0
गोल्डेन न्यूज संवाददाता
 सरकारले सञ्चालन गरेको नयाँ संविधानको देशब्यापी प्रचार अभियान कास्कीमा सम्पन्न भएको छ । जिल्ला विकास समिति कास्की र पोखरा उपमहानगरपालिकाको सहयोगमा कास्कीमा सोमवार प्रचार अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा उपप्रधान, संघीय मामिला, स्थानीय विकास एवं परराष्ट्र मन्त्री कमल थापाले मधेशवादी दलको माग सम्बोधनको प्रयास भैरहेकाले आन्दोलनलाई अनावश्यक नतन्काउन आग्रह गरे । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका थापाले मधेश केन्द्रित दलहरुले उठाएका माग संबोधनका लागि सरकारमा रहेका सबै राजनीतिक दल र प्रमुख प्रतिपक्ष दल समेत सकारात्मक रहेकाले आन्दोलन अनावश्यक तन्काउनुपर्ने आवश्यकता नरहेको बताए । थापाले मधेश केन्द्रित दलको कतिपय मागहरु सम्बोधन भैसकेको, कतिपय संविधान संशोधनमार्फत सम्बोधन गर्ने र कतिपय मागलाई आगामी दिनमा सहमतिको आधारमा सम्बोधन गर्न सकिने भएकाले आन्दोलनको औचित्य नरहेको बताए । आन्दोलन अनावश्यक रुपमा तन्काउदा अतिवादी, राष्ट्रलाई विखण्डन गर्न चाहने शक्तिलाई फाईदा पुग्ने भन्दै उनले संवैधानिक बाटोबाट राष्ट्र निर्माणको अभियानमा लाग्न आग्रह गरे । संविधानमा असन्तुष्टी देखिनु स्वभाविक भन्दै उनले समयानुकुल परिमार्जन गर्न सकिने भएकाले प्रजातन्त्रमा विश्वास गर्नेहरुले संघर्षमा जान नपर्ने बताए । सबैको साझ दस्तावेजको रुपमा नयाँ संविधान जारी भएकाले जुनसुकै किसिमको परिवर्तन चाहनेले पनि अब जंगलमा जानु नपर्ने र बन्दुक बोक्न नपर्ने उनले स्पष्ट पारे । संविधान आफैमा सतप्रतिशत पूर्ण नभएपनि संशोधनको बाटो खुल्ला रहेकाले सोहि अनुसार अघि बढ्न उनले आन्दोलनरत दलहरुलाई आग्रह गरे ।

उनले संविधानको संरक्षण गर्ने र यो संविधानलाई समयानुकुल परिवर्तन गर्दै जाने नेपाली जनताको काँधमा आएको बताए । उनले भने–‘संविधान आफैमा शत प्रतिशत पूर्ण छ भनेर कसैले दावी गर्न सक्दैन ।  संसारको कुनै पनि संविधान शतप्रतिशत हुदैन ।’ संविधान समयानुकुल परिवर्तन र संशोधन हुदै जान सक्ने र संविधानसभाबाट संविधान जारी गर्ने प्रयास आफैमा कठिन कुरा भएपनि नेपालीले त्यो अभ्यास सफल पारेको उनले बताए । विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व र विभिन्न ३१ राजनीतिक दलहरुको प्रतिनिधित्वमा संविधान जारी गर्न सफल भएको थापाले स्पष्ट पारे ।  उनले भने–‘संविधान जारी गर्नु सजिलो थिएन । संविधानमा राजतन्त्र चाहिन्छ भन्ने पनि थिए । जनवादी राष्ट्र हुनुपर्छ भन्ने पनि थिए । हिन्दूराज्य चाहिन्छ चाहिदैन भन्ने पनि थिए । संघीयता चाहिन्छ, चाहिंदैन भन्ने सबै थिए तर यो संविधान जुन बनेको छ यो सम्झौताको दस्तावेज हो ।’ संविधानले सबै अलग–अलग मान्यता बोकेकाहरुलाई साझा धरातल दिएको उनले उपप्रम थापाले स्पष्ट पारे । संविधानप्रति असन्तुष्ट हुनेलाई पनि एक ठाउँमा उभिन सकने व्यवस्था संविधानले गरेको उनले दावी गरे । संविधानमा ४ महत्वपूर्ण पक्ष रहेको भन्दै उनले पूर्ण वैचारिक स्वतन्त्रता, कुनैपनि पार्टी प्रतिवन्धित नहुने व्यवस्था, आवधिक निर्वाचन र संविधान संशोधन गर्न सक्ने सरल व्यवस्था रहेको स्पष्ट पारे। अर्को प्रसङ्गमा उपप्रम थापाले आफू चीन भ्रमणमा जाँदा रेलमार्गको बारेमा भएको भन्दै विकासका विषयमा धेरै गहन छलफल भएको समेत उनले बताए ।

