0
हरि पन्त/
पोखरा २५ पुस ।
पश्चिमाञ्चल क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघ कास्कीका व्यवसायीले प्रदान गर्ने सेवा र लिइने शुल्कमा एकरुपता ल्याइने भएको छ । यसअघि व्यवसायीले प्रदान गर्ने सेवा र लिने शुल्कमा विभिन्न गुनासो आउने गरेको थियो । साथै संघले एकै दिन एउटै व्यवसायीले धेरै ठाउँमा सेवा दिने गरेकोमा उक्त कार्यलाई पनि रोक्ने भएको छ । 
संघले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो । एउटै व्यवसायीले एकैदिनमा धेरै ठाउँमा सेवा दिंदा भरपर्दो र गुणस्तरीय नुहने निश्कर्ष निकाल्दै विशेषगरि आउट डोर सेवामा एक व्यवसायीले एक दिनमा २ ठाउँमा भन्दा बढी सेवा दिनबाट रोक लगाइएको हो । संघका अध्यक्ष लिला जिसीले दिएको जानकारी अनुसार शनिबारदेखि संघमा आवद्ध व्यवसायीहरुलाई उक्त नीति लागू भएको छ । संघले क्याटरिङ्ग सेवाबाट व्यवसायीले लिने शुल्कमा एकरुपता ल्याउन हाल कायम रहेको मूल्यमा वृद्धि समेत गरेको संघका अध्यक्ष जिसीले बताए । उनका अनुसार फूल क्याटरिङ्गको हकमा न्यूनतम संख्या एक सयदेखि दुईसय जनासम्मको लागि २ आइटम (मासुसहित) प्रतिप्लेट ६३० रुपैयाँ कायम गरेको छ । यस्तै सोही सेवा २००–४०० जनासम्ममा ६०० रुपैयाँ र ४०० देखि १ हजार जनासम्ममा ५८० रुपैयाँ कायम गरिएको अध्यक्ष जिसीले बताए । 
यसैगरी स्न्याक्स थपिएको अवस्थामा लाग्ने शुल्क समेत संघले निर्धारण गरेको छ । जसअनुसार स्यान्क्स १ ननभेज र ३ भेजका लागि २५० रुपैयाँ, २ ननभेज र ३ भेजका लागि ३०० र ३ ननभेज र ३ भेजका लागि ३५० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने अध्यक्ष जिसीले जानकारी दिए । उनका अनुसार सादा खानाको हकमा न्यूनतम् १०० देखि २०० जनासम्मका लागि प्रतिप्लेट ४०० रुपैयाँ, २०० देखि ४०० जनासम्म ३५० र ४०० देखि १ हजार जनासम्मका लागि ३२५ रुपैयाँ निर्धारण गरिएको छ । व्यवसायीले उपलव्ध गराउने सबै सेवामा टेन्ट निःशुल्क उपलव्ध गराइनेछ । संघले वृद्धि गरेको शुल्क सबै सेवामा ३५ देखि ४० रुपैयाँमात्र हो । क्याटरिङ्ग व्यवसायीले पोखरा लगायत आसपासमा विगत १५ वर्षदेखि सर्वसुलभ, छिटोछरित्तो र गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको जानकारी दिंदै अध्यक्ष जिसीले गत वैशाखको महाभूकम्प र भारतको अघोषित नाकाबन्दीले अत्यन्तै समस्यामा पारेको बताए । ‘आफूहरुको सेवा अतिआवश्यक छ, तर व्यवसायमा धेरै समस्या भएपनि सम्बन्धित निकायले सधैं उपेक्षा गर्ने  गरेको छ’, अध्यक्ष जिसीले भने–‘क्याटरिङ्ग सेवाका लागि आवश्यक पर्ने सामाग्रीहरु (इन्धन, ग्यास, तरकारी, मासु र खाद्यान्न) मा भारी मूल्य वृद्धि हुँदा समेत पाँच वर्षसम्म हामीले केही गरेनौं, बल्ल सामान्य मूल्य वृद्धि गरेका छौं ।’ अब पनि मूल्य वृद्धि नगर्ने हो भने आफूहरुले व्यवसाय संचालन गर्न नसक्ने उनले स्पष्ट पारे ।
२०६४ सालमा स्थापित संघमा हाल ६० व्यवसायी सदस्य छन् । संघमा स्याङ्जाका केही व्यवसायी समेत आवद्ध छन् । पोखरामा करिब ९० क्याटरिङ्ग संचालनमा रहेको बताइन्छ । संघले राज्यका सबै निकायबाट दर्ता भइ कार्य गरेका व्यवसायीलाई मात्र सदस्यता दिने गरेको बताइन्छ । ‘यसअघि संघमा ८५ व्यवसायी आवद्ध थिए । कानूनी मान्यता प्राप्त व्यवसायीलाई मात्र सदस्यता प्रदान गर्ने नीति संघले लिएपछि २५ व्यवसायी बाहिरिएका हुन्’,अध्यक्ष जिसीले भने–‘विशेषगरि पोखरामा रहेका सबै व्यवसायीलाई आवद्ध गराउन पहल गरिनेछ । सबै व्यवसायीले राज्यलाई कर तिर्नै पर्दछ र राज्यबाट पाउने सेवा समेत लिन सक्नुपर्छ ।’
अबका दिनमा व्यवसायीले सेवा दिंदा पश्चिमाञ्चल क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघद्वारा संचालित भनेर सबै व्यवसायीले व्यानर र प्रचार–प्रसार गर्नुपर्ने अध्यक्ष जिसीले बताए । अध्यक्ष जिसीले संघद्वारा मान्यता प्राप्त व्यवसायीसंग मात्र सेवा लिन सबैसंग आग्रह गरेका छन् । व्यवसायीले सेवा दिंदा केही समस्या आएमा संघ जिम्मेवार हुने भन्दै उनले गैरव्यवसायीलाई कुनैपनि सहयोग नगरिने स्पष्ट पारे ।
पोखरामा कतिपय पार्टी प्यालेस संचालकले आफूहरुलाई बेला–बेलामा दुःख दिने गरेको गुनासो गर्दै समेत अध्यक्ष जिसीले पार्टी प्यालेसमात्र संचालन गर्ने व्यवसायीका लागि अबका दिनमा क्याटरिङ्ग सेवा कुनैपनि व्यवसायीले नदिने बताए । उनले भने–‘पार्टी प्यालेसका लागि भवनमात्र बनाएका छन्, उनीहरुसंग जनशक्ति र आवश्यक सामाग्री केही छैन तर क्याटरिङ्गका लागि हामीसंग मोलमोलाइ गर्छन्,  अबका दिनमा कुनैपनि सेवा दिइने छैन । उनीहरु आफैले क्याटरिङ्ग संचालन गरे हामीले भन्नु केही छैन ।’
संघका वरिष्ठ उपाध्यक्ष भरत सापकोटाका अनुसार पोखरामा संचालित क्याटरिङ्ग व्यवसायमा १ अर्व रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । संघमा हाल पोखरा र स्याङ्जाका व्यवसायीमात्र आवद्ध रहेकाले पश्चिमाञ्चलका सबै जिल्लाका व्यवसायीलाई आवद्ध गराउन र एउटै किसिमको सेवा प्रदान गर्न आफूहरु लाग्ने उनले बताए । पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष पिताम्बर पौडेल, महासचिव दीपक गुरुङ र सल्लाहकार एवं सिटी रेवानका अध्यक्ष केपी शर्माले पनि बोलेका थिए । 

Post a Comment

 
Top