0
सङ्खुवासभा धुपू–५ भोगटेनीमा जन्मेकी चन्द्रा चाम्लिङ नेपाली वाङ्मयको क्षेत्रमा मधुरो उज्यालो छर्दै अगाडि बढिरहेकी छन्। वि.सं. २०४४ वैशाख ११ गतेका दिनमा शेरबहादुर र पवित्रा राईको कोखबाट यस धरतीमा पाइला टेकेकी चाम्लिङ विभिन्न सङ्घसंस्थामा आवद्ध रहेर साहित्यिक र सामाजिक कार्यहरू गर्दै आइरहेकी छन्। चाम्लिङ विश्व नेपाली साहित्य महासङ्घ, किरात राई चाम्लिङ खाम्बातीम काठमाडौं, किरात उत्थान समाज शरणमती झापा, मेची साहित्यिक मञ्च, साङ्केन इन्टरटेन्मेन्ट काठमाडौंलगायतका संस्थामा आवद्ध छन्। स्नातक तहसम्मको अध्ययन गरेकी चाम्लिङले विश्वव्यापी अनलाइन देशभक्ति गीत लेखन प्रतियोगितामा (२०६९) सान्त्वना एवम् खुला कविता प्रतियोगितामा (२०७०) तृतीय पुरस्कार प्राप्त गरिसकेकी छन्। यसरी साधनामा लागेकी चाम्लिङ पछिल्ला दिनमा गजलको क्षेत्रमा आफ्नो चार्मिङ बढाउन कम्मर कसेर लागिरहेकी छन्।
सुनेको कुरा हो, स्याल पनि वैँशमा घोर्ले हुन्छ। चन्द्राका गजलहरू अहिले घोर्ले बनेका छन्। सोही कारण हुनुपर्छ पहिलो कृति भए पनि प्रेमको तस्बिरका पानाहरू पल्टाउन थालेपछि सबै पानाले तानिरहन्छन्। जसको कारण चन्द्रा आफ्नो गजलको चार्मिन यसरी बढाउछिन्,
छर्नै परे जून झैँ शीतल छर्छ चन्द्रा चाम्लिङ
तर्नै परे मनको जँघार तर्छ चन्द्रा चाम्लिङ
बगाउँदै पसिना जिउँछ आफ्नै शान बोकी
मर्नैै परे देशको लागि मर्छ चन्द्रा चाम्लिङ
आफै आफै रमाउँछ सुन्दर यो प्रकृतिमा
झर्नै परे झरना जस्तै झर्छ चन्द्रा चाम्लिङ
समय र परिस्थिति चले नियमै बिना
सर्नै परे अन्त बसाइँ सर्छ चन्द्रा चाम्लिङ
बाध्यतामा सकिन्न हो एक्लै जिउन पनि
भर्नै परे खाली सिउँदो भर्छ चन्द्रा चाम्लिङ (पृ. ६७) ।
प्रस्तुत गजलबाट आकलन गर्न सकिन्छ, चाम्लिङ देशले माग्छ भने बलिदानका लागि पछाडि हट्दिनन्। भलै उनले भोलि समुन्नत राष्ट्र निर्माणमा एउटा मात्रै इट्टा थप्न सकुन या नसकुन् तर उनको यो हुँकार चानचुने छैन। आफ्नो जीवन, राष्ट्र, परिस्थिति र खाली सिउँदोसँगका यावद सन्दर्भलाई उनले गजलका शेरमा अभिव्यक्त गर्नु नै महान उपलब्धि हो भन्ने लाग्छ। 
केही समय पहिला चितवनकी कवि सामना पहाडको कविता कृति पढेपछि मैले भनेको थिए, ‘सामना ! तिमीले आफ्ना गुनासालाई सुरक्षित निकास दिएकी छौ, यहाँसम्मको तिम्रो यात्रा सफल छ। उग्र त्यति वेला मात्र बन्नु, जति वेला तिम्रा सबै बाटाहरू बन्द हुनेछन्।’ वर्तमानमा चाम्लिङको प्रस्तुत गजल कृति अध्ययन गर्दा यही वाक्यको याद आएको छ। यसको एउटै कारण चन्द्राको गजल मोह र गजलको बजारमा उनले छाडेको चार्मिङ नै हो। उत्कृष्ट साजसज्जा, गुणस्तरिय छपाई, बधाँई र कागजको प्रयोगले १५० मूल्य कृतिको गुणस्तर सुहाउँदो देखिन्छ। विभिन्न स्रष्टा साधकका शुभेच्छासहित अग्र, मध्य र अन्तिम गरी ८० पृष्ठमा फैलिएको उनको प्रेमको तस्बिर कृतिमा छ वटा सवालजवाफसहितका गजल समावेश रहेका छन्। चाम्लिङका गजलमा राम रेप्चोङ, आङ्देम्बे राज सहयात्री, बी.