0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको मिति आउन ५३ दिन बाँकी छ । आगामी चारवर्षे कार्यकालका लागि नीति र नेतृत्व परिवर्तन गर्ने महाधिवेशनको पूर्वसन्ध्यामा नेताले पार्टीको नीतिभन्दा नेतृत्वमा नै ध्यान केन्द्रित गरेको कार्यकर्ता नै बताउँछन् । नेताको देश–दौडाहा हेर्दा पनि त्यस्तै देखिन्छ । अहिलेका शीर्ष नेता, अधिकांश पदाधिकारी र केही केन्द्रीय सदस्य समेतले पार्टीको नेतृत्वमा दाबी गर्दै सार्वजनिक रूपमा नै सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार बसेको केन्द्रीय समितिले निर्वाचन निर्देशिका पारित गरेपछि औपचारिक रूपमा सुरु भएको १३औँ महाधिवेशनबाट चारवर्षे कार्यकालमा सभापति बन्नका लागि वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले आफू इच्छुक रहेको सार्वजनिक रूपमा नै मुख फोरेका छन् । तर, नेतृत्वका लागि मुख फोरेका सबैले सभापतिमा उम्मेदवारी नदिने निश्चित छ । कांग्रेसमा अन्य पदमा वार्गेनिङका लागि सभापतिमा उम्मेदवारी घोषणा गर्ने परम्परा पुरानै हो ।
१ सुशील कोइराला ः १२औँ महाधिवेशनमा एकपटकका लागि भन्दै पार्टीका नेता कार्यकर्तासँग मत मागेर सभापतिमा निर्वाचित भएका कोइरालाले १३औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पुनः सभापतिको आकांक्षा देखाएका छन् । आफ्ना आकांक्षा उनले सार्वजनिक रूपमा नै व्यक्त गरिसकेका छन् । शनिबार राजधानीमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्ने व्यक्ति १३औँ महाधिवेशनबाट नेतृत्वमा आउनुपर्ने भन्दै आफ्नो आकांक्षा घुमाउरो रूपमा प्रस्तुत गरे । केही दिनअघि पोखरा आएर पार्टीको कार्यक्रममा साथीहरुको चाहना आफूलाई पुनः सभापति बनाउने भएकाले त्यसबाट आफूपछि हट्न नसक्ने बताएका थिए । कांग्रेस स्थापनादेखि अहिलेसम्म नेतृत्वमा हालिमुहाली गरेको कोइराला परिवारको वंशावलीलाई कांग्रेसमा निरन्तरता दिन पनि पुनः सभापतिमा सुशीलले नै उम्मेदवारी दिनुपर्ने तर्क गर्दै संस्थापन पक्षको एउटा गुट लागिरहेकाले उनले आफ्नो इच्छा नहुँदानहुँदै पनि उम्मेदवारी दिनुपर्ने अवस्था आउने देखिन्छ । उनी फेरि पोखरा आउँदैछन् । पोखरामा के भन्ने हुन् त्यो हेर्न बाँकी छ ।
२. शेरबहादुर देउवा ः पार्टी फुटाएर नयाँ पार्टी निर्माण गरी पुनः एकीकरण गरेका नेता देउवा १२औँ महाधिवेशनमा सभापतिमा सुशीलसँग पराजित भएका थिए । १३औँ महाधिवेशनमा पनि सभापतिमा आफ्नो उम्मेदवारी दाबी गर्दै प्रचार–प्रसारका लागि देश दौडाहामा लागेका छन् । राजधानीको नयाँ बानेश्वरमा
(कृष्णप्रसाद भट्टराई कांग्रेस सभापति हुँदाको पार्टी कार्यालय) मा सम्पर्क कार्यालय खोलेर कार्यकर्ता भेटघाट पनि तीव्र बनाएका छन् । १३औँ महाधिवेशनमा तपाईंको दाबेदारी के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भन्ने गरेका छन्, ‘म पार्टीमा अहिले पनि दोस्रो पोजिसनमा छु । दोस्रो पोजिसनमा भएको व्यक्तिको आकांक्षा पहिलो पोजिसनमा जाने वा नेतृत्व गर्ने हुन्छ । मेरो दाबेदारी त्यसैमा रहन्छ ।’
