0
म्याग्दी जिल्लामा दरबन्दी अनुसारका कृषि प्राविधिकको अभाव हुँदा सेवा प्रवाहका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा कठिनाई भएको छ । जिल्ला कृषि विकास कार्यालय र सेवा केन्दमा दरबन्दी अनुसारका प्राविधिक जनशक्ति नहुँदा दुर्गम क्षेत्रका कृषकले राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्नबाट वञ्चित भएको गुनासो गरेका छन् । प्राविधिक जिल्लामा नआउँदा दरबन्दी अनुसारको पदपूर्ति हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । नजिक सेवा केन्द्र नहुनु र भएका सेवा केन्द्र तथा जिल्ला कृषि विकास कार्यालयमा प्राविधिक जनशक्ति नहुँदा कृषकलाई सेवा, सुविधा प्राप्त गर्न ढिलासुस्ती र कठिनाई भएको छ । दरवाङका कृषक गौमती चपाइँ जनशक्ति अभावका कारण कार्यक्षेत्रमा प्राविधिक सेवा र अनुगमनको काम प्रभावित बनेको बताउछन् ।

कृषकबाट आवेदन सङ्कलन भए पनि स्थलगत अनुगमन गर्न नसक्दा यसवर्षको युवा लक्षित र सिचाइँ कार्यक्रमको बजेट वितरण गर्न ढिलाइ भएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए । जिल्लाभर २६ जना कृषि प्राविधिकको दरबन्दी भएकोमा हाल १२ जना मात्रै कार्यरत छन् । कार्यालयको कृषिप्रसार, बाली संरक्षण र लेखा फाँट गत कात्तिक महिनादेखि कर्मचारीबिहीन छ । गत असोजमा तनहुँबाट सरुवा भएका प्राविधिक सहायक निरञ्जनकुमार तिवारी अझै कार्यालयमा हाजिर भएका छैनन् । सदरमुकाम बेनीमा रहेको जिल्ला कृषि विकास कार्यालयसहित जिल्लाको दाना, ज्यामरुककोट, बाबियाचौर, ताकम, पाखापानी र घतानमा सेवाकेन्द्र तथा घार र भगवतीमा सम्र्पकस्थल रहेका छन् । जिल्लामा  एकजना कृषि प्राविधिकले ७०० घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था रहेको छ । एउटा सेवा केन्द्रअन्तर्गत सात वटासम्म गाविस छन् । दरबन्दी अनुसारका जनशक्ति र सेवाकेन्द्र थप गर्न पहल गरे पनि कर्मचारी आउनै नमान्ने समस्या रहेको वरिष्ठ कृषि विकास अधिकृत रिजालको भनाइ छ । रासस






Post a Comment

 
Top