0
मुक्तक नेपाली साहित्यप्रेमी र सर्वसाधारणबीच निकै लोकप्रिय छ। लोकप्रिय भएपनि नेपाली मुक्तकले विधागत स्पष्टता पाइसकेको छैन। कतिपय यसलाई कविताकै एक रुप मान्छन् भने कतिपय यसलाई स्वतन्त्र विधा मान्छन्। दुबै दावीका बीच नेपाली मुक्तकको विकास भने भइरहेको छ। विधागत बहसजस्तै यसको स्वरुपमा पनि उत्तिकै मतभिन्नताहरू छन्। केही संस्कृतका त्रिपदी, चतुष्पदीहरूबाट मुक्तकको विकास भएको दावी गर्छन् भने केही फारसी साहित्यमा लोकप्रिय रुवाईबाट यसको विकास भएको जिकिर गर्छन्।  साहित्यकार हरिभक्त कटुवाल लेख्छन्, ‘मुक्तक अरबी वा फारसी कव्यधाराको रुवाइयात छन्दमा लेखिन्छ। मुक्तक चार पङ्क्ति वा चतुष्पदीय हुनुपर्छ। त्यसमा पनि पहिलो, दोस्रो र चौथो पङ्कित अनुप्रासयुक्त र तेस्रो भने स्वतन्त्र रुपमा छाड्नु राम्रो हो।’
कतिपय नेपाली समालोचक र साहित्यकारहरू छोटो कवितालाई नै मुक्तक मान्छन्। नेपाली मुक्तकमा पहिलो पटक विद्यावारिधि गरेका डा. मुरारी पराजुलीका विचारमा ‘छोटो, चोटिलो तर मुक्त कवितात्मक लेखन नै मुक्तक हो।’ साहित्यकार हरिभक्त कटुवाल भन्छन्, ‘मुक्तकमा व्यङ्ग्य, विद्रोहका स्वरलाई वर्तमानले सुरुचिपूर्वक हेर्ने गरेको छ। अहिलेका मुक्तक प्रखर, धारिलो, पारिलो र चोटिलो रुपमा मुखरित भइरहेका छन्।’ मुक्तक नेपाली साहित्यको अन्यन्त लोकप्रिय, प्रभावशाली र चोटिलो विधा हो। अति सङ्क्षिप्त संरचनामा गहन भाव सम्प्रेषण गर्नु मुक्तकको प्रमुख विशेषता हो। नेपाली मुक्तकमा अहिले युगबोध, वर्तमान समयको स्पष्ट तस्वीर र समग्रमा देश र जनजीवनको प्रतिबिम्ब पाइन्छ। मुक्तकको क्षेत्रमा पोखराको विशिष्ट स्थान छ। मुक्तककार सञ्जीव पौडेलका शब्दमा भन्दा ‘मुक्तकमा हुनु पर्ने भाव सघनता तथा स्पर्श सामथ्र्यलाई अत्यन्त कुशल ढंगले पोखरेली मुक्तकले अंगालेकाले मुक्तकमा प्रशस्त व्यङ्ग्य घुसेको पाइन्छ।’
मुक्तकको पहिलो पङ्क्तिमा विषयवस्तुको केन्द्रीय उठान, दोस्रोमा विषयको व्याख्या, तेस्रोमा विचार र भावको प्रस्तुति र चौथोमा समग्र समस्याको समाधान मुक्तकको सिद्धान्त हो। यही संरचनालाई अनुशरण गर्दै वर्तमानका अधिकांश मुक्तककारले मुक्तक रचना गरिरहेका छन्। पछिल्लो क्रममा प्रकाशित, प्रशारित मुक्तक सङ्ग्रहहरू, सङ्कलनहरू र लेखनलाई हेर्दा पनि अधिकांश मुक्तक रुवाइको संरचनामा लेखिएको देखिन्छ। अरबी, फारसी काव्यधाराको अत्यधिक लोकप्रिय छन्द हो रुवाई। अझै पनि धेरैले मुक्तक नाम दिएर भावना, कविता, तुक्तक, छोक, टुक्रा आदि लेखेको पाइन्छ। उमर खैय्यामले लोकप्रिय बनाएको रुवाईलाई २०१० सालमा नेपालमा भीमदर्शन रोकाले सुरु गरेका हुन्।
