0
गोल्डेन न्यूज संवाददाता
पर्यटकको संख्या बढ्दै गएपछि पोखरा नजिकैको घार्मीमा हिल साइड क्याफे सञ्चालन आएको छ । स्थानीय तीन जना युवाहरुको लगानीमा सञ्चालित क्याफेको आफ्नै पिता प्रेमप्रसाद पौडेल र आमा गोमादेवी पौडेलले उद्घाटन गरे । घार्मी सहित ट्याम्के डाँडा लगायतका क्षेत्रमा पुग्ने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढेपछि पोखरा—१९ घार्मीका युवा अभिषेक, पिताम्बर, टंकनाथ पौडेलले रेष्टुरेण्ट व्यवसायमा हात हालेका थिए । उद्घाटनको अवसरमा एक महिनाभरि आन्तरिक तथा बाह्य पर्यटकका लागि क्याफेले विशेष छुटको व्यवस्था गरेको छ । 

विदेश जाने इच्छालाई तिलाञ्जली दिएका पौडेल युवाहरुले स्वदेशमै केही गरौँ भन्ने भावनाका कारण व्यवसायमा हात हालेको बताए । युवा टंकनाथ पौडेलले रेष्टुरेण्टमा पारिवारिक वातावरणमा नेपाली तथा इण्डियन खाना सहित स्थानिय पोखरीमा उत्पादित माछाका परिकार पाइने जानकारी दिए । पौडेलले स्थानीय राम्चे पोखरी भाडामा लिएरै माछापालन समेत गरेका छन् । घरमै अर्गानिक तरकारी उत्पादन गरेका पौडेलले स्थानीय कुखुराका परिकार पनि पाहुनाका लागि उपलब्ध गराइने बताए । छोटो पदयात्राका लागि प्रख्यात घार्मीमा पछिल्लो समय मर्निङवाक गर्ने र घुमघाम गर्नेको संख्या बढ्न थालेको उनले जानकारी दिए । करिब १५ लाख रुपैँयाको लगानीमा सञ्चालन गएको रेष्टुरेण्ट नाकाबन्दी र निर्माण सामाग्रीको अभावमा केही ढिला भएको हो । यसअघि दशैँ अगाडि नै सञ्चालनमा ल्याउने तयारी पौडेलले गरेका थिए । घार्मीका केही युवाहरु लामो समय विदेशमा बसेर फर्किएपछि स्वरोजगारमा लागेका छन् ।





















Post a Comment

 
Top