३. रामचन्द्र पौडेल ः उपसभापति पौडेलले आफ्नो गृहजिल्ला तनहुँमा गएर गत महिना नै १३औँ महाधिवेशनमा आफ्नो दाबीदारी सभापतिमा रहने घोषणा गरेका थिए । त्यसलाई जिल्ला–जिल्लामा सार्वजनिक भाषणमा दोहर्याइरहेका छन् । उनले पनि अनामनगरमा सम्पर्क कार्यालय खोलेर कार्यकर्तालाई भेट्दै आफूलाई एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गर्ने गरेका छन् । पार्टीमा कार्यकर्ताको संरक्षण गर्न नसक्ने नेताका रूपमा परिचित तर सैद्धान्तिक विषयमा राम्रो दख्खल राख्ने नेता पौडेलको भनाइ र गराइमा एकरूपता नदेखिने भएकाले धेरैले उनको सभापतिमा उम्मेदवारी घोषणामै सीमित हुने हो कि भन्ने आशंका व्यक्त गर्न थालिसकेका छन् ।
४. प्रकाशमान सिंह ः १२औँ महाधिवेशनका निर्वाचित महामन्त्री सिंहले आफ्नो उम्मेदवारी कन्डिसनल रूपमा सभापतिमा रहने बताएका छन् । उनको यो भनाइलाई धेरैले अन्य पदको बार्गेनिङका रूपमा पनि अथ्र्याएका छन् । स्रोतका अनुसार उनको बार्गेनिङ कि उपसभापति बनाउने निश्चित गर्नुपर्यो, नभए पुनः महामन्त्रीका लागि टिकट दिनुपर्यो भन्ने छ । यसो नगरे आफूले सभापतिमा उम्मेदवारी दिने धम्की कोइरालालाई उनले धम्की दिइरहेको स्रोत बताउँछ । ०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहका सुपुत्र प्रकाशले सार्वजनिक रूपमा पनि कार्यकर्ताले चाहेमा सभापतिमा उम्मेदवारी दिन पनि आफूपछि नपर्ने बताउँदै आएका छन् । धेरैले उनको यो भनाइ अन्य पद सुरक्षित गर्ने वार्गेनिङ रहेको रूपमा बुझेका छन् ।
५.कृष्णप्रसाद सिटौला ः १२औँ महाधिवेशनमा खुला तर्फका २५ केन्द्रीय सदस्यमध्ये १५औँ नम्बरमा चुनाव जिती मनोनित महामन्त्री बनेका सिटौलाले कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यकता रहेको बताउँदै आएका छन् । नयाँ पुस्ता पार्टीको नेतृत्वमा पुग्नुपर्ने बताउँदै सिटौलाले आफू पनि पार्टी नेतृत्वका लागि योग्य रहेको धारणा राखेका छन् । राजनीतिक तिकडममा माहिर सिटौलाको भित्री इच्छा भने निर्वाचित महामन्त्री बन्ने हो । त्यो नभए उपसभापति र त्यो पनि नभए संसदीय दलको नेृता बन्दै प्रधानमन्त्रीको उम्मेदवार बन्ने रहेको निकटस्थ बताउँछन् ।
६ डा. रामशरण महत ः भर्खरै मात्रै सफल अर्थमन्त्रीका रूपमा अन्तर्राष्ट्रिय अवार्ड पाएका केन्द्रीय सदस्य महतले शुक्रबार मात्रै विराटनगरमा सञ्चारकर्मीसँग आफू सभापतिका लागि योग्य उम्मेदवार भएको बताएका थिए । पार्टीको सहमहामन्त्री रहेर काम गरिसकेका डा. महत नेपाललमा सबैभन्दा धेरैपटक अर्थमन्त्री बन्ने नेता पनि हुन् । विपक्षीमाथि खरो टिप्पणी गर्न सक्ने नेता महतको पनि पदाधिकारीका लागि पदाधिकारीका लागि वार्गेनिङ स्वरुप सभापतिमा उम्मेदवारी दिने घोषणा आएको निकटस्थले बताउने गरेका छन् ।
७. अजुर्ननरसिंह केसी ः पञ्चायती पृष्ठभूमिबाट कांग्रेसमा छिरेका केसीलाई गिरिजाप्रसाद कोइरालाले सहमहामन्त्री बनाएर प्रवक्ताको जिम्मेवारी दिएका थिए, ११औँ महाधिवेशनपछि । १२औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका केसीले सभापतिमा दाबेदारी प्रस्तुत गर्दैै महामन्त्री पद सुरक्षित गर्ने ध्याउन्नमा छन् । दुई गुट रहेको कांग्रेसमा संस्थापनको निकट रहेका केसी अर्को गुटमा गएर भए पनि महामन्त्री बन्नका लागि दौडधुप गरिरहेका छन् । दुवै पक्षबाट महामन्त्रीमा टिकट नपाएमा सभापतिमा उम्मेदवार बन्ने उनको तर्क र रणनीति रहेको छ ।
