0
गोल्डेन न्यूज संवाददाता
क्रियाशील सदस्यता छानबिन गर्न बनेको केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको समितिले सभापति सुशिल कोइरालालाई प्रतिवेदन बुझाएपछि नेपाली कांग्रेसको १३औँ महाधिवेशन अब औपचारिक रूपमा अघि बढेको छ । पार्टी केन्द्रीय समितिले गरेको निर्णयअनुसार छानबिन समितिले तयार पारेको सदस्यताको प्रतिवेदनलाई सभापति कोइरालाले जस्ताको तस्तै स्वीकृत गरेर निर्वाचन समितिलाई बुझाएपछि निर्वाचन समितिसँगको सहकार्यमा केन्द्रीय कार्यालयले जिल्ला समितिमार्फत इकाई समितिसम्म पुर्याउने छ । त्यसपछि अधिवेशन सुरु हुनेछन् । गाउँ नगर अधिवेशन १५ माघ, क्षेत्रीय अधिवेशन २२ माघ, जिल्ला अधिवेशन २५ माघ र महाधिवेशन २० देखि २३ फागुनसम्म गर्ने कार्यतालिका कांग्रेसले तय गरिसकेको छ । 

अहिलेको महाधिवेशन शीर्ष भनिएका तीन नेता नै पार्टीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दैै प्रचारमा हिँडेकाले रोमाञ्चक हुने देखिन्छ । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल त आफ्नो नेतृत्वमा दाबी रहने घोषणा गर्दै प्रचार–प्रसारका लागि जिल्ला दौडाहामा निस्किसकेका छन् । सभापति सुशिल कोइराला आफूले खुलेर सभापतिको उम्मेदवार बन्ने नबताए पनि दोस्रो तहका नेतामार्फत कार्यकर्तासम्म आफ्नो सन्देश पुर्याइरहेका छन् । ‘नेपाली राजनीतिमा निष्ठा र इमानदारिता का पर्याय सभापति सुशिल कोइरालालाई १३औँ महाधिवेशनमा पुनः सभापतिमा विजयी गराऔँ,’ नेविसंघ नुवाकोटका नेता जयराम दाहालले आफ्नो फेसबुक स्टाटसमा मंगलबार पोस्ट गरेका छन् । विगतका महाधिवेशनमा भन्दा अहिलेको महाधिवेशनमा प्रतिस्पर्धा कडा हुने देखिएको छ । नेताहरूले सभापतिमा जित्नका लागि आफूले छुट्टाछुट्टै रणनीति अख्तियार गर्ने रणनीति बनाएका छन् ।

