0
गोल्डेन न्यूज संवाददाता
विग एफएमले आफ्ना स्रोताहरुका लागि थप सुविधा विस्तार गरेको छ । ईन्टरनेट पुस्ताका स्रोताहरुलाई लक्षित गर्दै उसले पश्चिमाञ्चल क्षेत्रमै पहिलो पटक ‘मोबाईल एप्लिकेसन’ तयार पारेको छ । ‘मोबाईल एप्लिकेसन’ मा पनि स्रोताहरुले देश विदेशमा एफएम प्रत्यक्ष सुन्न सक्नेछन् । ईन्टरनेट र मोबाईलमार्फत विग एफएम सुन्ने स्रोताहरु दिनप्रतिदिन बढ्दै गएपछि उनीहरुलाई सजिलोका लागि एफएमले ‘एप्स’ तयार पारेको एफएमका अध्यक्ष महेश भण्डारीले बताए । ‘प्रविधिको विकाससँगै एफएमको स्तरोन्नती गर्ने क्रममा हामी ‘एप्स’ सिस्टममा गएका हौँ ।’ अध्यक्ष भण्डारीले भने–‘यसले एफएमलाई विश्वव्यापी बनाउन सघाउनेमा हामी विश्वस्त छौँ ।’ पश्चिमाञ्चल क्षेत्रमा एउटा एफएमले यसरी मोबाईल एप्लिकेसन सार्वजनिक गरेको पहिलो पटक भएको उनले दाबी गरे । पहिलो चरणमा ‘गुगल एप्लिेकशन सेन्टर’मा मात्र विग एफएमको यो एप्लिेकसन प्राप्त हुनेछ । एन्ड्रोईड मोबाईल प्रयोगकर्ताहरुले ‘गुगल एप्स’मा गएर ‘विग एफएम १०१.२’ सर्च गरेर यसलाई डाउनलोड गर्न सक्नेछन् । अहिलेलाई एप्पल मोबाईल प्रयोगकर्ताहरुका लागि यो ‘एप्स’ प्राप्त हुनेछैन । एप्पल मोबाईल प्रयोगकर्ताहरुका लागि पनि ‘एप्स’ निर्माण भैरहेको र चाँडै त्यसलाई पनि सार्वजनिक गरिने एफएमले जनाएको छ ।
मोबाईलमा यो एप्स डाउनलोड गरेपछि विग एफएमले अपलोड गर्ने सम्पूर्ण समाचार, भिडियो र अन्य सामाग्रीहरु प्रयोगकर्ताहरुले सहजै प्राप्त गर्नेछन् । विग एफएमले अपलोड गर्ने सामाग्रीहरु एउटै ‘क्लिक’मा प्रयोगकर्ताहरुले व्यवस्थित रुपमा पाउने एफएमले जनाएको छ । 
विग एफएमले यो भन्दा अगाडि पनि ईन्टरनेट तथा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताहरुको लागि एफएम सुन्ने व्यवस्था गरेको थियो । यद्यपि यो अहिले अझै बढि परिस्कृत रुपमा तयार भएको ‘मोबाईल एप्स’ भएको एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । विग एफएमले छैठौँ विग आईकन संचालन गरिरहेको छ । विग आईकन सुन्न चाहने स्रोताहरुका लागि पनि यो मोबाईल एप्लिेकसनले थप सुविधा प्रदान गर्ने एफएमले जनाएको छ ।















Post a Comment

 
Top