0
गोल्डेन न्यूज संवाददाता
नेपालको लागि अमेरिकी राजदूत अलेना बी टेप्लिट्सले दलहरुले आफ्नो अडानबाट केही पछाडि हटेर वर्तमानमा जारी गतिरोधको समाधान निकाल्नेमा आफू आशावादी रहेको बताएकी छन् । पोखरा भ्रमणमा रहेकी उनले सोमबार पोखराका निजी क्षेत्रका प्रतिनिधिहरुसँगको भेटघाट तथा छलफलको क्रममा नेपालमा देखिएको समस्या समाधानका निम्ति अमेरिकाले सबै पक्षसँग कुराकानी गरेको जानकारी समेत दिइन ।
नेपालमा नयाँ संविधान जारी हुनुलाई अमेरिकाले कोषेढुङ्गाको रुपमा हेरेको उल्लेख गर्दै राजदूत टेप्लिट्सले संविधान कार्यान्वयन र संशोधनपछि सबैको इच्छा एवं आकांक्षा समेटिनेमा आफू आशावादी रहेको बताए । अहिले देखिएको समस्याले संविधानको कार्यान्वयनमा र मुख्यरुपमा नेपालको सम्वृद्धिमा असर पु¥याएको उनको धारणा थियो । अहिले देखिएको समस्याको जड प्रदेशहरुको सीमाङ्कन नै भएको भन्दैै उनले यो विषय भने जटिल र बहुआयामिक रहेको बताइन । “जसरी केक काट्दा तह–तह देखिन्छ, सीमाङ्कनको विषय पनि त्यस्तै छ”,उनले भनिन्–“सीमाङ्कनले पार्ने दीर्घकालीन असरलाई समाधान गर्नु नै अहिलेको आवश्यकता हो ।” नेपालमा जारी राजनीतिक समस्या समाधान नभएसम्म लगानी मैत्री वातावरण निर्माण नहुने बताउँदै उनले जलविद्युतको विकासले नेपालको कायापलट हुन सक्ने बताइन । यद्यपि जल विद्युतको विकासको लागि नेपालको भारतसँगको सम्बन्ध सुमुधर हुनुपर्नेमा उनले जोड दिइन । 
‘मैले भारतको भाषा बोलेको हैन तर चुनौति भुगोलको हो”,उनले भने,–“हुन त चीनले पनि जलविद्युतको क्षेत्रमा काम गर्ला तर भारतसँग बिग्रेको सद्भाव यस्तै रह्यो भने समस्या हुन्छ ।” उनको संकेत नेपालमा उत्पादित विद्युतको बजारिकरणप्रति लक्षित थियो । आफ्नो कार्यकालमा जलविद्युतको विकासमा केही गर्न सके त्यो आफ्नो पनि उपलब्धी हुने उनको भनाइ थियो । उनले अमेरिकी सरकार मातहतमा रहेको एमसिसी नामक परियोजनामार्फत नेपालको उर्जा र यातायात क्षेत्रको विकासमा सहयोग गरेको प्रसङ्ग झिक्दै उनले परियोजनामार्फत नियमनकारी काम भइरहेको स्पष्ट पारिन् । अमेरिकाले आफ्ना देशका नागरिकहरुको लागि जारी गरेको ‘ट्राभल एडभाइजरी”मा नेपाल असुरक्षित भनिएकोबारेको जिज्ञासामा उनले भनिन्–“मेरो पहिलो चासो अमेरिकी नागरिकको सुरक्षाको हो तर हामीले जारी गरेको भाषामा सावधानी भने अपनाएका छौँ अनि यसलाई पुनरावलोकन पनि गर्नेछौँ ।”
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेपालको जलविद्युत, पर्यटन र कृषिको व्यवसायिकरणको लागि अमेरिकी लगानीको अपेक्षा राखे । सीमा क्षेत्रमा भएको आन्दोलन र त्यसको आडमा भारतले लगाएको नाकाबन्दीले नेपालीलाई आत्मनिर्भरताको पाठ सिकाएको बताउँदै उनले भने–“ यो अवस्थामा हामी नेपालमा अमेरिकी लगानी आओस् भन्ने चाहन्छौँ ।” सीमा क्षेत्रमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले नेपाललाई परेको समस्या समाधानको लागि अमेरिकी सहयोगको अपेक्षा उनले गरे ।
होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले सशस्त्र द्वन्दको बेलामा समेत पर्यटकहरु सुरक्षित रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न राजदूत समक्ष आग्रह गरे । मधेशमा जारी आन्दोलन र भारतीय नाकाबन्दीको समस्या समाधानका लागि अमेरिकाले आफ्नो तर्फबाट सकारात्मक भूमिका निभाओस् भन्ने उनको भनाइ थियो । व्यवसायीहरुसँगको भेटको सुरुमा नै पोखरामा ६० प्रतिशतले पर्यटक घटेको हो भन्ने जिज्ञासा राखेकी राजदूत टेप्लिट्सलाई पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पहारीले अमेरिकाले आफ्नो ट्राभल एडभाइजरीमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न आग्रह गरेका थिए । महिला उद्यमी तथा पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य हीरा भट्टराईले अमेरिकी लगानी भित्र्याउने वातावरण निर्माणको लागि राजदूत समक्ष आग्रह गरिन् ।

Post a Comment

 
Top