0
बेलायतबाट प्रकाशित हुने  फाइनान्सियल टाइम्सको सहप्रकाशन द बैंकरले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई सन् २०१६ का उत्कृष्ट अर्थमन्त्री चयन गरेको समाचार नेपालमा संचारमाध्यममा सार्वजनिक भएलगत्तै फेसबुकलगायत सामाजिक संजालमा भने तिखा प्रतिक्रिया सार्वजनिक भए।
के द बैंकरले भनेजस्तै डा. महत उत्कृष्ट अर्थमन्त्री हुन्? समाजिक सञ्जालमा भने यसप्रति निकै तिखा घोचपेच प्रतिक्रियाका रुपमा आए। देशमा आर्थिक स्थायित्व कायम राख्ने सवालमा डा. महत सफल अर्थमन्त्री हुन्। तर, देशको विद्यमान अवस्थाका आधारमा डा. महतले जस पाउँदैनन्। समाजिक सञ्जालमा पनि अधिकांश युवाले उत्कृष्ट अर्थमन्त्रीमा महतको चयनलाई देशको विद्यमान अवस्थाका कारणले नै हाँसोमा उडाएका हुन्।
विगत दुई दशक यता पटकपटक गरी सबैभन्दा बढी समय अर्थमन्त्री हुने मौका महतले पाए। अर्थमन्त्री हुनुअघि योजना आयोगको उपाध्यका रुपमा केही बर्ष नेपालको आर्थिक परिदृश्य बनाउने महत्वपूर्ण भूमिकामा थिए। तर, केही साताअघि आएको समाचारलाई आधार मान्दा अहिले नेपाल एशियाकै सबैभन्दा गरिब देश भएको छ। युद्वबाट अझ मुक्त नपाइसकेको अफगानिस्तानले पनि नेपाललाई उछिनेको छ। दुई दसक सबैभन्दा बढी समय अर्थमन्त्री हुने महत पनि यसको जिम्मेवार छन्।
हिउँदमा झण्डै १५ घण्टा बिजुली आउँदैन। विद्युत नहुँदा सानो फोटोकपी मेसिन राखेर व्यवसाय गर्नेदेखि ठूला उद्योगसम्म प्रभावित छन्। विद्युत नहुँदा सर्वसाधारणको इन्टनेट नचल्ने मात्र होइन बैंकका कयौं एटीएम मेसिनेसमेत बन्द हुन्छ। अँध्यारोले निराशा बढाइरहेको छ। अर्कोतर्फ भारतले लगाएको अघोषित नाकाबन्दीले देशको अर्थतन्त्रको कमजोरी छरपष्ट भएको छ। देशभर नै कालोबजारको दबदबा छ। बजारमा उपभोग्य बस्तु सबै पाइन्छ। तर, बढी पैसा तिर्न सक्नु पर्छ।
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा गएर हेरे देशको यथार्थ आर्थिक तस्विर देखिन्छ। विदेशमा रोजगारका लागि जाने युवायुवतीको भिडमा देशको अर्थतन्त्र खोज्नुपर्ने हुन्छ। कयौं महिला साना नानी छाडेर आँखाभरि आँसु पार्दै रोजगारका लागि विदेशीएका भेटिन्छन्।
पर्यटन व्यवसायको उत्थानका लागि कयौं भाषणबाजी भए तर, एक मात्र अन्तर्राष्टिय विमानस्थल को दुरावस्था भोग्नेले सरकारमा बस्नेलाई जोकोहीले पनि एक पटक धिकार्छ। एशियाको सबैभन्दा खराब अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको पर्छ। उक्त विमानस्थलमा विदेश जाने आउनेको सधैँ भीडभाड हुन्छ। तर, यसको फाइदा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई भएको छैन। विदेशी एयरलाइन्सहरुले लिइरहेका छन्। निगम जहाज उडाएर होइन ग्राउण्ड हेण्डलिङ गर्न पाएरमात्र कर्मचारीलाई तलब खुवाउन सकिरहेको छ।
