0
गोल्डेन न्यूज संवाददाता
छैठौं पोखरा महोत्सवको आम्दानी  चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षण जस्ता कार्यमा सहयोग गरिने भएको छ । युनाइटेड क्लब पोखराले ले आगामी पुस ३० गतेदेखि माघ १० गतेसम्म पोखरा महोत्सव आयोजना गर्दैछ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटनलाई उकास्न महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ आयोजित महोत्सवको कुल आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइने छ । 

महोत्सवमा आउने प्रत्येक व्यक्तिले लिने टिकटबाट एक रुपैयाँ छुट्याएर सेती नदी संरक्षणमा सहयोग पुर्याउने क्लबको लक्ष्य छ । क्लबका अध्यक्ष हिमालय बख्रेलका अनुसार बृहत् पोखराको अवधारणा अनुसार पोखराको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२, र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चाँपापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखाना बनाउन लागिएको छ । क्लबको विशेष पहल एवम् स्थानीयवासीको सक्रियतामा त्यहाँको १३४ हेक्टर क्षेत्रमा चिडियाखाना निर्माण गर्न लागिएको जानकारी गराउँदै उनले क्लबले विगत पाँच वर्षदेखि पोखरा महोत्सव गर्दै आएकोमा उक्त महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याइएको स्पष्ट पारे । यसवर्ष पनि महोत्सवको कुल आम्दानीको २० प्रतिशत चिडियाखाना निर्माणका लागि छुट्याइने अध्यक्ष बख्रेलले बताए ।  ‘महोत्सवबाट हालसम्म चिडियाखाना निर्माणका लागि १५ लाख रुपैयाँ जम्मा भइसकेको छ,’ उनले भने–‘क्लबको पहल र सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय, स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिक दल, विभिन्न संघ–संस्थाको सहयोगमा चिडियाखाना निर्माण कार्यलाई अघि बढाइएको हो ।’ महोत्सवमा काटिने प्रतिटिकटको १ रुपैयाँ सेती नदी संरक्षणमा खर्च गरिने छ ।

महोत्सवमा विभिन्न संस्कृतिको प्रदर्शनसहित यसपटक एकल नृत्य प्रतियोगिता समेत सञ्चालन हुने क्लबले जनाएको छ । महोत्सवको छैटौं पोखरा महोत्सवमा दोस्रो खुल्ला एकल नृत्य प्रतियोगिता पोखरा तारा दुई सञ्चालन गरिने भएको छ । नेपाली संस्कृतिलाई उजागर गर्दै नयाँ प्रतिभाको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुरज थापा मगरले बताए । विशुद्ध नेपाली संस्कृति र आधुनिक ढङ्गको नृत्य हुनुपर्ने सो प्रतियोगिताको प्रथम हुनेलाई पोखराको तारा उपाधिसहित रु ५० हजार नगद र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने छ । द्वितीय हुनेलाई २५ हजार रुपैयाँ र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने तथा तेस्रो हुनेलाई रु पाँच हजार प्रदान गरिने छ । महोत्सवमा २२० वटा स्टल रहने र अधिकांश बुकिङ्ग भैसकेको अध्यक्ष बख्रेलले बताए ।

यसैबीच छैठौं पोखरा महोत्सवको अफिसियल मिडिया पार्टनरमा एबिसी टेलिभिजन हुने भएको छ । एबिसी टेलिभिजनको पश्चिमाञ्चल ब्युरो एमबी आस्था र युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल र क्लवका सचिव लालकाजी गुरुङले अफिसियल मिडिया पार्टनरको सहमति पत्रमा हस्ताक्षर गरेका छन । उक्त अवसरमा वोल्दै ए बि सी टेलिभिजनका पश्चिमाञ्चल ब्युरो एमबी आस्थाले स्थापना कालदेखि युनाइटेड क्लवले आयोजना गर्दै आएको विभिन्न गतिविधीहरुलाई टेलिभिजनमार्फत सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । क्लवका सचिव लालकाजी गुरुङले एबिसी टेलिभिजन संगको सहकार्यले आफूहरुको क्लवले आयोजना गर्दै आएको हरेक गतिविधिलाई श्रोता सामु पु¥याउदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । महोत्सवमा मोफसलको मिडिया पार्टनरमा फेवा टेलिभिजन र गण्डकी टेलिभिजन रहेको र अफिसियल पेपरमा समाधान राष्ट्रिय दैनिक रहेको महोत्सव आयोजक कमिटीका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।   








Post a Comment

 
Top