साहित्यमा अन्य विधा लेखिराख्नेहरुका लागि मुक्तक चुनौतिपूर्ण विधा हो किनकि मुक्तक सानो सामथ्र्यले लेख्न सकिँदैन र सामन्य नियमका भरमा पनि मुक्तक मानिँदैन। कृष्ण देवकोटा पोखरामा बसेर मुक्तकमा क्रियाशील छन्। नेपाली मुक्तकको नेतृत्वदायी संस्था मुक्तक मञ्च पोखराको नेतृत्वसमेत गरिसकेका देवकोटाको ‘अग्निशिखा’ पहिलो कृति हो। यो मुक्तक सञ्चयनमा राजनीतिप्रति व्यङ्ग्य पाइन्छ। उनले अहिलेका औसत युवाले देखेको देशका विसङ्गति, समाज र मानवतालाई आफ्ना मुक्तकमा प्रस्तुत गरेका छन्। नेपाली उखान नै छ, ‘जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि।’ देवकोटाले मुक्तकमा समकालीन जीवनमा धेरैजसो पाटालाई विषयवस्तुमा समेटेका छन्। उनले मुक्तकमा गाउँ उजाड भएकोमा चिन्ता व्यक्त गरेका छन्। उनी राष्ट्रियताप्रति चिन्तित छन्, स्वाभिमानप्रति सचेत छन्, राजधानी र सक्ताधारीप्रति आक्रोशित पनि छन्। सक्ताको खिचातानीबाट दिक्क हुँदै उनी उनी सिंहदरबार नै चिठ्ठा हाल्ने र हिटलरको शासन बरु राम्रो भएको भनी व्यङ्ग्य पनि गर्दछन्। उनले आफ्ना मुक्तककमा पोखराको सुन्दरताको पनि व्याख्या गरेका छन्। उपभोक्तावाद र अहिलेका विकृतिलाई पनि उनले सटिकरुपमा प्रहार गरेका छन्।
उनको सङ्ग्रहमा सरल भाषा र विषयवस्तुको प्रयोगमा सचेतता पाइन्छ। युवा देवकोटाले कृतिमा प्रेम र घातलाई पनि समेटेका छन्। उनले साहित्यिक संस्था, कार्यक्रमकै विसङ्गति र पुरस्कारको आदानप्रदान गर्ने परिपाटीलाई पनि मुक्तकबाटै उछितो काढेका छन्। देवकोटाको अग्निशिखाका केही उत्कृष्ट मुक्तकहरु यसमा प्रमाण हुन्    
अचेल पाथी घटेर मानो भएको छ
सोझाहरूको गर्धन अचानो भएको छ
यस्तो खवर कहाँ गई, कसलाई सुनाऊ
सरकार बहिरो अनि कानो भएको छ। 
(देवकोटा ः २०७२ ः ३५)
तिम्रो भित्री प्रतिभालाई चिन्छ सरकारले
तिम्रा एक—एक सिर्जनालाई किन्छ सरकारले
लेख, लेख बाचिन्जेल देशकै लागि लेख
मरेपछि पुरस्कार दिन्छ सरकारले 
    (देवकोटा ः २०७२ ः २५)
जसले फूल गोड्छ ऊ नै माली हुनु पर्छ
जसले खेत जोत्छ ऊसकै बाली हुनु पर्छ
जसको सरकार भए पनि अब बन्ने संविधानमा
नेताभन्दा जनता शक्तिशाली हुनु पर्छ । 
  (देवकोटा ः २०७२ ः २३)
जिउमा भोटो भएपछि सबै छुट हुन्छ
रकम मोटो भएपछि सबै छुट हुन्छ
हरेक ठाउँमा पछि परें किन भन्नु पयो
पहिरन छोटो भएपछि सबै छुट हुन्छ।
(देवकोटा ः २०७२ ः ३४)
मन भत्काउन पिरतीको खानी खन्न दिन्न
मलाई छोडे कसैकी नि रानी बन्न दिन्न
धोका दिए निष्ठुरीलाई एकै तालमा छप्काइदिन्छु
बा, आमाको कुरै छोडौं, पानी भन्न दिन्न। 
(देवकोटा ः २०७२ ः २३)
अब मेरो मुक्तकमा नि छन्द हुनेछ
मुक्तक पढ्दा मुस्कान भने मन्द हुनेछ
कोही, कसैले झर्किएर विरोध ग¥यो भने
सम्झिराख, त्यो दिन नेपाल बन्द हुनेछ। 
(देवकोटा ः २०७२ ः २३)
उनले मागिन् जिन्दगीको खाका झिकी दिएँ
लौ सुन भनी मिठो भाका झिकी दिएँ
उनले केवल अध्यारोमा साथ दिन्छु भनिन्
मैले पनि हाँसी–हाँसी आँखा झिकी दिएँ। 
(देवकोटा ः २०७२ ः २३)
जसको बोली थिर छैन त्यो नेपाली हैन
जसको ठाडो शिर छैन त्यो नेपाली हैन
दौरा, सुरुवाल लगाएरमात्र कहाँ हुन्छ?