सुशिलको रणनीति ः १३औँ महाधिवेशनबाट पनि कांग्रेसको नेतृत्व कोइराला परिवारमै राखिराख्ने चुनौती सुशिलमाथि छ । १२औँ महाधिवेशनमा एकपटकका लागि भनेर सभापतिका लागि मत मागेका सुशिलले अब कसरी पुनः सभापतिमा मत माग्ने भन्ने रणनीति बनाउनका लागि आफू निकटस्थ नेताहरूसँग छलफल गरिरहेको महाराजगन्ज स्रोत बताउँछ । कांग्रेस कार्यकर्तामाझ सानो कोटरीमा रमाउने नेताका रूपमा परिचित सुशिलले अहिले उनी निकट तर कार्यकर्तामाझ अलोकप्रिय रहेका नेताहरू आनन्द ढुंगाना, दिलेन्द्र बडू र दिलबहादुर घर्तीसँग कसरी नेतृत्व हत्याउने भन्ने रणनीति बनाउन व्यस्त रहेको बताइन्छ । सभापतिमा उम्मेदवारी घोषणा गर्दा सुशिलले आफ्नो घोषणाविपरीत पुनः उम्मेदवारी दिनुको औचित्य पुष्टि गर्ने तयारी गरिरहेका हुन् । आफ्नो नेतृत्वमा सफलतापूर्वक नयाँ संविधान जारी गरेको, प्रधानमन्त्रीमा उम्मेदवारी दिँदा तराई मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संसदमा आई नेपालको संविधानलाई स्वीकार गरेको, आफू सभापति भएका बेला भएको दोस्रो संविधानसभा चुनावमा कांग्रेस पहिलो पार्टी भएकाले आफू पुनः एकपटक सभापति भएर कांग्रेसलाई अझ सशक्त बनाउन सहयोग गर्न कार्यकर्तालाई आग्रह गर्ने तयारी उनको कोटरीको छ । कोइरालाको नेतृत्व सफल भएकै कारण जिल्ला तहबाट पुनः सभापतिका लागि चर्काे दबाब आएकाले पनि पुनः सभापतिमा उम्मेदवारी दिनुपर्ने लबिङ मृदुला कोइराला, अतुल कोइराला र मोहन आचार्यले सुशिललाई भेट्न आउनेसँग गरिरहेका छन् । त्यसको साथै, कोइराला निकट नेताहरू बडू, घर्ती, ढुंगाना, डा. मीनेन्द्र रिजाललगायतले सुशिलको पक्षमा देशभरको स्थिति कस्तो छ भनेर अध्ययन गरिरहेका छन् । साथै, सभापतिको उम्मेदवारी घोषणा गर्दै देश दौडाहामा लागेका उपसभापति पौडेललाई प्रधानमन्त्रीको प्रतिबद्धता जनाएर या पार्टीको विधानमा नै संशोधन गरेर एक वरिष्ठ उपसभापति पद सिर्जना गरी चित्त बुझाउन सकिने बुझाइ कोइराला क्याम्पको छरु।
तर, सुशिललाई आफ्नो गुटका नेताहरूलाई चित्त बुझाउने गरी पद बाँडफाँड गर्न गाह्रो परेकाले महाधिवेशनअघि नै पदाधिकारी बढाउन चाहन्छन् । पदाधिकारी बढाउन विधानअनुरूप दुईतिहाइ आवश्यक पर्ने भएकाले आफूले गरेको प्रस्ताव असफल भएमा बेइज्जत हुने डरले मुख खोल्न भने सकेका छैनन् । सभापतिका प्रत्याशी देउवाले सुशिलको पदाधिकारी थप्ने रणनीतिलाई रोक्नु नै आफ्नो जितको आधार देखेकाले पनि पदाधिकारी विस्तार त्यति सजिलो छैन । संस्थापनबाट प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, सुजाता कोइराला, सशांक कोइराला, शेखर कोइराला, महेश आचार्य, नरहरि आचार्य अर्जुननरसिंह केसी पदाधिकारीका आकांक्षी रहेका तर, पद थोरै भएकाले सुशिल अप्ठेरोमा परेका छन् ।

शेरबहादुर देउवा ः १२औँ महाधिवेशनमा सुशिलसँग सभापतिमा, पहिलो संविधान सभामा रामचन्द्र पौडेलसँग र दोस्रो संविधानसभामा सुशिल कोइराला सँगै संसदीय दलको नेतामा पराजित देउवा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरी सभापतिमा निर्वा्चित हुने गरी आक्रामक रूपमा लागिरहेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै देश दौडाहालाई पनि तीव्रता दिएका छन् । उनले सुशिलको गुटका नेतालाई लोभलालच देखाई तानेर आफू सभापतिमा निर्वाचित हुने रणनीति बनाएका छन् । त्यसका लागि संस्थापनको पदाधिकारी थप्ने प्रस्तावलाई सफल हुन नदिने उनको पहिलो एजेन्डा छ । त्यसबाहेक भ्रष्टाचारी ठहर भई जेल परेर छुटेपछि हिन्दू राष्ट्रको नारा लिएर पार्टीमा गुट चलाइरहेका खुमबहादुर खड्का पार्टीमा आफ्नो स्थान सुरक्षित गर्ने प्रयासमा छन् । कार्यकर्तामाझ लोकप्रिय रहेका नेता खड्काले देउवासँग आफूलाई उपसभापति पद दिने सुनिश्चित गर्न बार्गेनिङ गरिरहेको स्रोत बताउँछन् । देउवा निकट स्रोत भन्छ, ‘शेरबहादुरलाई अहिले सबैभन्दा समस्या भनेको खुमबहादुरको व्यवस्थापन हो । त्यसका लागि रणनीति बनाउन अहिले उनी व्यस्त छन् ।’ देउवाले खुमबहादुरलाई पहिले केन्द्रीय सदस्यमा चुनाव लड्ने, पछि सम्मानजनक पदमा मनोनीत गर्ने आश्वासन दिएको बताइन्छ ।

