0
गोल्डेन न्यूज संवाददाता
सामाजिक जागरणका लागि नारी अभियानको आयोजना र नेपाल अटोमोबाइल्स एशोसिएशन, जिल्ला ट्राफिक कार्यालय कास्कीको सहकार्यमा महिलालाई सडक सुरक्षा तथा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले कार्यक्रमको उद्घाटन गर्दै  सडक दुर्घटना जानेर वा नजानेर पनि हुने भएकाले यस प्रति सबै सचेत र सावधान हुन जरुरी रहेको बताए । दुर्घटना न्युनिकरण गर्न महिलाहरुको भूमिका अपरिहार्य हुने हुँदा पनि महिलाहरुलाई ट्राफिक सम्बन्धी सचेतना कार्यक्रमहरुमा अग्रसर गराउनुपर्नेमा उनले जोड दिए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख श्याम अर्यालले सडक दुर्घटनाले गर्दा नेपालमा बर्षेनी १८ सय देखि २ हजारसम्म मानिसहरुले आफ्नो ज्यान गुमाउने गरेको बताउँदै ५ देखि ६ हजार ब्यक्ति अपाङ्ग हुने गरेको बताए । उनले बार्षिक रुपमा समग्रमा सडक दुर्घटनामा कास्कीमा ४० देखि ४५ जनाको ज्यान जाने गरेको तथ्याङक रहेको बताउँदै यसलाई न्युनिकरण गर्न जनचेतना जोगाउनुपर्ने बताए । 

उनले नेपालमा रहेका साँघुरा सडक र नियम उलङघन गर्ने प्रवृत्ति बढेकाले सडक दुर्घटना बढेको बताए । कार्यक्रममा पोखराको पहिलो महिला ट्याक्सी चालक विष्णु कुँवरले ट्याक्सी चालक हुनुमा गर्व महसुस भएको बताउँदै अन्य दिदि बहिनीहरुलाई पनि काम गर्न लाज नमानि आफूले जस्तै गरी काम गरेर आत्मानिर्भर हुनका लागि आग्रह गरे । कार्यक्रममा कामको प्रोत्साहन गर्दै पोखराको पहिलो ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा पोखराको २९ वडाको प्रतिनिधित्व गरेर १०० जना महिलाहरुको सहभागिता रहेको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक राजेन्द« कार्की, अटोमोबाइल्सको महासचिव गोविन्द भट्राईले प्रशिक्षण दिएका थिए भने अभियानका संयोजक सुष्मा पौडेलले सहजीकरण गरेकी थिइन । अभियन्ता सुष्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक ज्ञानु सुवेदी, पवित्रा केसीले पनि बोलेकी थिइन ।

Post a Comment

 
Top