जे. विद्रोही, इन्द्र नाराथुङ्गेलगायतले सवालजवाफ दिएर सहयोग गरेका छन्। यसरी गजलका शेर–शेरबीच सवालजवाफ गरेर गजल लेखनलाई नयाँ रसास्वादन गराउन सफल चाम्लिङको प्रस्तुत कृतिभित्र ६० थान गजलहरू समावेश छन्। किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमिति कोटेश्वर काठमाडौंले २०७२ मा पहिलो पटक एक हजारप्रति प्रकाशन गरेको कृतिको छ महिनामै दोस्रो संस्करण बजारमा निस्कनु चाम्लिङका गजलमा रहेका गुणको चार्मिङ नै हो। गजलमा वर्षौ साधना गरेर बडो मुस्किलले निकालेका अधिकांश गजल कृतिका पछिल्ला संस्करण निस्केको खबर बिरलै पाइन्छ तर चन्द्राका गजलले २०७२ सालको भूकम्प र त्यसले ल्याएका पराकम्पनले जसरी तमाम जनधनलाई त्राहित्राहि बनायो त्यसै गरेर नेपाली वाङ्मयको क्षेत्रमा गजल विधाको माध्यमबाट आफ्नो हस्तक्षेपकारी भूमिका खेल्न सफल भएको छ। सोहीकारण चाम्लिङको कृतिको दोस्रो संस्करण निस्कन सफल भएको अनुमान गर्न सकिन्छ। हेरौ यस्ती आगो गललकारले आम गजल पारखीका लागि पस्केको अर्को एक गजल ः
समालेर राख्नुपर्छ यो देशको माटोलाई
अमृतसरि चाख्नुपर्छ यो देशको माटोलाई
एक जुट हौं नेपालको सम्पूर्ण ए जनता हो 
शान्ति समृद्धि पार्नुपर्छ यो देशको फाटोलाई
लड्नैपर्छ सबले आ(आफ्नो पहिचान खातिर
समावेशी बनाउनु छ यो देशको पाटोलाई
जोगाउनु कर्तव्य हो हाम्रो पुर्खाको निसानी
राखौं स्वच्छ वातावरण यो देशको बाटोलाई (पृ.१७)।
चाम्लिङको प्रेमको तस्बिर हात पर्ने बित्तिकै सबैलाई लाग्न सक्छ, यो जवानी चढेकी नवयौवनाको प्रेमको विरह थुपारिएको कृति होला...। तर कृति भित्रका गजलले त्यो कल्पनालाई मिथ्या सावित गरिदिएका छन्। प्रस्तुत कृतिमा चाम्लिङले देखाएको प्रेम विपरित लिङ्गीप्रतिको प्रेम मात्रै होइन। उनले आफ्नो राष्ट्र, राष्ट्रियता, आम नेपाल र नेपालीको स्वाभिमानलाई प्रेम गरेकी छन्। त्यही प्रेमको तस्बिर नै उनको कृतिको नाम हो। पुस्तक पढेपछि आम पाठकलाई त्यही अनुभूत भएको हुनुपर्छ। यसको अर्थ उनले प्रणयपरक प्रेमलाई स्थान दिएकी छैनन् भन्न खोजेको होइन। जवानीमा प्रेमको विरहले को नरोला र ? प्रणयपरक प्रेममा पनि उनी बहेकी छन्। हेरौं कसरी बहेकी छन् उनकै गजलमा,
प्रियतमको यादमा आँखा चिसाएँ
कैयौपल्ट द्यौतासँग बिन्ती बिसाएँ
चोट धेरै खाइसकेँ यो जीवनमा
धैर्यताको जाँतोमा यो ज्यानै पिसाएँ
लगाइसकेँ कसी मैले साँचो प्रेममा
तिम्रो लागि दुःखमा नि खुसी मिसाएँ
जहाँ पुगेँ म आफ्नो लामो यात्रामा
