0
गोल्डेन न्यूज संवाददाता
कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिका प्रत्यासी को हुने भन्नेमा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच बढेको टकराव विस्तारै सतहमा आउन थालेको छ । अनौपचारिक तहमा सभापतिको घोषणा गरी देश दौडाहामा लागेका पौडेललाई रोक्न कोइराला अघि बढेका छन् । भोलिका लागि विराटनगरमा पौडेल नेतृत्वको नीती प्रतिष्ठानले कार्यक्रम तय गरेकै दिन कोइरालाले केन्द्रिय समिति बैठक बोलाएका भए पनि  बैठक सारिएको छ ।
पौडेल नेतृत्वमा रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले १० दिनअघि शुक्रबारका लागि विराटनगरमा संविधानका विशेषताका बारेमा पार्टी कार्यकर्ताहरुलाई जानकारी दिन प्रशिक्षण कार्यक्रम राखेको थियो । प्रदेश नम्बर १ का पार्टी अगुवा कार्यकर्तालाई संविधान सम्बन्धी जानकारी दिने पार्टीको कार्यक्रम अन्तर्गत प्रशिक्षण राखिएको हो ।
यो कार्यक्रमलाई असफल बनाउन शुक्रबार नै कोइरालाले केन्द्रिय समितिको बैठक राखेपछि दुई नेताबीचको टकराव प्रष्टै देखिएको हो । कोइरालालाई नै प्रमुख अतिथि बन्ने निम्तो दिइएको र एक दर्जन केन्द्रिय सदस्यले टिकट काटिसकेपछि बैठक जुधाइएको थियो । तर, पार्टीका थुप्रै नेताले यसमा असन्तुष्टि प्रकट गरेपछि २४ गते बोलाइएको केन्द्रिय समिति २६ गतेलाई सारिएको छ । धनगढीमा भएको प्रशिक्षणमा पनि कोइराला सहभागी भएका थिएनन् । विराटनगर प्रशिक्षणको प्रमुख अतिथि बनिदिन पौडेलले कोइरालाई मौखिक रुपमा जानकरी गराएका थिए भने एक साताअघि पौडेल पुत्र चिन्तनले कोइरालालाई निवासमै पुगेर औपचारिक पत्र पनि दिएका थिए ।
अधिवेशनको मुखमा आयोजना भएकाले कार्यक्रममा सहभागी हुन एक दर्जन बढी केन्द्रीय सदस्यले जहाजको टिकट लिइसकेका छन् । प्रशिक्षण भनिए पनि पौडेलको चुनावी अभियानसँग जोडिएको भन्दै असन्तुष्ट बनेका कोइरालाले सोही दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएर असफल बनाउने रणनीति लिएको पौडेल पक्षको बुझाइ थियो । स्रोतका अनुसार कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले कार्यक्रम रोक्न पौडेललाई आग्रहसमेत गरेका थिए । पार्टीको महाधिवेशनका लागि निर्वाचन निर्दे्शिका तत्काल अनुमोदन गरेर जानु पर्ने भएकाले २४ गते बैठक बोलाईएको बताउदै कार्यक्रम रोक्न प्रतिष्ठानका पदाधिकारीहरुसँग आग्रह गरेको बताइएको छ । तर, प्रतिष्ठानले कार्यक्रम नरोक्ने भनेपछि कतिपय केन्द्रीय सदस्य जाने कि नजाने दोधारमा परेका बेला केन्द्रिय समिति नै सारिएको हो । ‘कार्यक्रममा जाँदा यो त पौडेलको मान्छे रहेछ भनेर भनिदिने डर भएको थियो,’ कोइराला निकट अर्का एक केन्द्रीय सदस्यले भने, ‘दुई नेताको टकरावमा हामी पो चेपुवामा पर्न थालेका छौं ।’  आफूसंँग सल्लाह नै नगरी उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेको भन्दै कोइराला पौडेलसँग चिढिएका हुन । कोइरालाले संस्थापन पक्षका नेताहरुसँग परामर्श नगरी प्रचारमा नजान पौडेललाई बारम्बार आग्रह समेत गरेका थिए । तर, त्यस विपरित पौडेलले आफू नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठान मार्फत आफ्नो अभियान देशव्यापी थालेपछि दुई नेताबीचको सम्वन्ध पनि चिसिदै जान थालेको हो ।
भित्रि रुपमा कोइराला १३ औं महाधिवेशनमा आफंै उम्मेदवार बन्ने बुझेपछि पौडेलले उनलाई दबाब दिन अभियान थालेका हुन । पौडेलले गत शनिबार कोइरालाप्रति लक्षित गर्दै व्यक्तिलाई हेरेर आफ्नो उम्मेदवारीबाट पछि नहट्ने बताएका थिए ।









Post a Comment

 
Top