0
सन्दर्भ ः नेपाली वाङ्मयको क्षेत्रमा आख्यान, गैह्र आख्यान र जापानी छन्दका कविताहरूले आफ्नो राज जमाइरहेका छन्। यस्तो वेलामा नेपाली माटोको सुगन्ध बोकेर एक विधाको प्रतिपादन भएको छ, त्यो हो केस्रा। यो सुखद् समाचार हो। विधिवत घोषणाका साथ केस्रा विधा लेखन थालिएको आज चार वर्ष बितिसकेका छन्। केस्रा विधाको समुन्नत भविष्य निर्माणका लागि केस्राको विधागत विकास र मार्ग निर्देशनार्थ विभिन्न गोष्ठी तथा सभा समारोह हुन थालेका छन्। 
विषयप्रवेशः सतासीधाम–३ झापाका शेरबहादुर लावती र मिलन कुमारी माबोको कोखबाट जन्मेका सन्तानमध्येका असल सन्तान हुन् मौलश्री लिम्बु। १० जोड दुईसम्मको अध्ययन गरेका लिम्बु सन् २००६ देखि घरदेश छोडेर परदेश भाँसिए। मलेसियामा जिन्दगीको धुँवा उडाएर दुई चार पैसा जोडे। लाग्छ, उनले केही आर्थिक सम्वृद्धि बाहेक जीवनमा अरू केही गर्न सकेनन्। वर्षौ मलेशिया भाँसिएका मौलश्री गुमनाम नै रहे। लामो समयको अन्तरालमा उनले केही साहित्यिक विषयमा सोच्न थाले। चाणक्यले कतै भनेका छन्, 
मनसा चिन्तितं कार्य वचसा न प्रकाशयेत्। 
मन्त्रेण रक्षयेद् गूढं कार्ये चापि नियोजयेत्।।
मनले चिताएको काम कुरा बोलीद्वाराप्रकट गर्नुहुँदैन। मन्त्रणाद्वारा मनन् गरी चिताएको कुरालाई गोप्य नै राख्नुपर्दछ। अनि गोप्य तबरले चिताएको कामलाई कार्यका रूपमा परिणत गरेमा आफ्नो अभीष्ट पूरा गर्न सकिन्छ। लिम्बुले दार्शनिक चाणक्यले भने झैँ नै गरे, पसिना बिक्री पछिको समय कहिल्यै खेर जान दिएनन्। त्यसैको उपज नेपाली वाङ्मयको क्षेत्रमा केस्रा विधाको प्रतिपादन भएर आयो। केस्रा शब्द र अर्थका बारेमा आम वाङ्मयप्रेमीलाई जान पहिचान छ। यसलाई परिभाषित गराइरहनु आवश्यक छैन। अबको आवश्यकता भनेको, पहिलो केस्रा लेखनलाई कसरी प्रोत्साहन गर्ने ? दोस्रो केस्रा लेखनमा रहेका चुनौतीहरू के हुन् ? त्यसको पहिचान गर्ने र तेस्रो भावी सम्भावना के छ ? भन्ने बारेमा गहन अध्ययन, विश्लेषण र छलफल गर्नु वर्तमान समयको माग हो। यसैले यस आलेखमा केस्रा विधाको समुन्नत भविष्यका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा मात्रै केन्द्रित रहेको छ।
प्रवर्तक मौलश्री लिम्बुले केस्रा विधाको प्रतिपादन गर्दाको समयमै ४२÷४५ जना सर्जकहरू केस्रा लेखनमा लागे। केस्रा विधाको दस्तावेज केस्रा जो जीवन्त इतिहास हो आम पाठकका हातमै छ। आम नेपाली नेपालमा भित्रिएका विविध साहित्यिक विधालाई आफ्नो भूमीमा भिजाउन र आम सर्जकका मन मस्तिष्कमा रिजाउन वषौं समय खर्चेको अवस्थामा केस्रा लेखनमा निरास भइहाल्नुपर्ने अवस्था वर्तमान होइन। इतिहास साक्षी छ, निबन्ध शिरोमणि शंकर लामिछानेले जापानी संरचनामा नेपालमा हाइकु भित्र्याएको लामो समयसम्म हाइकु लेख्ने हाइजिनहरू जन्मनै सकेका थिएनन्। केस्रा लेखनमा त्यो निरासावादी पन छदैछैन यो यसको सवल पक्ष हो। किनकी हिजो विभिन्न सामाजिक सञ्जाल र मुहार पुस्तिकामा केस्रा लेख्न हतारिएकाहरू केस्राको दस्तावेजमा समावेश हुनुले केस्रा लेखन सबैको रूचिको विषय भएको प्रमाणित गरिदिएको छ। लेखनको चौथो वर्ष पूरा गर्दा नगर्दै दुई वटा एकल कृति प्रकाशन हुनु, यसका बारेमा विविध प्रतियोगिता सञ्चालन, विभिन्न पेजहरूको निर्माण गरी विश्वव्यापीकरण गरिनु यो सामान्य उपलब्धी र लेखनप्रतिको उदासिनता हुन सक्दैन।
