नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा देखिने अधिकांश अनुहार दुई पृष्ठभूमिबाट आएका छन्– पञ्चायतकालको प्रतिबन्धित राजनीतिबाट खारिएर आएका पुराना व्यक्तित्व र भ्रातृसंस्थाको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू। वरिष्ठ नेता शेरबहादुर देउवा, रामशरण महत, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद र गगन थापासम्म पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टीमा स्थापित भएका हुन्। यसले अहिले पनि पार्टीका अन्य भ्रातृसंस्थाको तुलनामा विद्यार्थी संगठनलाई कांग्रेसको राजनीतिमा नेतृत्व विकास गर्न उर्वर फाँटका रूपमा लिने गरिएको छ।
त्यो उर्वर फाँट अहिले भने पार्टी नेतृत्वकै कारण बञ्जरभूमिमा परिणत हुँदैछ। विद्यार्थी संगठनको नेतृत्व लिने अपेक्षामा वर्षौंदेखि उमेरको समेत ख्याल नगरी कुर्दै आएका नेता अहिले पार्टी्भित्रै आफ्नो राजनीतिक भविष्य र भूमिका खोज्न बाध्य भएका छन्। खासगरी तत्कालीन नेपाली कांग्रेस र कांग्रेस–प्रजातान्त्रिकबीच २०६४ मा भएको एकीकरणपछि यस्तो स्थिति आएको हो। एकीकरण हुनुअघि दुवै पार्टीको विद्यार्थी संगठनमा अधिवेशनमार्फत् विधिवत नेतृत्व चयन भएको थियो। त्यसपछि भने पछिल्ला ८ वर्षमा विद्यार्थी संघको अधिवेशन हुन सकेको छैन। यस अवधिमा नेतृत्वको आकांक्षा बोकर विद्यार्थी राजनीतिमा लागिरहेका झन्डै आधा दर्जन युवा नेताको आशा र भरोसामा पार्टी नेतृत्वले पानी फेरिदिएपछि उनीहरूलाई अबको आफ्नो राजनीतिक भूमिका पार्टी्भित्र कहाँ, कसरी र कुन स्थानमा सुरक्षित गर्ने भन्ने चिन्ताले सताएको छ। २०६४ जेठमा चितवनबाट प्रदीप पौडेल (नेपाली कांग्रेस) र साउनमा नेपालगन्ज अधिवेशनबाट कल्याण गुरुङ (कांग्रेस–प्रजातान्त्रिक) क्रमशः विद्यार्थी संघको सभापतिमा निर्वाचित भए। पार्टी एकीकरणपछि भने आन्तरिक भागबन्डा मिलाउँदा पौडेलको नेतृत्व कायम गरिएको थियो।
त्यतिबेलै एकीकृत विद्यार्थी संघको केन्द्रीय पदाधिकारीको भूमिकामा रहेका नयनसिंह महर, मनोजमणि आचार्य, जीतजंग बस्नेत, भूपेन्द्रजंग शाही, प्रतिमा गौतमसहित केदार कार्की, रन्त कार्की, ऋषिकेषजंग शाह लगायत कतिपय विद्यार्थी नेता २०६६ मा अधिवेशन भए नेतृत्वको प्रमुख दाबेदारका रूपमा देखिएका थिए।
‘संगठनको विधानअनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने भ्रातृसंस्थाको अधिवेशन पार्टी नेतृत्वले हस्तक्षेप गरी लामो समय रोकिदिएपछि संगठनको माध्यमबाट पार्टी राजनीतिमा उक्लने र राष्ट्रिय राजनीतिमा स्थापित हुने विकासक्रमै रोकियो,’ विद्यार्थी नेता महरले भने। आफूसँगैका कतिपय साथी पार्टीको केन्द्रीय समितिमा त कति सांसद बनिसकेको अवस्थामा अब पनि भ्रातृसंस्थाको अधिवेशन कुरेर बसे आफू पार्टी राजनीतिमा थप पाँच वर्ष पछि पर्नेे उनको विश्लेषण छ।
