0
पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले योजनाको छनोट गर्दा आयआर्जनका योजनालाई पनि प्राथमिकता दिनुपर्ने बताएकी छन्।  बेनी नगरपालिकाको तेस्रो नगरपरिषद्बाट पारित भएका बजेट, नीति, योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहको बेनीमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। अहिले योजना छनोट गर्दा सडक, बाटो, भवन लगायतका पूर्वाधार निर्माणमा मात्रै प्राथमिकता दिएर बजेट विनियोजन हुने गरेको बताउँदै उहाँले कृषकको आयआर्जनमा समेत टेवा पुग्ने गरी योजना समावेश गर्न आग्रह गरिन् । राज्यमन्त्री पुनले सरकारले प्रवाह गर्ने सुविधालाई वास्तविक किसानसामु पु¥याउन सकेमा मात्रै पशुपालन र कृषि क्षेत्रको विकासले गति लिने धारणासमेत राखिन् । कृषि, पशुपालन लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकेमा मात्रै अर्थतन्त्र बलियो बन्ने राज्यमन्त्री पुनको भनाइ थियो । 
उनले परिषद्ले पारित गरेको योजनाको प्रभावकारी कार्यान्वयन गरी बजेट फ्रिज हुने समस्यालाई रोक्नका लागि जिल्लास्थित विकास साझेदार निकाय र राजनीतिक नेतृत्व चनाखो बन्नुपर्नेसमेत बताइन । ‘‘ग्रामीण भेगलाई केन्द्रित गरी योजना छनोट गर्नुपर्छ, योजना सम्पन्न भएपछि जनताले पाउने सुविधा र समाजमा ल्याउने परिवर्तन महत्वपूर्ण हो, हरेक क्षेत्रको गुरुयोजना बनाएर अगाडि बढेमा मात्रै दिगो विकास सम्भव छ”, राज्यमन्त्री पुनले भनिन् । 
बेनी नगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय नवराज शर्मा र रेशमबहादुर बानियाँले विकास निर्माणका योजनाको कार्यान्वयनका लागि जवाफदेही बन्नुपर्नेमा जोड दिएका थिए । रासस 




















Post a Comment

 
Top