केस्रा लेखनका चुनौतीः जीवन चुनौती नै चुनौतीले भरिएको छ, जीवन जस्तै साहित्यका जुन सुकै विधाका पनि चुनौती हुन्छन्। यसर्थ केस्रा लेखनमा लाग्दाका सुरुवाती चरणमा आफ्नै प्रकारका चुनौती छन्। जसलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ,
केस्रा विधा प्रतिपादन भएको चार वर्ष बितिसक्दा पनि केस्रा भनेको के हो भनेर जानकारी नै नभएका अन्य विधाका साहित्य साधकहरू अझै छन्। यसर्थ नेपाल अधिराज्यभर केस्रा विधाका बारेमा व्यापक प्रचारप्रसार हुन नसक्नु मुख्य चुनौतिका रूपमा रहेको देखिन्छ।
पछिल्लो समय केस्राले जुन फड्को मार्नुपर्ने हो, त्यो हुन नसक्नु केस्राप्रेमी सर्जकहरूले समयको व्यवस्थापन गर्न नसक्नु हो। उनीहरू निरन्तर लेखनमा लाग्न पाएका छैनन्। सुरूवाती चरणमा केस्रा लेखनमा लागेका अधिकांश केस्राप्रेमी रोजगारीको सिलसिलामा परदेशमा रहनुले केस्रा लेखनमा फड्को मार्न सकिरहेको छैन। 
विगतमा केस्राप्रति आशक्ति राख्नेहरू रहरले केही लेखे तापनि यसमा रहेका संरचनागत जटिलताले गर्दा निरन्तरता दिन नसक्नु।
वाङ्मयका क्षेत्रमा चाकडीको व्यापार फस्टाएको छ। उनीहरू बोक्रे आदर्श देखाउँछन् र साहित्यलाई घोडा बनाउछन्। केस्राप्रति बोक्रे आदर्श देखाउनेका कारण पनि यो विधा फस्टाउन सकेको छैन। 
नयाँ सजर्कहरू उल्लेख्य संख्यामा थपिइरहेका छन् नयाँ केस्राप्रेमी थपिनु र सुरूवाती चरणका लेखक निस्क्रिय रहनु बराबर जस्तै भएका कारणले श्रीवृद्धिमा लाग्नेहरूको संख्या कम देखिनु।
चुनौतीसँग सामना गर्न सक्नेहरू महाकवि बन्छन्, लक्ष्मीप्रसाद देवकोटाको जीवनमा लक्ष्मीले नपत्याएर दिएको चुनौती होस् या भूपी शेरचनले सिर्जना कर्ममा लागेर परिवारलाई दिएको चुनौती होस्। यी दुई विपरित धुव्रका चुनौती हुन्, भूपी आर्थिक र साहित्यिक दुवै हिसाबले सम्पन्न र महाकवि देवकोटा आर्थिक हिसाबले विपन्न। जे जस्तो भए तापनि मनमा अठोट भयो भने, मेहेनती र इमान्दारको जिन्दगीमा असफलता भन्ने कुरा शब्दकोष मै हुँदैन। यसर्थ केस्रा लेखनमा देखिएका यस्ता चुनौतीहरु एक पछि अर्को गर्दै हटाउँदै जान सकिन्छ। 
