0
पर्यटकीय नगरी पोखराको सराङ्कोटमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी कर्ण शाक्यले आफ्नो केजीएच ग्रुपअन्तर्गत १५ करोड रुपैयाँ लगानीमा ‘हिमालय फ्रण्ट रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् । २ वर्षअगाडि निर्माण शुरू भएको रिसोर्टले बुकिङ शुरू गरिसकेको छ । थ्री स्टारबराबरको सुविधा सहित सञ्चालनको तयारीमा रहेको रिसोर्टमा ४४ ओटा ‘सुपर डिलक्स रूम’ रहेको अपरेसन म्यानेजर अमृत बिसीले जानकारी दिए ।
५ रोपनी क्षेत्रफल जग्गामा निर्माण भएको रिसोर्ट ५ तलाको छ । रिसोर्टका प्रत्येक कोठाबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायत हिमालयको दृश्यावलोकन गर्न सकिन्छ । ‘कोठाबाटै पोखरा र आसपासको सुन्दर दृश्यहरूको अवलोकन गर्न सकिन्छ,’ उनले भने,–‘कोठाबाटै सूर्योदय र सूर्यास्तको दृश्य पनि स्पष्ट हेर्न सकिन्छ ।’ रिसोर्टमा स्विमिङ पुल, लाउञ्जबार, रेष्टुराँ बार तथा १ सय जना क्षमताको हलको पनि सुविधा छ । निःशुल्क वाइफाई तथा पर्याप्त पार्किङको सुविधा पनि रहेको बिसीले जानकारी दिए । ‘पर्यटकको सुविधालाई ध्यानमा राखेर लिफ्टको व्यवस्था पनि गरेका छौं,’ उनले भने । रिसोर्टका प्रत्येक कोठामा दुईओटा (टुइन) बेडको व्यवस्था छ । ‘टेलिभिजन, मिनीफ्रिज र इलेक्टिकल क्याटलको सुविधा पनि उपलब्ध हुन्छ,’ बिसीले भने,–‘पर्यटकलाई पूर्ण सन्तुष्ट बनाउने गरी पारिवारिक वातावरणमा सेवा प्रदान गर्छौं ।’ पाहुना बस्न रिसोर्टका सम्पूर्ण रुमहरू तयार बनिसकेको बिसीले जानकारी दिए । ‘निर्माणको सम्पूर्ण काम सकिएको छ,’ उनले भने,–‘सरसफाई र अन्य फिनिसिङको काम बाँकी छ । त्यो पनि छिट्टै सकिन्छ ।’
यूरोपेली, जापानी, चिनियाँ पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गर्न लागे पनि स्वदेशी तथा अन्य देशका पर्यटक पनि पर्याप्त आउने लगानीकर्ताको विश्वास छ । रिसोर्ट सञ्चालनमा आउन लागेको पहिलो चरणमा ३ महिनाका लागि विशेष छूट प्रदान गरिने बिसीले जानकारी दिए । ३ महिनाका लागि घोेषणा गरिएको ‘प्रमोशनल रेट’ अनुसार एउटा कोठाको स्वदेशीले ४ हजार ५ सय रुपैयाँ र विदेशीले ७ हजार ५ सय रुपैयाँ तिनुपर्नेछ । ३ महिनापछि स्वदेशीले ८ हजार ५ सय र विदेशीले २० हजार रुपैयाँ ९२ सय डलर० तिर्नुपर्ने बिसीले जानकारी दिए । ‘यो शुल्कमा वाइफाई, ब्रेकफाष्ट तथा विमानस्थल र बसपार्कसम्म आउने जाने सुविधा समावेश छ,’ उनले भने । रिसोर्ट पोखराको विन्ध्यवासिनीबाट सराङ्कोट जाने बाटोतर्फ दुई किलोमिटर दूरीमा पर्छ ।
कर्ण शाक्य समूहले सञ्चालन गरेका रिसोर्टको देशव्यापी सञ्जाल भएकाले पनि पर्यटक अपेक्षाअनुसार ल्याउन सकिने लगानीकर्ताको विश्वास छ । सोही समूहले पोखरामा वाटर फ्रण्ट रिसोर्ट सञ्चालन गरेको छ । समूहले काठमाडौंमा काठमाडौं गेष्ट हाउस, बूढानीलकण्ठमा पार्क भिलेज एण्ड स्पा, लुम्बिनीमा बुद्धमाया गार्डेन, सौराहामा मारुती सेञ्चुरी, नगरकोटमा भिजन इनलगायत रिसोर्ट सञ्चालन गरिरहेको छ । एक ठाउँबाट अर्को ठाउँको रिसोर्टमा बस्ने गरी जाने पर्यटकलाई निःशुल्क यातायात सुविधा प्रदान गरिने बिसीले जानकारी दिए । ‘हाम्रो स्वागत, सत्कार तथा सेवा, सुविधाबाट पर्यटकलाई पूर्ण सन्तुष्ट बनाउँछौं,’ बिसीले भने,–‘पर्यटक आकर्षणका लागि हस्पिटालिटीलाई नै हामी प्राथमिकता दिन्छौं ।’
नयाँ रिसोर्ट सञ्चालनमा आएको स्थान सराङ्कोट प्याराग्लाइडिङका लागि प्रशिद्ध छ । सूर्योदय, सूर्यास्त र दृश्यावलोकनका लागि पनि पोखरा आउने प्रायः पर्यटक सराङकोट पुग्छन् । पर्यटकको प्रमुख रोजाइमै पर्ने भएकाले सराङ्कोटमा पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रमा लगानी बढ्ने क्रम जारी छ ।
स्रोत ः आर्थिक अभियान दैनिक










Post a Comment

 
Top