0
चित्रेभञ्ज्याङको नाम लिने वित्तिकै पछिल्लो पुस्तामा सबैभन्दा पहिला सम्झिनै पर्ने एउटा नाम हो रिमबाबु राना। वि.सं. २०३५ को जेठ ७ गते स्याङ्जाको चित्रेभञ्ज्याङ्मा जन्मेका रानाले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन्। वि.सं. २०५७ देखि शिक्षण पेशामा लागेका राना हाल त्यही पेशामा आवद्ध छन्। साँझ बिहान उनी आफ्नो घर गोठ र खेतवारीसँग मितेरी साइनो लगाउछन्। दिनमा रिमबाबु जस्तै सुन्दर मन बोकेका कलिला भाइबहिनीलाई यथार्थमा बाँचेर आदर्शको जीवन जिउँदै भोलिका होनाहार राष्टूसवेक बन्ने पाठ सिकाउँछन्। सोही कारण हुनुपर्छ कहिलेकहीँ दुरसञ्चारको माध्यममा गफिदा उनी कहिले घर गोठमा हुन्छन्, कहिले भाइबहिनी गोठमा। कहिले खेतबारीमा घाँस दाउरा गरिरहेका हुन्छन्। यो उनको दैनिकी हो भन्दा अन्यथा हुँदैन। उनी जुन गोठमा रहे पनि एक सांस्कृतिक अभियन्ता हुन, अन्वेषक। यसमा दुई मत राख्नु पर्दैन।
 
रानासँगको मितेरी साइनो साहित्यिक र सांस्कृतिक हो। यो गर्वका साथ भन्न सक्छ पङ्क्तिकारले। त्यो बाहेक उनीसँग ठेट गाउले भाषालाई सम्झने हो भने, गोरु बेचेको साइनो पनि छैन। उनी पोखरा आउनु भन्दा अगाडिदेखि सम्झन्छन्, असफल सरको आजको कार्यक्रम कता छ ? भेट्न सकिन्छ कि सकिदैन ? अलि कति समय मिलाएर मेहन्द्रपुल, पृथ्वीचोक, नयाँबजार कतै भेटौन ? कति दिन व्यस्त छु भन्नु, कति समय सन्दर्भ मिलेन भन्नु ? आफैँलाई अप्ठ्यारो हुने। एक दिन समय निकालेरै उनीसँग भेट गरियो, सुन्दर मनका रानासँगको भेटले उनका सुन्दर विचारलाई व्यक्त ग¥यो। उनले थालेको सांस्कृतिक अभियान। चित्रेभञ्ज्याङ्को गौरवसँग जोडिएर चम्किरहेको स्पन्दन पत्रिका। जसलाई चित्रेभञ्ज्याङ्को एउटा आलोकका रुपमा लिन सकिन्छ। रिम बाबु राना धेरै सुन्दर विचार बोकेका असल साहित्यिक मित्र हुन् भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ। उनीभित्रको साहित्यिक, सांस्कृतिक र आत्मियपन उनीसँगको भेटले मात्रै जानकारी गराउँछ। साच्चै नेपाली वाङ्मयको क्षेत्रमा रिमबाबु रानाजस्ता कला साहित्य सेवक हुने हो भने असल लेखक, कवि कलाकारको सधै सम्मान हुने थियो। विडम्बना नै भन्नुपर्छ नेपाली साहित्यलाई सामन्तहरूले घोडा बनाएर हिँडिरहेका छन्। घोडा बन्न नसकेका इमान्दारहरू चेपिइरहेका छन्। त्यसैले प्रकाश सायमीले पछिल्लो आफ्नो पुस्तक काठमाडौं सेल्फी मा साहित्यमा सिन्डिकेट शीर्षकको निबन्ध लेखेका छन्। साहित्यकारहरूले थालेको प्रसिद्धिको उद्योगलाई प्रष्टाएका छन्। त्यो मात्र होइन सायमीले पछिल्लो समय साहित्यलाई घोडा बनाउने देखेर दिक्क लागेर होला, पुस्तकको खोल व्यापार, लेखकको सत्ता र सतीत्वको सङ्कट जस्ता इमान्दार लेखकको ज्यादै मन छुदा निबन्ध लेखेका छन्। हुन पनि हो, रिमबाबु राना जस्ता लेखकहरू सधै प्रसिद्धिको उद्योगमा फस्टाउन सक्दैनन्। उनीहरूका पुस्तकको खोल व्यापार हुँदैन किनकि उनीहरू घाँस साहित्य लेख्छन्। घाँस साहित्यको प्रेरणाबाट अगाडि बढेका भानुभक्तलाई आफ्नै प्रसिद्धिको उद्योग चलाएकाहरूले सधै बिर्सन्छन्। प्रसिद्धिको उद्योगमा नफस्टाएका रानाले याँभू लकुकथा सङ्ग्रह, संक्षिप्त चिनारी चित्रे साहुथरको, पूर्वाद्र्ध संस्मरण सङ्ग्रह, मीजा लघु नाटक र ...अर्को पुस्ता कविता कृति हालसम्म प्रकाशन गरेर नेपाली वाङ्मयको क्षेत्रलाई उर्वर बनाइरहेका छन्। यो मात्र होइन उनले सांस्कृतिक संरक्षण मञ्चको स्थापना नै गरेर चित्रे गाउँको कौह्रा, ठेट नेपाली लोक नृत्यका डकुमेन्टूीहरू पनि निर्माण गरेका छन्। यसले प्रष्ट पार्छ उनको सांस्कृतिक अभियानलाई। साहित्य साधना आफैँमा गाह्रो विषय, त्यसलाई पाठकसामु पस्कन झन गाह्रो। गाउँमा बसेर घरखेत गरेर उनले पु¥याएको साहित्य साधनालाई सलाम गर्नैपर्छ। किन भने उनी जहिले पनि चित्रेली हामी रहौला कहाँ हाम्रो संस्कृति नै नरहे भन्ने भावना बोक्छन्, चित्रेभञ्ज्याङ्मा प्रचलनमा रहेका हाम्रा कला, संस्कृतिको संरक्षण अहोरात्र खटिरहन्छन्।
 