केस्रा लेखनका सम्भावनाः नेपालको सन्दर्भमा केस्रा लेखनको सम्भावना ज्यादै मौलाएर फस्टाउने सम्भावना देखिएको छ। किनकी वाङ्मयको क्षेत्रमा साहित्यका लघु विधाले निकै चर्चा पाएका छन्। चाहे गजल हुन, चाहे मुक्तक, हाइकु, ताङ्का, चोका, सेदोका। यी विधाका कृति वार्षिक सर्वेक्षण गरेर नै हेर्ने हो भने आख्यानको तुलनामा चार गुणा बढी प्रकाशन हुँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय मातहतबाट विद्यावारिधी गर्ने शोधकर्ताहरू पनि लामा विधा भन्दा छोटा विधामा लागेका छन्। हिजो गजल विधामा विद्यावारिधि गर्ने एउटै मात्र सर्जक धनश्याम न्यौपाने परिश्रमी थिए। पछि कृष्णहरी बराल हुँदै कैयौं सर्जकहरू गजल विधामा विद्यावारिधि गर्न लागिरहेका छन्। मुक्तक, हाइकु, गीतलगायतका विधामा बहुसंख्यक साधकले विद्यावारिधी गरिसकेका र गर्न लागिररहेका छन्। यो सबै तथ्याङ्कले के देखाउँछ भने आम पाठकहरू पेटभरी दालभात खानु भन्दा अचार चटनी चाटेर पहिला जिब्रो पड्काउन चाहन्छन्, किनकी त्यसको स्वाद मनोरम् हुन्छ। यसैले केस्रा लेखनमा लाग्न चाहनेलाई प्रोत्साहन गर्ने, नेपाली साहित्यलाई विश्वव्यापीकरणका लागि यसमा रहेका केही संरचनात्मक पक्षलाई सिम्बोलिक अनुवादमा मान्यता दिने, विश्वभरी छरिएर रहेका र केस्रा लेखनमा लागेका सर्जकका सिर्जनालाई एकीकृत गरी संयुक्त कृति प्रकाशनका लागि पहल गर्ने, सीमित स्थानका सञ्चार माध्यममा सीमित केस्रा विशेष लेखन, प्रकाशन र प्रशारण कार्यक्रमको दायरालाई फराकिलो बनाउने जस्ता गतिविधि गर्न सकियो भने नेपाली वाङ्मयिक आकाशमा केस्रा लेखनको सम्भावना उज्ज्वल रहेको छ।
निष्कर्षः केस्रा लेखनको भविष्य ज्यादै समुज्ज्वल रहेको छ। किनकी वर्तमान समय विज्ञानका विविध चमत्कारले फड्को मार्दै अगाडि बढे जस्तै आम मानवलाई समयले घिसारिरहेको छ। यस्तो अवस्थामा घर भित्र होस् या बाहिर सबैलाई छोटो मीठोको संस्कारले समातेको छ। यात्रामा निस्केका यात्रीहरू जति नै सौखिन भए तापनि उनीहरू झट्पट–झट्पट, पानीपुडी–चट्पट्मा जिब्रो पड्काउन लालाहित नै हुन्छन् त्यसैले कालान्तरमा केस्राको रसमा आम वाङ्मयप्रेमी साधकहरू एक दिन लठ्ठिने छन्। त्यो लठ्याइका निम्ती यसको व्यापक प्रचारप्रसार र केस्रा लेखनमा लागेकालाई समय(समयमा झम्झक्याउन सकियो भने अवश्य नेपाली माटोमा फुलेको, नेपाली माटोको वास आएको केस्राले एकदिन सफलताको शिखर चुम्ने छ यसमा आशंका गर्नैै पर्दैन। 
प्रस्तुत लेख केस्रा लेखन मञ्चद्वारा झापाको झिलझिलेमा आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्रको सम्पादित रुप हो ।
सन्दर्भ सूचीः 
असफल गौतम (२०७०), मौलश्री र नयाँ विधा केस्रा, पोखरा ः आदर्श समाज दैनिक,
................. (२०७०), दुई केस्रा, स्पन्दन, स्याङ्जा ः चित्रेभञ्ज्याङ साहित्य सदन,
................. (२०७२) केस्र लेखन, सम्भावना र चुनौती, झापा ः सतासी साप्ताहिक 
अर्याल, मदनप्रसाद (२०६६) चाणक्य जीवनी र नीतिशास्त्र, काठमाडौं ः एभरेष्ट गीता निकेतन,
आङ्देम्बे, राज (२०७१), सहयात्री, पाँचथर ः केस्रा लेखन मञ्च,
लिम्बु मौलश्री (२०७०), केस्रा, नेपाल ः केस्रा लेखन मञ्च,
श्रेष्ठ, श्रीओम (२०७०), मधुपर्क, काठमाडौं ः गोरखापत्र संस्थान।













Post a Comment

 
Top