0
गोल्डेन न्यूज संवाददाता
विदेशी पर्यटकको खडेरीका बाबजुद नयाँवर्ष २०१६ को स्वागतार्थ पोखराको लेकसाइडमा आयोजित सडक महोत्सवका क्रममा पोखराका होटल–रेष्टुरेन्ट भरिभराउ बने । आन्तरिक पर्यटकले नै होटल–रेष्टुरेन्ट भरिएपछि पोखराको पर्यटन उद्योगमा नयाँ आशाको सञ्चार भएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पोखराको पर्यटन थला परिरहेको थियो । तर महोत्सवमा देखिएको आन्तरिक पर्यटकको चापले पर्यटन व्यवसाय व्यूँतिन सक्न आशा जागेको हो । यद्यपी सडक महोत्सव सकिएसँगै पर्यटक चाप भने खस्कन थालेको पर्यटन व्यवसायी बताउँछन् ।
सडक महोत्सव अवधीमा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका होटलहरु भरिएका थिए । न्यू इयर इभको दिन कयौं आन्तरिक पर्यटकहरु होटलमा बस्ने कोठा नपाएर भौतारिनु परेको थियो भने नजिकबाट आएकाहरु अबेर राती घर र्फकन बाध्य भएका थिए । महोत्सव शुरु भएदेखि नयाँ वर्ष शुरु हुने २ दिन अघिसम्म करीब ६० प्रतिशत अकुपेन्सी रहेको लेकसाइडका होटलहरु न्यू इयर इभ र न्यू इयरको दिन शतप्रतिशत अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । जबकी महोत्सव अघीसम्म करिब २० देखि ३० प्रतिशतको हाराहारीमा मात्र अकुपेन्सी थियो ।
‘महोत्सव अवधिमा देखिएको अकुपेन्सीले आन्तरिक पर्यटकबाट पनि पर्यटन व्यवसाय चल्न सक्छ भन्ने आशा र विश्वास जगाएको छ,’ पराजुलीले भने । रेष्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले पनि महोत्सवका कारण होटल तथा रेस्टुरेन्ट व्यवसायमा आशा जागेको प्रतिक्रिया दिए । महोत्सव अवधिमा होटलको अकुपेन्सी राम्रो हुनुका साथै रेस्टुरेन्ट तथा बारहरुमा पनि व्यापार धेरै राम्रो भएको उनले बताए । महोत्सवको मूख्य दिन न्यू इयर इभमा करिब १ लाख पर्यटकले महोत्सवको अवलोकन गरेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले महोत्सव अवधिमा झण्डै २र३ सय गुनाले व्यापार बृद्धि भएको जानकारी दिएका छन् । पोखरामा करिब ४ सय ५० होटल छन् । जसमध्ये ३ सय १० वटा होटल पर्यटकस्तरका छन् । ती होटलमा १८ हजारभन्दा बढी बेड रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष पराजुलीले बताए । महोत्सवमा करिब ९० प्रतिशत आन्तरिक पर्यटक सहभागी भए भने १० प्रतिशत मात्र विदेशी पर्यटक थिए । रेवान पोखराका अध्यक्ष भट्टराईले विदेशी मुद्रा आर्जन गर्न विदेशी पर्यटक आवश्यक भए पनि आन्तरिक पर्यटकले पनि होटल र रेस्टुरेन्ट धानिन सक्छ भन्ने पुष्टी भएको बताएका छन् । ‘आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने सरकार र व्यवसायीलाई यसले गतिलो पाठ सिकाएको छ,’ उनी भन्छन् ।