सन्दर्भ रानाको ...अर्को पुस्ताको। रानाले सरलाई पढ्न मिल्ने भाषामा रहेको कृति उपहार भनेर दिएपछि पङ्क्तिकारको मनमा उनको ...अर्को पुस्ताले प्रसिद्धि कमाइरहेको छ। उनले माया गरेर दिएको उपहारको जतन गर्न सकिएन भने त्यसले उपेक्षा गर्छ। उपहार कहिल्यै फिर्ता लिनका लागि दिइदैन, त्यसैले त त्यसको ठूलो महत्व रहन्छ। हाल बहराइनमा रहेका चित्रेभञ्ज्याङवासी भल रानाले उनको कृति प्रकाशनका लागि सहयोग गरेका छन्। यदी भलले उनलाई सहयोग नगरेको भए ...अर्को पुस्ता बजारमा आउन धेरै समय लाग्न सक्थ्यो। कुनै समय अग्रज चलचित्र निर्देशक, संस्कृतिकर्मी चेतन कार्कीले कतै भनेका थिए, कसैले कुनै स्रष्टा साधकको सम्मानका खातिर कुनै लेख रचना लेख्छ, विशेषाङ्क प्रकाशन गर्छ भने स्रष्टा जत्तिकै सम्मानित हुन्छ। साच्चै भल राना रिमबाबु राना जत्तिकै सम्मानित व्यक्तित्व हुन्। उनले घरदेशबाट परदेशमा पुगेर पसिना बगाएर घाँस साहित्यमा मलजल गरेका छन्। यसरी भल रानाले मलजल गरेको रिमबाबु रानाको प्रस्तुत ...अर्को पुस्ता कविता कृतिमा २६ थान कविता सङ्गृहीत रहेका छन्।
 
प्रस्तृत कृतिमा विषयसूचीमा ३५ थान कविताको नाम रहे तापनि पङ्क्तिकारको हात परेको पुस्तकमा २६ थान कविता समावेश रहेका छन्। सायद पुस्तक व्याण्डिङमा एक दुई फर्मा तल माथी भएको हुनसक्छ। बढीमा दुई पृष्ठसम्म फैलिएका उनका कविता २०७१ सालको वैशाखदेखि पौषसम्मको समय कालखण्डभित्र लेखिएका छन्। उनका कवितामा वर्तमान युगजीवनको चित्रण पाइन्छ। उनको कविता यात्राका बारेमा मुहार पुस्तिकामा पहिला प्रकाशन गरिएको तराई झर्ने ए मेरो साथीबाट सुरु गरिएको छ। लेखकिय भनाइमा उनले भनिसकेका छन् उक्त कविताका बारेमा पुनः यहाँ उल्लेख गरिरहन आवश्यक छैन। यस्तै रक्सी र कविता उनको निकै रमाइलो कविता हो। श्रीमती रक्सी जन्माउने तर्खर गर्ने श्रीमान कविता जन्माउने। सायद यो उनै रानाको आफ्नो कथा हुन पनि सक्छ। पाठकलाई पढ्दा त्यही अनुभूति हुन्छ। उनका यस्ता रमाइला कविताहरू धेरै छन्। उनले आम नेपालीलाई श्रद्धा, सम्मान गर्दछन्, नेपाली कला साहित्य र संस्कृतिको संरक्षण गर्दछन्। समानता खोज्छन्, माया व्यक्त गर्दछन्, त्यो मात्र होइन उनले व्यङ्ग्य पनि गर्दछन्। बागमती र राजनीति शीर्षकको कवितामा। जस्तो छ वागमती त्यस्तै भएको छ हाम्रो राजनीति अब यसलाई सपार्नुपर्छ भन्ने उनका कवितामा चिन्ता व्यक्त भएको पाइन्छ। रानाका कविता सरल, सरस र मर्मस्पर्शी शब्द तथा भाषामा लेखिएका छन्। प्रस्तुत कृतिका कविताहरू साना भाइबहिनीदेखि लिएर अग्रज सबैका लागि उत्तिकै रुचिकर लाग्ने देखिन्छन्। यो नै उनको कविता लेखनको सवल पक्ष हो। अन्तमा जसरी रानाले आफू जन्मेको जन्मभूमिप्रति ऋणि रहेको देखाएर आफ्ना सिर्जनालाई समर्पण गरेका छन्। त्यसै गरेर यही भूमिमा रहेर आफूलाई एक अन्वेषक र सांस्कृतिक अभियन्ताका रुपमा उभ्याउँदै आएका छन्। सँगसँगै पछिल्लो समय उनले आफूलाई एक सफल कविका रुपमा उभ्याई आफ्नो छवि उचो पारिसकेका छन्। उनको बाँकी जीवन थप सिर्जनशील बनोस्, थप नयाँ कृतिहरू अध्ययन गर्न पाइयोस् सतत् शुभकामना !



Post a Comment

 
Top