0
गोल्डेन न्यूज संवाददाता
आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान यस वर्ष सहारा एकेडेमीलाई अर्पण गरिने भएको छ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २÷२ वर्षमा प्रदान गर्ने १ लाख रुपैयाँ राशिको उक्त पुरस्कारबाट सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई अर्पण गर्ने निर्णय भएको समितिको शनिबार पोखरामा आयोजित साधारण सभामा सार्वजनिक गरेको हो । गरिब तथा असहायः बालकहरुलाई एकेडेमीमा संरक्षण दिएर उनीहरुको शिक्षा, स्वास्थ्य र खेलकुदको प्रशिक्षणको व्यवस्था गरेर समाजमा उदाहरणीय बन्नुका साथै खेल तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गर्ने निर्णय भएको समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । 
सम्मानित हुने संस्था सहारा एकेडेमी २०५५ सालमा स्थापित सहारा क्लवद्वारा सञ्चालित संस्था हो । सो एकेडेमी २०५८ सालदेखि सञ्चालन हुँदै आएको छ भने एकेडेमीले गरिब तथा असहायः वालकहरु राखेर शिक्षा, स्वास्थ्य र खेलकुद प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । एकेडेमीमा हाल २६ बालकहरु रहेका छन् भने ४ जना वालकहरु खोजि गरिरहेको छ । राष्ट्रिय फुटवल टिमका क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन हो ।
समितिका सदस्य नरेन्द्रमान लालचनको संयोजकत्वमा बनेको पाँच सदस्यीय छनौट समितिले गरेको सिफारिस समितिको पूर्ण वैठकले पारित गरेको उनले बताए । छनौट समितिका सदस्यहरुमा पत्रकार दीपेन्द्र श्रेष्ठ, कल्याण पन्त, समितिका अध्यक्ष नारायण कार्की र सचिव पशुपति श्रेष्ठ पदेन सदस्यका रुपमा रहेका थिए । वृत्ति तथा सम्मान आमा सेतुली माया शाक्यको सातौं वार्षिकीको अवसरमा आउँदो माघ ७ गते पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा गरिने समितिका अध्यक्ष कार्कीले जानकारी दिए । असहायः महिलाहरुका लागि सीपमूलक कार्यक्रम, आर्थिक विपन्न वालवालिकाका निम्ति शैक्षिक वातावरण र परित्यक्त वृद्धवृद्धाहरुको भरणपोषणजस्ता लोककल्याणकारी कार्यमा समर्पित व्यक्ति वा संस्थालाइ सम्मान गरिदै आएको छ । २०६३ माघ ७ गते आमा सेतुलीमाया शाक्यको देहावसानपछि उनका कान्छा छोरा, पोखराका वरिष्ठ फोटो पत्रकार तथा साहित्यकार विश्वरत्न शाक्यको सक्रियतामा प्रारम्भिक अवस्थामा  १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी यस सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको हो । अहिले अक्षयकोष १६ लाख रुपैयाँ पु¥याइएको छ । प्रतिष्ठानले आर्थिक अभाव खेपिरहेका असहाय बालबालिकाहरुको समुचित पठन–पाठनका लागि गत ३ वर्षदेखि वालहित कोष स्थापना गरी ५० भन्दा बढी बालबालिकाका लागि वार्षिक रु ३ लाखभन्दा बढी रकम छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेको छ । आमा सेतुलीमाया शाक्य स्मृति ‘वृत्ति तथा सम्मान’ द्वारा यसभन्दा अगाडि एच.आई.भी. संक्रमितहरु को संस्था आँकुरा एकल तथा संक्रमित महिला समूहकी अध्यक्ष एच.आई.भी. संक्रमित लक्ष्मी अधिकारी, वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी काठमाडौँकी संस्थापक दिलशोभा श्रेष्ठ र लमजुङको बेशीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रलाई सम्मान गरिसकिएको छ ।
यसैबीच सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले पुरस्कार प्रदान गर्न लागेकोमा सहारा एकेडेमीको संस्थालक संस्था सहारा क्लव पोखराले खुशी व्यक्त गरेको छ । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यले  एकेडेमीले सहयोग धेरै पाएको तर पहिलो पटक पुरस्कार नै पाउने भएपछि अत्यन्तै खुशी लागेको बताए । उनले यस खबरले आफू, सहारा क्लव मात्र होइन सबै पोखरेली खुशी भएको बताए । ‘आफूहरुको प्रयास आफैमा गर्व गर्न योग्य छ । त्यसको जुन मूल्याङ्कन गरि पुरस्कार नै पाउँदा सामाजिक कार्यमा लाग्ने थप उत्प्रेरणा थपिएको छ ।’–उनले भने–‘पुरस्कार प्रदान गर्न जून निर्णय गरिएको छ आयोजक संस्था सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखरालाई विशेष आभार व्यक्त गर्दछु ।’












Post a Comment

 
Top