0
गोल्डेन न्यूज संवाददाता
फुटबल प्रतियोगिताको प्रायोजन रकम उठाउने विषयमा कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) का पदाधिकारीबीच चर्कदै गएको विवाद सल्टाउन अर्को साता साधारणसभा हुने भएको छ । गतवर्ष सम्पन्न मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको चौथो संस्करणका प्रयोजकसँग लिनुपर्ने रकम हिनामिना भएको भन्दै पदाधिकारी बीच विवाद बढेको हो । अध्यक्ष धर्मबहादुर लामिछाने र उपाध्यक्ष मिलन गुरुङबीच चर्केको विवाद सल्टाउन सोमबार साधारणसभा गर्ने निर्णय भएको छ । प्रतियोगिताको चौंथो संस्करणमा प्रयोजित ब्यानरको पैसा संकलनमा अध्यक्ष लामिछाने र उपाध्यक्ष गुरुङबीच विवाद चर्किदा एकले अर्काेलाई आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए। त्यही विवाद सल्टाउन केही दिनअघि सल्लाहकार सहितको वैठक बसेको थियो ।

अध्यक्षले उपाध्यक्ष र उपाध्यक्षले अध्यक्षलाई आर्थिक हिनामिना गरेको आरोप लगाए । हामीले त्यही विवाद सल्टाउन साधारणसभा गर्न दबाब दियौं,’ वैठकमा सहभागी एक सल्लाहकारले भने,–‘हिसाब पारदर्शी हुनुपर्छ भन्नेमा सबैको जोड थियो। त्यसपछि साधारणसभा बोलाएर हिसाब सार्वजनिक गर्ने निर्णय भएको छ ।’ बैठकले एक साताभित्र प्रायोजन रकम उठाउने निर्णय गरेको छ । विवाद चर्किदै जाँदा उपाध्यक्ष गुरुङलाई निलम्वन गर्नेबारे पदाधिकारीबीच छलफल भएको थियो । तर, अहिलेसम्म आधिकारिक निर्णय नभएको सहभागी सल्लाहकारले बताए । संघका अनुसार अहिलेसम्म प्रतियोगिताका करिब चारलाख रुपैयाँ उठेको छैन । त्यही रकम कसले उठाउने भन्ने विषयमा विवाद भएको थियो । अध्यक्ष र उपाध्यक्षले एकले अर्कोलाई पैसा उठाएर नबुझाएको आरोप लगाउँदै आएको नागरिक दैनिकले उल्लेख गरेको छ । उपाध्यक्ष मिलन गुरुङले हिसाब पारदर्शी हुनुपर्छ भन्ने विषयमा छलफल भएको मात्र बताए । आगामी साधारणसभा मार्फत आम्दानी सार्वजनिक गर्नेबारे निर्णय भएको उनले बताए । आफूलाई कसैले कार्वाही गर्न नसक्ने उनले दावी गरे । ‘म काम गर्ने मान्छे हुँ । मलाई कसैले कार्वाही गर्न सक्दैन’ उनले भने,‘मैले केही गल्ती गरेको छैन । उठेको रकम बुझाएको छु । अनावश्यक आरोप लगाउन मिल्दैन ।’ अध्यक्षले उठाउने जिम्मा पाएको धेरै रकम नउठेको र त्यही रकम उठाउन भन्दा सामान्य मनमुटाव भएको उनले बताए । एन्फा अध्यक्ष लामिछानेले पनि आम्दानी पारदर्शी गराउन छलफलमात्र भएको दावी गरे । ‘नउठेको पैसा गोजीबाट हाल्न सकिन्न। कसैले उठाएको छैन भने तिर्नुपर्दैन,’ उनले भने,–‘तर, उठेको पैसा इमान्दारीसाथ बुझाउनुपर्छ। फुटबललाई जोगाउन हामी सबै मिल्नुपर्छ । विवाद केही छैन । भएको सामान्य मनमुटाव सल्टिएको छ ।’ 

करिब एक वर्षअघि कार्यवाहक अध्यक्ष बनेका लामिछाने नेतृत्वको समितिलाई बैधानिकता पाउन अधिवेशन गर्न जरुरी रहेको र एकसाताभित्र अधिवेशन समेत सम्पन्न गर्नेबारे निर्णय भएको छ । ’कार्यवाहक अध्यक्ष सम्हालेको ६ महिनाभित्र अधिवेशन गरेर वैधानिकता पाउनुपर्ने हो । तर, एक वर्ष वितिसक्दा पनि आधिकारीकता पाएको छैन,’ सल्लाहकार मदन कसीले भने,–‘अवको अधिवेशनले नयाँ नेतृत्व चयन गरेर २ वर्षलाई कार्यभार सुम्पने र त्यही समितिले आगामि प्रतियोगिता पनि गर्ने निर्णय भएको छ ।’ कार्यसमिति बीचको विवाद बढ्दै जाँदा प्रतियोगिताको पाँचौं संस्करकरण बारे अझै टुंगो लागेको छैन ।

Post a Comment

 
Top