‘भ्रातृसंस्थाको नेतृत्व विकासमा ध्यान नदिने वर्तमान नेतृत्वसँग अब पार्टीको अधिवेशनमा प्रतिस्पर्धा गर्नुको हामीसँग विकल्प रहेन,’ वरिष्ठ नेता देउवाको गृहजिल्ला डडेल्धुराबाट राजनीतिमा लागेका महरले भने। पार्टी र विद्यार्थी राजनीतिमा देउवानिकट रहेका महरलाई देउवा स्वयं सभापतिको उम्मेदवार बन्दै गर्दा उनकै समूहको केन्द्रीय सदस्य सूचीमा पर्ने सम्भावना कम देखिए पनि महर भन्छन्, ‘अब म पनि केन्द्रीय समिति सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्छु।’ पार्टीको १२औं महाधिवेशनमा झन्डै २ सय २५ विद्यार्थी नेता महाधिवेशन प्रतिनिधिका रूपमा आएको उल्लेख गर्दै महरले यो संख्या १३औं महाधिवेशनमा अझ थपिने दाबी गरे। ‘त्यसैका आधारमा पनि कतिपय युवा विद्यार्थी नेता पार्टीमा स्थापित हुन सक्छन्,’ उनले भने। २०६५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा विवाद उत्पन्न भएपछि ०६६ मा हुनुपर्ने नियमित अधिवेशन हुन नसकेको हो। महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित एक समितिले विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायत सबै भ्रातृसंस्थाका तत्कालिन केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको थियो। नेताहरूकै दबाब र सुझावका आधारमा पौडेलले ०६७ चैतमा विद्यार्थी संघको अध्यक्षबाट राजीनामा दिएका थिए।
त्यसपछि २०६८ पुसमा सभापति सुशील कोइरालाले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसाथ रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए। त्यसको ४८ महिना बितिसक्दा पनि पटक–पटक अधिवेशनको मिति तय गरी अन्तिम समयमा नेतृत्वको हस्तक्षेपले स्थगित हुँदै आएको छ। यसले विद्यार्थी राजनीतिमा लागेका थुप्रै युवाको नेतृत्व विकासक्रम रोकिएको अर्का विद्यार्थी नेता मनोजमणि आचार्य बताउँछन्। उनका अनुसार विद्यार्थी संघको अधिवेशन समयमै भइदिएको भए अहिलेसम्म कम्तीमा तीनवटा भइसक्नुपथ्र्याे। ‘अधिवेशनबाट नेतृत्व चयन हुन सकेको भए कतिपय विद्यार्थी नेता संगठनकै नेतृत्वमा रहेर त्यसकै नेटवर्कबाट पार्टीको राष्ट्रिय राजनीतिमा स्थापित हुन सक्ने अवस्था रहन्थ्यो,’ आचार्यले भने, ‘विद्यार्थी नेतृत्वमा जम्न नसकेकाहरू आफ्नो राजनीतिक भविष्य निर्धारण गर्न गाउँ, क्षेत्र, जिल्ला र केन्द्रको तयारीमा जुट्नसक्ने अवस्था हुने थियो।’
पार्टी नेतृत्वको हस्तक्षेपले त्यस्तो अवस्था नहुँदा लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेका युवा नेताको नेतृत्व विकासक्रम अवरुद्ध भएको उनले बताए। देशकै पुरानो राजनीतिक दल कांग्रेसमा अहिले २०१७ सालपछि पञ्चायतकालमा संघर्ष गरेकादेखि २०४६ को आन्दोलनमा सहभागी भएर राष्ट्रिय राजनीतिमा स्थापित नेता मात्र होइन, २०६२ पछि राजनीतिमा उदाएका साधनस्रोत सम्पन्न समूहसमेत छन्। ती सबैसँग आफूहरूले पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको आचार्यको बुझाइ छ।
माओवादी द्वन्द्वको उद्गमस्थलका रूपमा परिचित रोल्पा जिल्लाबाट कांग्रेसको भ्रातृसंगठनमा क्रियाशिल भएर गणतन्त्रको वकालत गर्दै केन्द्रतह सम्म आइपुगका आचार्यलाई उमेर कति पुग्यो भन्ने प्रश्नले सधैं बिझाउँछ। उनी त्यस्तो प्रश्न सोध्नेलाई जवाफ दिन्छन्, ‘चालिस वर्ष टेक्नै लागेँ, अब त विद्यार्थी राजनीतिको ऊर्जा विस्तारै खिइदै गएछ।’ एकातिर भ्रातृसंस्थाको नेतृत्व विकास हुनबाट पार्टी नेतृत्वले हस्तक्षेप गर्ने, अर्कातर्फ पार्टी राजनीतिमा प्रवेश गर्न खोज्दा पुरानो नेतृत्वले आफ्नो स्थान सुरक्षित गर्न नयाँ पंक्ति र पुस्तालाई हार्दिकतासाथ स्वागत नगर्ने अवस्था रहेको उनको बुझाइ छ।