८. सुजाता कोइराला ः गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता बाबुको आशीर्वादबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेकी हुन् । अहिले केन्द्रीय सदस्य रहेकी कोइराला पार्टीको परराष्ट्र विभाग प्रमुख पनि हुन् । उनले कांग्रेसमा गिरिजाप्रसादको विरासत कायम राख्नका लागि आफू सभापतिमा उम्मेदवारी दिने बताउँदै आएकी छन् । त्यति मात्र होइन, उनले वर्तमान सभापति सुशील कोइराला उम्मेदवार नहुने अवस्थामा मात्रै आफ्नो दाबेदारी सभापतिमा हुने समेत बताएर पदका लागि वार्गेनिङ गरेको भन्ने पुष्टि पनि आफैँ गरेकी छन् । सकभर महामन्त्री नभए उपसभापति बन्नुपर्छ भन्ने उनको दाउ रहेको कांग्रेसीहरू बताउँछन् ।
अब विवाद मिल्यो ः नेपाली काँग्रेसमा समस्याका रुपमा देखिएको क्रियाशील सदस्यता विवाद काँग्रेस पदाधिकारी बैठकले समाधान गरेको छ । सभापति सुशील कोइराला निवास महाराजगन्जमा बसेको पदाधिकारी बैठकले विभिन्न जिल्लाका नेता कार्यकर्ताले क्रियाशील सदस्यताका सम्बन्धमा आआफ्ना माग राखेको अनशनलाई सम्बोधन गर्ने गरी सो निर्णय गरेको हो । बैठकले कैलाली, सोलुखुम्बु र रौतहट क्षेत्र नं ४ का नयाँ सबै क्रियाशील सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ, यद्यपि त्यस्ता सदस्यले हाललाई मतदान अधिकारबाहेक सबै सुविधा पाउने छन् । ती जिल्ला र क्षेत्रमा १२औँ महाधिवेशनमा कायम क्रियाशील सदस्यताले मात्र १३औँ महाधिवेशनमा भाग लिन पाउने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताए ।
डोल्पाका सभापति सभापति टङ्कप्रसाद उपाध्यायले राखेको मागका सम्बन्धमा भने बैठकले हाललाई १०० नयाँ क्रियाशील सदस्यता मात्र सदर गर्ने र बाँकीलाई हाललाई बदर गर्ने निर्णय गरिएको बताइएको छ । विवाद समाधानका लागि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा यसअघि पार्टीले गठन गरेको समितिका सदस्य रामकृष्ण यादवले असहमति जनाएका जिल्ला र क्षेत्रका विवादित क्रियाशील सदस्यताका सम्बन्धमा बैठकमा बोल्ने अधिकांश पदाधिकारीले सबै नयाँ सदस्यता कि सदर कि बदर हुनुपर्ने धारणा राखेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आआफ्ना माग राखी विभिन्न जिल्लाका नेता कार्यकर्ताले अनशन सुरु गरेका छन् । काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १८ दिनदेखि आमरण अनशन बसेका छन् ।
यसैगरी काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै १६ दिनदेखि रिले अनशन बसेका छन् । त्यस्तै रौतहटका केन्द्रीय सदस्य मो अफ्ताफ आलम रौतहट पार्टी सभापति कृष्ण यादवले रौतहटको निर्वाचन क्षेत्र नं ४ का क्षेत्रीय सभापतिलाई जानकारी नगराई क्रियाशील बाँडेको भन्दै १५ दिनदेखि रिले अनशनमा छन् । केसी र आलमले अनशन थालेको केही दिनपछि सोलुखुम्बु र रौतहटका पार्टी सभापतिले आफूले केन्द्रलाई बुझाएको सदस्यतालाई नै आधिकारिता दिनुपर्ने भन्दै रिले अनशन थालेका थिए ।
त्यस्तै कैलाली काँग्रेसमा आफ्ना पक्षका नयाँ क्रियाशील सदस्यता नियतवश सदर नगरिएको भन्दै संस्थापन पक्षका नेताहरुले यही पुस २३ गतेदेखि रिले अनशन सुरु गरेका थिए । त्यसको केही दिनपछि नै कैलाली काँग्रेस कार्यालयमा शेरबहादुर देउवा पक्षका भनिने नेता कार्यकर्ताले त्यस विपरीत माग गर्दै अनशन सुरु गरेका छन् ।काँग्रेस पदाधिकारीको यो निर्णयसँगै सबैखाले अनशन समाप्त हुने पार्टी कार्यालयले जनाएको छ ।














Post a Comment

 
Top