0
गोल्डेन न्यूज संवाददाता
व्यवस्थापिका संसदमा प्रमुख सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदमा जुहारी चलेको छ । संसद्को विहीवार बसेको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रमुख दुई दलका सांसद्बीच जुहारी चलेको हो । छलफलमा भाग लिने क्रममा रोष्टममा पुगेका काँग्रेसका सांसद् आनन्दप्रसाद ढुंगानाले भूकम्प प्रभावितको दयनीय अवस्था र चार महिना लामो मधेस आन्दोलनलाई उपेक्षा गरेर सरकार आफ्नो आयु बढाउने खेलमा लागेको आरोप लगाए । उनले आन्दोलनरत मधेसवादी दलहरुको भावनालाई समेटेर संविधान संशोधन गरिनुपर्ने बताए। उनले अहिलेको संशोधन विधेयकबाट मात्र मधेसी जनताको माग सम्बोधन नहुने बताए। लगत्तै रोष्टममा पुगेका एमाले सांसद् राजेन्द्र पाण्डेले आफू नेतृत्वको सरकारले तयार पारेको संविधान संशोधन विधेयक अगाडि नबढाएको विरोधमा संसद् नै अवरोध गरेको पार्टीका सांसद्ले अहिले आएर विधेयकबाट मधेस आन्दोलन सम्बोधन हुँदैन भन्नु राजनीतिक बेइमानी भएको बताए।
बैठकमा सत्तारुढ एकीकृत माओवादीका सांसद् अमनलाल मोदीले संविधान कार्यान्वयनका लागि दर्जनौं नयाँ कानून बनाउनुपर्ने अवस्थामा प्रमुख दलहरु आपसमा आरोप प्रत्यारोपमा उत्रिनु तथा मधेसवादी दलहरुले अवरोधलाई निरन्तरता दिनु निकै दुःखद् भएको बताए। उनले संशोधन विधेयकले समानुपातिक÷समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणको माग सम्बोधन गर्ने भए पनि सीमांकनको मुद्दा जस्ताको तस्तै रहेको भन्दै सीमांकन हेरफेरका लागि पनि दलहरु तयार हुनुपर्ने बताए। प्रमुख दलका सांसद्हरुले संशोधन विधेयकमाथि आआफ्नो धारणा राखिरहँदा मधेसवादी दलका सांसद्हरुले बेलमा उभिएर नाराबाजी गरेका थिए । नाराबाजीकाबीच  विहीवार ३२ जना सांसद्ले विधेयकका बारेमा बोलेका छन् । सभामुख ओनसरी घर्तीले मधेशवादी दलहरुलाई मनाउनका लागि विधेयकमाथिको छलफल लम्ब्याएकी छन् । सांसद्हरुले बोल्ने क्रम नसकिएको भन्दै संसद् बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। यसैबीच माओवादी अध्यक्ष प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार साँझ काठमाडौंको बानेश्वरमा भेटवार्ता भएको छ। साँझ ५ बजेबाट १ घन्टासम्म भएको भेटमा सहमति कायम गरी संविधान संशोधन गर्ने र मधेशी मोर्चाका आन्दोलनका कार्यक्रम फिर्ता गर्ने विषयमा छलफल भएको छ। ‘छलफल गम्भीर र सकारात्मक भएको थियो। अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्रीसँग थप छलफल गरी पुनः तमलोपा अध्यक्षसँग छलफल गर्ने हुनुभएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।





Post a Comment

 
Top