0
एकीकृत नेकपा (माओवादी) बाट केही समयअघि अलग्गिएका डा बाबुराम भट्टराईको संयोजकत्वमा आइतबार ‘नयाँ शक्ति नेपाल’ गठनको घोषणा गरिएको छ । सो पार्टीले ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्समेत सार्वजनिक गरेको छ । परिषद्मा पूर्वसचिव रामेश्वर खनाल, हरेराम चौधरी, नत्थुप्रसाद चौधरी, डा प्रवीण मिश्र, एमाओवादीका पूर्व नेताहरू रामचन्द्र झा, देवेन्द्र पौडेल, कलाकार सरोज खनाल, करिश्मा मानन्धर, अशोक शर्मा, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षकद्वय गणेशराज राई र नारायण पाण्डे, विश्लेषक मुमाराम खनाललगायत छन् ।
कार्यक्रममा नेपा पार्टीका अध्यक्ष पूर्वसभासद् डा केशवमान शाक्य, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य चैतन्य सुब्बा, पासाङ शेर्पा, लमर्दन कामीलगायतले आफ्नो पार्टी नयाँ शक्तिमा समाहित भएको घोषणा गरे । परिषद् घोषणापछि पत्रकारको प्रश्नको जवाफ दिँदै पार्टीका संयोजक डा.भट्टराईले अहिले तत्काललाई ३५ सदस्यीय केन्द्रीय परिषद् घोषणा गरिएको र पूर्णता पाउँदासम्म त्यो सङ्ख्या २६५ पुग्ने जानकारी दिए ।
परिषद्ले केही महिनामै राष्ट्रिय भेलाको आयोजना गरी त्यसले महाधिवेशनको मिति तय गरी सोही महाधिवेशनबाट दल निर्माण प्रक्रिया टुङ्गिने उनले बताए । नेपाली राजनीतिलाई जनउत्तरदायी, रचनात्मक, सुशासित र सद्भावपूर्ण बनाउन नयाँ शक्ति निर्माण गरिएको उनको भनाइ थियो । उनले भने–“अबको आन्दोलन सडकमुखी नभई निर्माणमुखी आन्दोलन हुनेछ, हाम्रो लक्ष्य विकास र समृद्धि हो ।” उनले शनिबार संसद्बाट पारित भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको बताउँदै आन्दोलनरत मधेसी मोर्चाको मागको सुनुवाई गर्नुपर्नेमा जोड दिए । सो पार्टीले ‘लोकतन्त्र, राष्ट्रिय एकता, प्रगतिशील राष्ट्रवाद, सुशासन, समावेशीता, समन्याय, समृद्धि र समाजवाद’ आफ्नो राजनीतिक प्राथमितका हुने तय गरेको छ । 


Post a Comment

 
Top