गृहणीदेखि विद्यार्थीसम्म सवै मर्कामा छन । इन्धनको अभावमा नै ब्यवसायी र उधोगीहरु आफ्ना उत्पादन ठप्प पार्नुपर्ने अवस्थामा पुगेका छन । जनतन उत्पादन गरेका वस्तुहरु पनि बजारसम्म पुराउन इन्धनको नै अभाव देखिएको छ । इन्धन अभावको यस्तो विषम परिस्थितिमा जलस्रोतको धनी देश हरेक नागरिकले बिजुलीलाई भरपर्दो विकल्पका रूपमा आशा गर्नु अस्वाभाविक होइन । केही समयअघि देशभर इन्डक्सन चुलो, माटाको हिटर, राइस कुकरलगायतका साधनको व्यापक माग बढ्यो र त्यसैअनुरूप किनबेच पनि भयो । स्वाभाविक छ, जनताले त्यस्ता विद्युतीय उपकरण खरिद गरिसकेपछि तिनको प्रयोग पनि गर्ने नै भए । जसले गर्दा प्रमुख शहरदेखि देशभर बिजुलीको मागमा वृद्धि भयो । उसै पनि नेपालमा हिउँदमा बिजुलीको उत्पादन झन्डै आधा घट्ने गरेकै हो । त्यसैले पनि नाकाबन्दीका कारण एकाएक बढेको माग र आपूर्तिमा सन्तुलन ल्याउन विद्युत् प्राधिकरणले विगतमा जस्तै लोडसेडिङको समयावधि वृद्धि गर्नु पनि अनौठो होइन । तर, समस्या यहीँबाट सुरु भयो । प्राधिकरणले घोषित रूपमा यतिखेर देशभर दैनिक १२ घन्टा बढि लोडसेडिङ गर्दै आएको छ । यो वा त्यो कारणले अधिकांश उपभोक्ताले चाहिँ दैनिक एक–दुई घन्टा मात्र बिजुली उपभोग गर्न पाइरहेका छन् । त्यो पनि सामान्यत बिजुली खपत नहुने समय अर्थात् मध्यरातपछि मात्र बिजुली आउने गरेको छ । मध्यरातमा विजुली आउनुको एउटा कारण मागअनुसार बिजुली आपूर्ति हुन नसक्दा लोड धान्न नसकेर ट्रान्सफर्मरका एमसिबी अफ हुनु वा ट्रान्सफर्मरका फ्युज जानु पनि हो । तर, त्योभन्दा पनि भयावह अवस्था त गुणस्तरहीन ट्रान्सफर्मर प्रयोग र अन्य प्राविधिक त्रुटिका कारण सिर्जना भइरहेको छ । तथ्यांक अनुसार पछिल्लो समयमा मात्र प्राधिकरणका चार सय १४ ट्रान्सफर्मर त जलिसकेका छन् । यसतर्फ प्राधिकरण नेतृत्वले समयमै चासो नदिँदा यसबाट आम उपभोक्ता गम्भीर मारमा परिरहेका छन् । गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्राधिकरणको पुरानो रोग हो । केही समय पहिले गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन प्रमुखलगायत निकै ठूलो समूह अख्तियारको छानबिनमा दोषी देखिएका थिए । यसबाट पनि अहिले उपभोक्तालाई सकसमा पार्ने गरी ट्रान्सफर्मर जल्नुमा गुणस्तरहीन ट्रान्सफर्मर किन्ने नेतृत्व जिम्मेवार देखिन्छन् । यसबारे समयमै छानबिन गरी आगामी दिनमा प्राविधिक त्रुटिका कारण सर्वसाधारणले सास्ती झेल्नुपर्ने अवस्था सिर्जना नहोस् भन्नेतर्फ समबन्धित निकाय सचेत हुनु पर्दछ । नागरिकलाई उज्यालोका हक दिलाउन सरकारले विशेष ध्यान दिन जरुरी छ ।

Post a Comment

 
Top