होटल संघका अध्यक्ष पराजुली पनि नेपाली पर्यटन आन्तरिक श्रोतबाट पनि चल्न सक्छ भन्ने सन्देश सडक महोत्सवले दिएको स्विकार्छन् । उनले ३० देखि ४० प्रतिशत आन्तरिक पर्यटक र करिब ३० प्रतिशत वाहृय पर्यटक भित्र्याउन सकेमात्रै पनि पर्यटन व्यवसाय नाफामा जाने बताए ।
भूकम्पपछि पोखराको पर्यटनमा पुनःजागरण ल्याउन गठन भएको पोखरा पर्यटन पुनःजागरण समिति (पिटीआरसी) का संयोजक गणेशबहादुर भट्टराई भने फरक मत राख्छन् । महोत्सवमा देखिएको उभार केही दिनका लागि मात्रै भएकाले यसलाई नियमित बनाउन नेपालीको आयस्तर उकासिनुपर्ने उनको धारणा छ । ‘नेपालीको आयस्तर बढाउन जिडिपी बढ्नुपर्छ र खर्च गर्ने बानीको पनि विकास हुनुपर्छ,’  उनले भने । महोत्सवमा आएका आन्तरिक पर्यटकले गरेको खर्चलाई हेर्दा सकारात्मक रुपमा लिन सकिने भट्टराई बताउछन् ।
बल्ल स्वदेशी पर्यटकको सम्मान ः कुनै समय थियो लेकसाइडका पर्यटन व्यवसायी आन्तरिक पर्यटकलाई मान्छे नै गन्दैनथे । त्यसो त लेकसाइडका होटल–रेस्टुरेन्टमा नेपालीहरु विरलै पस्थे । आक्कल–झुक्कल पसेका नेपालीहरुलाई पनि होटल तथा रेस्टुरेन्ट व्यवसायीले खासै वास्ता गर्दैनथे । नेपाली ग्राहकले खर्च गर्न सक्दैनन् भन्ने सोचाईका कारण उनीहरुको वेवास्ता हुने गरेको थियो । नेपाली पर्यटकलाई राम्रो कोठा दिन गाह्रो मान्न, अर्डर गरिएका खानाका परिकारहरुमा पनि ढिलासुस्ती गर्ने, गुणस्तर र सेवामा ध्यान नदिने प्रवृत्तिहरु थिए ।
तर अहिले परिस्थिति विलकुलै फेरिएको छ । भूकम्प र नाकाबन्दीका कारण वाहृय पर्यटक हृवात्तै घटेपछि लेकसाइडका होटल तथा रेस्टुरेन्टहरु आन्तरिक पर्यटककै भरमा टिकेका छन् । केही नाम चलेका रिसोर्ट तथा होटलमा बाहेक अन्यमा विदेशी पर्यटकहरुको उपस्थिति शून्य प्रायः छ ।
हिजो नेपाली पर्यटक भन्ने वित्तिकै नाक खुम्च्याउने पर्यटन व्यवसायी आज प्याकेज दिएर लोभ्याउने प्रयासमा छन् । पत्रकार सन्देश श्रेष्ठ अनलाइन खवरमा लेख्छन्–‘पहिले विदेशीलाई सेवा दिएपछि मात्रै नेपाली पर्यटकतर्फ हेर्ने व्यवसायी अहिले समान व्यवहार गर्न थालेका छन् । यसैका कारण होला हिजोआज लेकसाइडका होटलहरुमा नेपाली पर्यटकको निकै चहलपहल देखिन्छ ।’ नेपाली पर्यटक आकर्षण गर्न पश्चिमाञ्चल होटल संघले ३० प्रतिशतसम्म छुट प्याकेज घोषणा गरेका छन् । यद्यपी यी सबै होटलहरुमा लागु भएको देखिन्न । कुनैरकुनै होटलले छुट नदिएको पर्यटकको गुनासो छ । होटल संघका अध्यक्ष पराजुली पनि यसलाई स्वीकार्दै भन्छन्,–‘हामीले छुट दिने घोषणा गरेका हौं र अधिकांशमा लागु छ । तर, केही होटलहरु संघमा दर्ता नहुँदा समस्या आएको हो ।’ उनले संघमा आबद्ध होटलहरुले छुट दिने गरेको दाबी गर्दै संघमा दर्ता नभएका होटलहरुले छुट नदिदा आलोचित हुनुपरेको बताए ।








Post a Comment

 
Top