कार्यक्रममा संसदको विकास समितिका सभापति समेत रहेका सांसद रविन्द्र अधिकारीले नयाँ संविधान विश्वकै उत्कृष्ट र नमूनायोग्य भएकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । संविधान प्रगतिशिल नभएपनि मधेशका माग संबोधन गरेकाले विगतको भन्दा यो संविधान राम्रो भएको उनले दावी गरे । संघीयतामा जाँदा प्रादेशिक मौलिकताको आधारमा लैजानुपर्नेमा जोड दिंदै अधिकारीले भने–‘संघीय गणतन्त्रात्मक लोकतान्त्रिक संविधान हाम्रो संविधान, हामी सबैको संविधान हो त्यसैले सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ ।’ संविधान कार्यान्वयनमा केहि चुनौती छन्, केहि कानुन बनाउनुपर्ने छ । कानुन नबनेसम्म संक्रमणकालिन कानून बनाएर अगाडि बढ्नुपर्छ ।’ प्रत्येक नेपालीले नागरिकता पाउनुपर्ने तर विदेशमा बस्नेलाई नागरिकता बनाउन नहुनेमा उनले जोड दिए । 
सांसद सीता गिरी ओलीले संविधान जारी संगै ७० वर्ष देखिको चाहना पुरा भएको बताइन । ‘यो संविधानले विविध विशेषता बोकेको छ । नेपाली जनताले भोगेका विविध विभेदलाई अन्त्य गरेको छ । हिमाल पहाड र तराइलाई एकै ठाउँमा राख्ने प्रयत्न गरेको छ ।’ सुन्दर नेपाल निर्माण गर्ने योजना संविधानले निर्माण गरेकाले भन्दै उनले लोकतान्त्रिक विधिबाट बनेको संविधानको कार्यान्वयन गर्ने सबैको दायित्व भएको बताइन । संविधानले महिला, जनजाति, दलित, सबैका समस्यालाई समाधान गर्ने दावी गर्दै ओलीले आरोप–प्रत्यारोपमा लाग्नु भन्दा मिलेर संविधानले कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन । संसद एवं नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले संविधान कार्यान्वयनको लागि अग्रसर हुनुपर्ने खाचो औंल्याए । उनले जनताका प्रतिनिधिले बनाएको संविधान भएकाले लोकतान्त्रिक छ कि छैन भने मुख्य रुपमा बहस चलाउनुपर्ने मा जोड दिए । 

सांसद सारदा पौडेलले सबै फूल मिलेर बनेको माला बने जस्तै  एकता र सहकार्यले संविधान आएको बताइन । उनले अब पनि एकता र सहकार्यबाट नै संविधानको कार्यान्वयन गर्नुपर्ने खाँचो औंल्याइन । कार्यक्रममा एमाओवादी कास्की अध्यक्ष दिपक कोइराला, नेपाल बार एशोसिएशन कास्कीका अध्यक्ष सोम बहादुर श्रेष्ठ, साहित्यकार मन क्षेत्री, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारी, गायक धनबहादुर गायक लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा नयाँ संविधानको अन्तरवस्तु समेटिएको डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । संबिधानबारे फैलिएको भ्रम चिर्न र अन्तर्वस्तुको जानकारी गराउने लक्ष्य सहित सरकारले सुरु गरेको देशब्यापी संबिधान प्रचार अभियान आगामी माग २० गतेसम्म चल्नेछ । सरकारले ‘नेपालको संविधान जनताको संविधान, जनताको संबिधान जनताकै माझमा’ भन्ने नारा सहित देशभर संविधान प्रचार अभियान सञ्चालन गरिरहेको छ ।





Post a Comment

 
Top