0
गोल्डेन न्यूज संवाददाता
पोखरेली ख्रीस्टिय समुदाय तथा असल छिमेकी नेपालले वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका गोरखा जिल्ला अन्तर्गत ६ गाविस भित्रका १३ स्कुलको लागि ९९ बण्डल जस्तापाता र ९९ किलो किला तथा वासर वितरण गरेको छ । जिल्ला शिक्षा कार्यालयको प्रांगणमा आयोजित वितरण कार्यक्रममा स्थानीय विकास अधिकारी प्रेमराज गिरी र जिल्ला शिक्षा अधिकारी हरि अर्यालको आतिथ्य रहेको थियो । संस्थाका कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार अरु थप १० गाविसभित्र पर्ने २६ स्कुलको लागि गोरखा आरुघाटस्थित भीमोदय उच्च माविको प्राङ्गणमा जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यमा ३४५ बण्डल जस्तापाता र ३४५ किलो किला र वासर वितरण गरेको छ । वितरणका क्रममा स्थानीय विकास अधिकारी गिरीले असल छिमेकी नेपालले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि असल छिमेकी नेपाललाई अझ सहयोगी हातहरु जुट्न सकोस् भनी शुभकामना व्यक्त गरेका थिए । उनले असल छिमेकीले जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा नगद रु. ३९ लाख उपलब्ध गराएको स्मरण गरेका थिए । कार्यक्रममा पोखरेली ख्रीस्टिय समुदायका उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष पास्टर हरिराम घिमिरे, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारी र समुदायका कोषाध्यक्ष पूर्णलाल कायस्थले बोलेका थिए । संस्थाले गर्दै आएको सामाजिक काममा सरकारी तवरबाट भएको सकारात्मक सहयोगका लागि निर्देशक अधिकारीले धन्यवाद दिएका थिए ।

















Post a Comment

 
Top