देउवातिर स्थान सुरक्षित नहुने भएमा रामचन्द्रलाई अगाडि सारेर तेस्रो धार जन्माउने प्रयासमा खड्का रहेकाले देउवालाई उनको व्यवस्थापन टाउको दुखाई बनेको छ । त्यसबाहेक संस्थापन पक्षभित्र देखिएको पदाधिकारी बन्ने नेताहरूको रस्साकस्सीको फाइदा लिने रणनीतिमा पनि देउवा छन् । संस्थापन पक्षका असन्तुष्टहरूलाई ठाउ“ दिएर आफ्नो स्थिति सुदृढ बनाउने नै उनको मुख्य रणनीति भएको स्रोतको भनाइ छ । पहिलो प्राथमिकता पौडेलसग समझदारी खोज्ने, त्यसका लागि पार्टीमा आफू र सरकारमा पौडेललाई सहयोग गर्ने गरी समझदारी बनाउन उनी र उनका विश्वासपात्र लागिरहेका छन् ।

देउवा पक्षबाट विमलेन्द्र निधि, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव उपसभापति र महामन्त्रीका आकांक्षी छन् । तर, उनीहरू देउवा सभापति बन्ने कष्टमा आफूहरू पद त्याग्न तयार रहेको बताइरहेकाले देउवालाई अहिलेकै अवस्थामा पनि अलि सहज छ । देउवाले जित्नका लागि संस्थापनबाट नेता तान्न पदाधिकारीका आकांक्षी नेताले ग्रिनसिंग्नल दिएका छन् । पदाधिकारीका आकांक्षीलाई कोइराला पक्षले चित्त बुझाउन नसके जो–कोही देउवा समूहमा पुग्न सक्ने सम्भावना उत्तिकै छ ।

रामचन्द्र पौडेल ः कांग्रेसमा सबैभन्दा बढी निष्ठाको राजनीति गरेका उपसभापति रामचन्द्र पौडेल पनि सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्दै देशव्यापी रुपमा प्रचार–प्रसारमा दौडिरहेका छन् । कार्यकर्तालाई आफ्नो साथ लिन नसक्ने नेताको छवि बनाएका पौडेलले सुशिल र शेरबहादुरसँग चिढिएका नेताहरूलाई साथमा लिएर अघि बढ्ने मुख्य रणनीति बनाएका छन् । पौडेलले खुमबहादुर खड्का गुटलाई साथमा लिएर सभापति लड्ने भरमग्दुर प्रयास गरिरहेका छन् । सभापतिको भिडन्तमा कुनै पनि उम्मेदवारलाई बहुमत नपुग्ने र दोस्रो चरणमा चुनाव हुने अवस्था बनाउन सके जित हुने पौडेलको रणनीति छ । त्यसका लागि डा. शेखर कोइराला, पूर्णबहादुर खड्कासहितलाई ल्याएर उपसभापतिको बार्गे्निङ गरिरहेका खुमबहादुरसँग पछिल्लो समय बाक्लै बैठक गरिरहेको उनका सहयोगी बताउँछन् । त्योबाहेक उनले आफूलाई सपोर्ट हुने तरिकाले माहोल बनाउन महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, नविन्द्रराज जोशी, कमला पन्तलाई खटाइरहेका छन् ।

यता कोइरालाले छाडेर पौडेल सभापति बन्ने पनि चर्चा चलिरहेको छ । कोइरालाकै विश्वास जितेर संस्थापन पक्षबाट पौडेल सभापतिका प्रत्याशी बने पनि महामन्त्रीद्वय सिंह र सिटौलाका साथै महत, केसी मात्र होइन, कोइराला परिवारका शेखर, सुजाता र सशांकलाई पनि पदाधिकारीमा अटाउनु भने त्यति सजिलो छैन ।
‘मैले धेरै बोल्नैपर्दैन, कांग्रेस नेतृत्व असफल भयो भन्ने हामी सबैलाई थाहा छ,’ उपसभापति पौडेलले आशन्न १३औँ महाधिवेशनको सन्दर्भमा बोल्दै सभापति सुशिल कोइरालाको आलोचना गरेका थिए । यसले सुशिलको कोटरी उनीसँग रिसाएको समेत बताइन्छ । प्रजातान्त्रिक इन्जिनियर्स एशोसिएशनको कार्यक्रममा उपसभापति पौडेल भन्दै थिए, ‘अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ । म पनि पार्टीमा लामो समयदेखि योगदान दिइरहेको छु । साथीहरू के भन्नुहुन्छ ?’



Post a Comment

 
Top