जसलाई देशको पिर छैन त्यो नेपाली हैन। 
(देवकोटा ः २०७२ ः २३)
नेपालीको आशा जब मनभित्र नै मर्छ
अनि बैरी सिमा मिच्दै मेचीकोशी तर्छ
यस्तो गरी लड्नुभन्दा चिठ्ठा हालौं बरु
जाबो त्यो सिंहदरबार जसलाई परे पर्छ।
उनीहरूका नाममा कहिल्यै फेता आउँदैनन
त्यसैले त पत्रकारहरू यता आउँदैनन्
यो कार्यक्रमलाई पत्रिकाले तबसम्म छाप्दैनन
जबसम्म उद्घाटनमा नेता आउँदैनन्।

यस वर्षको पुरस्कार देऊ, आधा तिमीलाई भो
बाटो खर्च पूरै आउँदा–जाँदा तिमीलाई भो
अखबारको पहिलो पेजमा मेरो फोटो आउनु पर्छ
यो ‘कृष्ण’को हुनेवाला राधा तिमीलाई भो। 
(देवकोटा ः २०७२ ः १००)
‘अग्निशिखा’ देवकोटाको पहिलो कृति हो। एउटै कृतिबाट कुनै सर्जकको समग्र व्यक्तिको मूल्याङ्न गर्न सकिँदैन। एकाध मुक्तकमा अनुप्रास मिलाउनका निमिक्तमात्र शब्दहरूलाई तोडमोड गरिएको छ। गम्भीर र गहन तवरले विषयवस्तुको फरक, विशिष्ट र मौलिक प्रस्तुति देवकोटाबाट अझै अपेक्षा गर्न सकिन्छ। उनी कतैकतै भावमा पनि चिप्लिएका छन्। जस्तो ः
सधै माग्ने झोलीको लाइसेन्स छ कि छैन
मुर्दा बोक्ने डोलीको लाइसेन्स छ कि छैन
घाँस काट्न गएका सोझा–सिधा जनता मार्ने
त्यो बन्दुक र गोलीको लाइसेन्स छ कि छैन। (देवकोटा ः २०७२ ः २३)
बन्दुकको लाइसेन्स भए पनि सोधासिधालाई मार्न पाइदैन, मार्नु अनुचित हो। विरोधाभासलाई मिलाएर ताली खान जति सजिलो छ, आफ्नै विचारसँग विरोधाभाष नहुने गरी सिर्जना गर्न उत्तिकै गाह्रो छ। आगामी दिनमा देवकोटाले विषयवस्तुको गाम्भीर्यता र मुक्तकको वैचारिक पक्षमा यथेष्ट ध्यान पु¥याउने छन् भन्ने अपेक्षा गर्न सकिन्छ।
मुक्तकको क्षेत्रमा ऐतिहासिक काम गरेको पोखराबाट मुक्तक सङ्ग्रह भनेर गर्वसाथ भन्न सकिने कृतिको अभाव रहेको अवस्थामा अग्निशिखा आएको छ। जीवन र जगतको यथार्थलाई व्यङ्ग्यात्मक तवरले प्रस्तुत गर्ने देवकोटाको अग्निशिखा पठनीय र सङ्ग्रहनीय कृति हो। सङ्ग्रहको प्रकाशक मुक्तक मञ्च पोखराले यसको वितरणलाई चुस्त बनाउनु जरुरी छ। देवकोटाको मुक्तकको प्रवृतिबारे अग्रज मुक्तककार रत्नशमशेर थापाको यो भनाइमा असहमत हुन पर्ने देखिँदैन, ‘देवकोटा नवीनता र सुन्दरतालाई टपक्क टिपेर स्तरीयताका साथ चरम व्यङ्ग्य प्रस्तुत गर्न सक्ने युवा मुक्तककार हुन्।’
सन्दर्भ ग्रन्थसूची
अकिञ्चन, फडिन्द्र, (सम्पा २०६६), मुक्तक वर्षा, पोखरा ः पोखरा पाक्षिक ।
देवकोटा, कृष्ण, (सम्पा २०६९), मुक्तक यात्रा, पोखरा ः मुक्तक मञ्च पोखरा ।
देवकोटा, कृष्ण, (२०७२), अग्निशिखा, पोखरा ः मुक्तक मञ्च पोखरा ।
विकल्प, इन्द्रकुमार, (सम्पा २०६४), कालीको सुसेली, पर्वत ः पर्वत साहित्य संगम ।
(साभार ः सुनाखरी सन्देश साहित्यिक पत्रिका)
















Post a Comment

 
Top