महाभूकम्प गएपछि सरकारको दैवी प्रकोपका बेला चाहिने समाग्रीको पूर्व तयारी केही पनि रहेनछ भन्ने तथ्य उजागर भएको थियो। पछि भारतले लगाएको अघोषित नाकाबन्दीलाई देशको अर्थतन्त्रले १० दिन पनि धान्न सकेन। पर्याप्त भण्डारण क्षमता नहुँदा नाकाबन्दी १० दिन पनि नहुँदै बजारमा तेल, ग्यासको चरम अभाव सुरु भइसकेको थियो। कुनै पनि देश व्यावहारिकरुपमा आत्मनिर्भर हुन सक्दैन। आत्मनिर्भर बन्नुपर्छ भन्ने आदर्श कुरा मात्र हो। तर, हाम्रो अर्थतन्त्र बढीमात्रामा भारत केन्द्रित हुँदा संकट गहिरिएको हो।
जब भारतले सीमामा नेपाल आउन लागेका ट्रकलाई अवरोध सिर्जना ग¥यो त्यो बेला उत्तरी छिमेकी चीनसँग व्यापार गर्ने एउटा मात्र सडक कोदारी राजमार्ग पनि बन्द थियो। भारतले आफ्नो राजनीतिक स्वार्थ पुरा नहुँदा नेपाललाई २०४६ मा नाकाबन्दी लगाएको घटना ताजै छ। यसअघि पनि यस्तै नाकाबन्दी भएको थियो।
यो इतिहासलाई हेरेर नेपालले चीनसँग व्यापार विस्तारका लागि पूर्वाधार बढाउँदै लानुपर्ने थियो। तर, त्यो भएन। जब भारत आफूले भने अनुकूल संविधान आएन भन्ने कारणले नाकामा अवरोध सिर्जना ग¥यो तब मात्र हामीले चीनतिर हे¥यौं।
सडकलगायत ढुवानीका लागि आवश्यक पूर्वाधार बिना चीनबाट पनि केही हुने अवस्था थिएन। अहिले सबै नेपालीले यसकै असर भोग्नु परिरहेको छ। दुई दशकमा एकदुई वर्षलाई छाडेर नेपालले कहिले पनि आर्थिक बृद्धि ६ प्रतिशत पुगेन। दुई दसकको समग्र कुल ग्रार्हस्थ उत्पादन बृद्धिदर हेर्ने हो भने ५ प्रतिशत भन्दा तलै छ। जब कि विश्व बैंकको अध्ययन अनुसार साढे चार प्रतिशतको आर्थिक बृद्धिले नेपालको गरिबी घटाउन कुनै मद्दत गर्दैन।
२०५० यताका दुई दसक माओवादी युद्व, राजनीतिक अस्थिरताले देशको अर्थतन्त्रलाई प्रहार गरिरह्यो। तर, पनि समष्टिगत आर्थिक स्थायित्व भने कायम भइरह्यो। प्रत्येक बर्ष अर्थमन्त्रीले ल्याउने बजेटका अंक बढिरहे। सरकारी कर्मचारीले तलब नपाउने अवस्था पनि आएन। यस्तो हुनुमा सरकारका योजना तथा कार्यक्रम कार्यान्वयन होइन। यसको एउटै कारण विदेशबाट प्राप्त आय रेमिट्यान्स हो। देशमा रोजगारका विकल्प नभएपछि युवा विदेश जाने लहर नै चल्यो जुन अहिलेसम्म जारी छ।
खाडी मुलुक, मलेसिया र अन्य मुलुकमा गई श्रम गर्ने युवाले पठाएको पैसाले देशका प्रमुख आर्थिक सूचक सकारात्मक नै भइरहे। निकासी खासै बढेन आयात उच्च दरले बढ्यो तर, पनि रेमिट्यान्सले विदेशी विनियम पुु¥याउन समस्या परेन। झण्डै ३० लाख युवा अहिले विदेशमा कार्यरत छन् । यी युवालाई रोजगार दिने लगायत अनय दवाव पनि सरकारले व्यहोर्न परेन। 