कैले खुसी भएँ त म कैले रिसाएँ (पृ.५६)।
सरल स्वभाव, सालिन र मृदुभाषीपनकी चाम्लिङका गजल जति प्रेमील छन्। उनको व्यवहार पनि त्यस्तै छ। यो उनीसँगको सङ्गतमा पर्नेलाई थाहा भएकै कुरा हो, उनले प्रेमीसँग प्रेममा परेर रिसाउन सिके भन्दै गजल लेखे पनि अन्य स्रष्टा साधकसँग कहिल्यै रिसाएको पाइदैन। यो उनलाई सफल गजलकार बनाउने गुण हो। कृतिको नामको सन्दर्भमा उनी प्रेममा विरही बनेर राखिएको होइन। सुरुवाती चरणका प्रेमील गजल समावेश भएकाले प्रेमका बिम्बहरू राखौं या प्रेमको तस्बिर भन्नेबारे अग्रजसँग सल्लाह गर्दा प्रेमको तस्बिर नामाङ्करण गरिएको बताउने चाम्लिङका ६० थान गजलमा सरल भाषाशैलीको प्रयोग पाइन्छ। पूर्ण काफिया प्रयोग गरिएका उनका अधिकांश गजल गेयात्मक भएकाले केही गजलमा निकट भविष्यमा सङ्गीत भर्न सकिने देखिन्छ। चार शेरदेखि छ शेरसम्मका उनका गजलमा आञ्चलिकताको प्रभाव पनि पाइन्छ। उनले कृति भित्रका पृष्ठ ६८ र ७० का दुई गजललाई आफ्नो चाम्लिङ भाषामा अनुवाद गरेर मातृभाषाको संरक्षण पनि गरेकी छन्। चाम्लिङको पहिलो कृति भएकाले केही दोष हुनसक्छन् र छन्। केही वाक्य गठनमा त्रुटिहरू छन्, यो भाषिकागत भेदको पनि समस्या हो। उनी साधनामै रहेकाले अहिल्यै उनको लेखनलाई दोष लगाउन आवश्यक देखिदैन। जीवन आसै आसाको तान्द्रो हो, आशा गरौं उनी आफैँले कालान्तरमा आफ्ना कृतिमा रहेका कमीकमजोरी औल्याउने छन् र आफ्नो कलमलाई बेजोड बनाउने छन्। उनको कृतिका बारेमा के भन्न सकिन्छ भने, बजारमा पुस्तकको खोल व्यापार गर्नेहरूले गर्ने अनुमान चाम्लिङको प्रस्तुत कृतिको खोलबाट हुन सक्दैन। यसका पानापाना पल्टाउनै पर्छ। उनले ब्रह्माण्डमा रहेका हरेक वस्तु र व्यक्तिप्रति अपार प्रेम अभिव्यक्त गरेकी छन्। ती सबै उनका प्रेमी बनेका छन् त्यसैले आफ्ना प्रेमीहरू सधै आँखामा बस्ने भएकाले म मेरा आँखाहरूलाई गाजलले श्रङ्गार गर्दिनँ, किनभने गाजल लगाउँदा गाजलले आफैँ भित्र लुकाइदिन्छ कि भन्ने डर लाग्छ भन्ने भाव आफ्ना गजलमा व्यक्त गरेकी छन्। यस्तो सुन्दर भावनाकी धनी चाम्लिङको वाङ्मयिक यात्रामा बढ्दै गएको चार्मिङले एकदिन उनलाई नामुद गजल स्रष्टाका रुपमा उभ्याउन सकोस् र कालन्तरसम्म उनको साधना यत्तिकै बेजोड रहोस्। 
अन्तमा चन्द्रा ! तिमी इमान्दार बनेर हिँडन आवश्यक छ। इमान्दार भएर हिँडदा कुनै त्यस्तो बनिबनाऊ उज्यालो क्षेत्र नमिल्न सक्छ। किनभने सफलताको बाटोमा कयौं बाधा, अप्ठेरा र खतराहरू भइराख्छन्। ती सबैको सामना गर्न, असल चरित्र र कडा मेहेनतको जरुरत पर्दछ। तिम्रो लेखनको बारेमा आलोचकहरूबाट निरुत्साहित हुने विचार अभिव्यक्त हुन सक्छन् त्यसका लागि तिमीले असल चरित्रको निर्माण गर, मेरो यहीँ शुभकामना !










Post a Comment

 
Top