प्रतिबन्धित कालमा राजनीति गर्न जति खतरा थियो, अहिले खुला राजनीतिमा त्योभन्दा कठिन अवस्था महसूस गरेको उल्लेख गर्दै आचार्यले भने,–‘हिजो पार्टी राजनीतिमा निष्ठा, त्याग, समर्पणभाव र आत्मीयता थियो, अहिले त्यसको सट्टा नेता, नाता, भ्राता र दाताले बढी स्थान पाउँदा हामीजस्ता कार्यकर्तालाई बाँच्नै कठिन भयो।’ परिस्थितिको जटिलतासँगै समयको चाप राम्ररी बुझेका आचार्य अझै विद्यार्थी संगठनको अधिवेशन कुरौं या यसलाई चटक्कै बिर्सेर पार्टी राजनीतिमा लागौं भन्नेमा निर्णयमा पुग्न नसकेको बताउँछन्। ‘पार्टीको नयाँ विधानको स्वरुप, गाउँ र नगर तहकोे अधिवेशनपछि निर्णय गर्छु,’ उनले भने। त्यस्तै, एकीकृत विद्यार्थी संघको महामन्त्री भएका जीतजंग बस्नेत यसअघि दुईपटक जस्तै गृहजिल्ला ललितपुरबाट पार्टी अधिवेशनमा प्रतिनिधि बनेर आउने तयारीमा छन्। उनले अहिलेसम्म विद्यार्थी राजनीति छाडेर पार्टीको कुनै निकायमा संलग्न हुने वा नहुने निर्णय गरिसकेका छैनन्।
कांग्रेस राजनीतिको केन्द्रविन्दुका रूपमा परिचित मोरङबाट विद्यार्थी राजनीतिमा लागेका केदार कार्की उमेरले ४० काटिसकेको अवस्थामा अब विद्यार्थी राजनीतिको नेतृत्व लिने ऊर्जा सकिँदै गएको बताउँछन्। ‘लामो समय विद्यार्थी संघको अधिवेशन नभएपछि मेरो विद्यार्थी जीवनको ऊर्जा सकियो, अब नयाँ युवा पुस्तासँग वेभलेन्थ नमिल्ने हुँदा पार्टीको जिल्ला सभापतिको तयारीमा लागेको छु,’–कार्कीले विराटनगरबाट टेलिफोन सम्पर्कमा भने।
उता, ४३ वर्षको उमेरसम्म विद्यार्थी राजनीतिमा लागेका सल्यानका ऋषिकेषजंग शाह अब त्यो मैदान आफ्ना लागि उपयुक्त नभएको आत्मसात् गर्दै जिल्ला फर्केर गाउँ, क्षेत्र र जिल्ला राजनीतिमा केन्द्रित हुन थालिसकेका छन्। आगामी अधिवेशनमा पार्टीको जिल्ला सभापतिको उम्मेदवारी दिने तयारीमा रहेको बताउँदै शाहले भने, ‘अबको राजनीतिक जीवन पार्टी संगठन र जिल्लाभित्रै विकास निर्माण र सामाजिक गतिविधिमै केन्द्रित गर्छु।’
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हत्याएपछि राजधानीको पशुपति बहुमुखी क्याम्पस र रत्नपार्कमा विभिन्न ढंगले विरोध गरेर चर्चा कमाएका विद्यार्थी नेता कुन्दन काफ्लेदेखि रामेछापबाट काठमाडौंमा आएर विद्यार्थी राजनीतिमा लागेका रत्न कार्कीमा पनि विद्यार्थी राजनीतिप्रति मोह भंग हुँदै गएको छ। अधिवेशन मिति नजिकिँदै जाँदा काफ्ले दोलखा क्षेत्र नम्बर १ बाट र कार्की रामेछाप १ बाट महाधिवेशन प्रतिनिधि बनेर आउने तयारीमा केन्द्रित छन्। परिवर्तित राजनीतिक अवस्थामा संविधान र पार्टी विधानले व्यवस्था गरेको प्रावधान अनुसार विभिन्न जातजाति, वर्ग, सम्प्रदाय र लिंगका आधारमा प्रतिनिधि चयन गर्नुपर्ने अवस्थामा आफूहरूजस्तो विद्यार्थी राजनीतिबाट माथि उठ्दै गरेका व्यक्तिले प्रतिस्पर्धामा खरो उत्रनु चुनौतिपूर्ण रहेको कार्की बताउँछन्। ‘तैपनि सबै कुराले सम्पन्न र जिल्लामा स्थापित नेताहरूसँग प्रतिस्पर्धा गर्नुको विकल्प नभएकैले महाधिवेशन प्रतिनिधिकै तयारीमा लागेको हुँ,’–कार्कीले भने।
Post a Comment