महतले पटकपटक २०४६ को परिवर्तनपछि सडक, संचार लगायतका सुविधा विस्तार भएको बताउँदै आएका छन्। यो सही हो। यी क्षेत्रमा थुप्रै देखिने परिवर्तन भएका छन्। यसको एउटा कारण रेमिट्यान्स पनि हो। अहिले पनि झण्डै ६० प्रतिशत घर परिवारले कुनै न कुनै रुपमा रेमिट्यान्स पाउँछन्। यी भएर पनि सडक, संचारलगायतका सेवा पनि विस्तार भएको हो। सर्वसाधारण यी पूर्वाधार उपयोग गर्न सक्षम भएका हुन्। यसले गाउँदेखि सहरसम्म अर्थतन्त्र क्रियाशील बनाएको छ।
द बैंकरले भुकम्पपछि विदेशी दातृ समुदायमाझ पुगेर पर्याप्त वित्तीय सहयोग जुटाउन महतले खेलेको भूमिकालाई महत्वसाथ उल्लेख गरेको छ। महाभुकम्पपछि सरकारले आव्हान गरेअनुसार दातृ निकायले मन खोलेर सहयोग दिने आश्वासन दिएका थिए। आश्वासन दिँदैमा सहयोग पीडितसम्म पुग्ने होइन। यसका लागि सरकारले सक्रिय पहल गर्नुपर्छ। तर, यसमा सरकारको सक्रियता सुस्त रह्यो। राजनीतिक खिजातानी भए।
नेपाल विकास समूहका विगतमा हुने बैठकमा पनि दातृ निकायले यसरी नेपाललाई मागेजति सहयोगको आश्वासन नदिएका होइनन्। तर, ती कमै मात्र उपलव्धिमुलक देखिए। गाउँमा भुकम्पपीडितलाई भेट्दा सरकारबाट केही पनि सहयोग नपाएको बताउँछन्। अहिलेको चिसोले कयौं भूकम्पपीडित कठ्यांग्रिएका छन्। सहयोगका आश्वासन पीडितका लागि आकासको फल मात्र भएको छ।
महत सरकार वित्तीय अनुशासनमा बस्नुपर्छ भन्ने मान्यतामा कडा थिए। यसमा उनी सम्झौता गर्दैनथे। उनी अर्थमन्त्री हुँदा अर्थतन्त्रले गति लिए पनि नलिए पनि आर्थिक स्थायित्व भने कायम हुन्छ भन्नेमा ढुक्क हुन सकिन्थ्यो। अर्थमन्त्री हुँदा महतले देशको वित्तीय अनुशासन बिग्रने खाले कुनै पनि निर्णय पनि लिएनन्। यो उनको सकरात्मक पक्ष हो। दातृ निकाय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंकलगायत वित्तीय क्षेत्रको प्राथमिकता सरकार वित्तीय अनुशासनमा हुन्छ। द बैकंरले पनि यस आधारमा बढी प्राथमिकता दिएको देखिन्छ। आफ्नो राजनीतिक थलो नुवाकोटमा भने महतलाई प्रशंसा गर्ने थुप्रै भेटिन्छन्। उनको अर्थमन्त्रीकालमा त्यहाँ पुगेका सिंचाई योजना र सडकले नुवाकोटका कयौं फाँटमा व्यावसायिक कृषि फस्टाएको छ। महत यहाँबाट जितेमा अर्थमन्त्री हुन्छन् र धेरथोर विकास योजना आफ्नो गाउँमा आउँछ भन्नेमा उनका मतदातालाई भने विश्वास छ। लोडसेडिङ नभएको भए, दैनिक झण्डै एक हजार ५ सय युवा रोजगारका लागि विदेश जानुपर्ने बाध्यता नआएको भए वा देशले विगतमा उच्च आर्थिक बृद्धिदर हासिल गर्न सकेका भए पक्कै पनि महतलाई द बैंकरले दिएको उत्कृष्ट अर्थमन्त्रीको उपाधिप्रति पक्कै पनि यस्ता तिखा र घोचपेचपूर्ण टीकाटिप्पणी हुने थिएनन्।
साभार ः सेतोपाटी








Post a Comment

 
Top