नारायण अमृत
मैले धेरै बोल्नै पर्दैन, कांग्रेस नेतृत्व असफल भयो भन्ने हामी सबैलाई थाहा छ,’ उपसभापति रामचन्द्र पौडेलले आसन्न १३औँ महाधिवेशनको सन्दर्भमा बोल्दै सभापति सुशील कोइरालाको आलोचना गरिरहँदा एउटै मञ्चमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवाले मुस्कुराउँदै पटक–पटक टाउको हल्लाए । अघिल्लो साता आयोजित प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा उपसभापति पौडेल भन्दै थिए, ‘अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ । म पनि पार्टीमा लामो समयदेखि योगदान दिइरहेको छु । साथीहरू के भन्नुहुन्छ ?’ सभापतिका प्रत्याशी देउवा त खुलेरै आफ्नो अभियानमा लागिसकेका छन् भने वर्तमान सभापति सुशील कोइराला पनि यसका लागि भित्रभित्रै सक्रिय छन् । यसपटक पौडेलले उम्मेदवारी दिएमा पार्टी्भित्रको गणित पहिले–पहिलेको भन्दा फरक हुनेछ । सभापतिमै तीन जना उम्मेदवारको भिडन्त देखिनेछ ।
आगामी २०–२३ फागुनमा राजधानीमा हुने कांग्रेस महाधिवेशनबाट पार्टीमा आफ्नो रोजाइका स्थान सुनिश्चित गर्न दोस्रो तहका अन्य नेताहरू पनि भरमग्दुर कसरतमा छन् । जस्तो १२औँ महाधिवेशनमा प्रत्यक्ष रूपमा महामन्त्री पदमा जितेका प्रकाशमान सिंह पार्टीले महाधिवेशनका लागि तोकेको भदौको मितिअघि आफू पनि सभापतिको उम्मेदवार भन्दै हिँडेका थिए तर अहिले भने मौन रहेर भित्रभित्रै चेसको चाल चलिरहेका छन् । सांगठनिक र राजनीतिक क्षमताका कारण भन्दा बढी सर्वोच्च नेता गणेशमान सिंहको पुत्र हुनुको पर्याप्त फाइदा उठाइरहेका महामन्त्री सिंह यसपटक संस्थापन पक्षबाट सके पुनस् महामन्त्रीको उम्मेदवार, नसके उपसभापति बन्ने दाउमा देखिन्छन् । त्यसका लागि उनले सभापति कोइरालाका भित्रियाहरूसँग कुरा राखिसकेको स्रोतको दाबी छ । नेता सिंहलाई पनि राम्ररी के थाहा छ भने संस्थापन पक्षले यसपटक एउटै पदका आकांक्षीहरूका कारण दबाब महसुस गरिरहेको छ । त्यसको असर उनको आकांक्षामा पनि पर्ने निश्चित छ । संविधान निर्माणमा पार्टीका तर्फबाट सबैभन्दा बढी क्रियाशील भएका महामन्त्री कृष्ण सिटौला ‘क्याम्प’ परिवर्तन गरी देउवा पक्षमा लाग्ने समाचारसँगै उनी सबैका लागि चासोको विषय बनेका छन् । अन्तरमुखी स्वभाव र समकालीनहरूलाई छिर्के हान्न माहिर राजनीतिक खेलाडी मानिने सिटौलाले यतिबेला पार्टीमा आफ्नो स्थान तय गर्न संस्थापन र देउवा पक्षसँग समानान्तर रूपमा अन्तरक्रिया गरिरहेका छन् । ‘अहिल्यै निर्णय गर्ने बेला भइसकेको छैन,’ उनी पनि पार्टीभित्र आफ्नो महामन्त्रीको भूमिकालाई निरन्तरता दिन चाहन्छन् ।
१२औँ महाधिवेशनमा सदस्य जितेका सिटौला पछि मनोनीत महामन्त्री भए । तर, अहिले उनी प्रत्यक्षबाट सोही पदमा रहिरहने योजनामा देखिन्छन् । गत असोजमा सदनमा भएको प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसले हात उठाउनुपर्ने मत राखेदेखि सभापति कोइरालासँग सम्बन्ध चिसो भए पनि उनले कोइरालाका भित्रियाहरूसँग आफ्नो भूमिकालाई पार्टीले अवमूल्यन गर्न नहुने गुनासो गरिरहेकै छन् । ‘उहाँ एक हिसाबले बार्गे्निङकै चरणमा हुनुहुन्छ, देउवातिर लागेर पद सुनिश्चित हुने अवस्था नभएसम्म खुल्नुहुन्न,’ सभापति कोइरालानिकट एक केन्द्रीय सदस्य भन्छन् । उनका अनुसार सिटौलाले ‘सभापतिमा उठ्छु’ भन्दै हिँडिरहेका रामचन्द्र पौडेलले बनाएको नयाँ समूहसँग पनि नियमित कुराकानी गरिरहेका छन् । विकसित घटनाक्रम त के भने नेता पौडेलले सिटौलासँग मात्र होइन, उता मौजुदा गुटहरूसँग असन्तुष्ट भएका विमलेन्द्र निधि, चित्रलेखा यादव, खुमबहादुर खड्का, शेखर कोइराला, अर्जुननरसिंह केसी र आमोदप्रसाद उपाध्यायजस्ता नेतालाई एक ठाउँमा ल्याएर नयाँ शिराबाट राजनीति गर्न सकिन्छ कि भनेर प्रयास पनि गरिरहेका छन् । यो प्रयासले खास आकार लियो भने आसन्न महाधिवेशनको परम्परागत गुटीय जोडघटाउ प्रभावित हुने निश्चित छ । यसले गुटबाट उछिट्टिएका र यो क्रममा रहेका कतिपय नेतालाई ‘फेस सेभिङ’को सहज अवस्था सिर्जना गरिदिएको छ । जस्तो स् विमलेन्द्र निधि र चित्रलेखा यादवले देउवा पक्षसँगको सामीप्य तोडेर पार्टी्भित्रै नयाँ भूमिकाको खोजीका लागि यही प्रक्रिया एउटा बहाना बनिदिएको छ । अघिल्लो महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता निधि वरिष्ठ नेता देउवा पक्षका एउटा महत्त्वपूर्ण पिलर मानिन्थे । मधेसका मुद्दामा नेता देउवासँग दूरी बढेपछि निधि र कोषाध्यक्ष यादव बिस्तारै संस्थापन पक्षसँग जोडिनरभित्रिन तम्तयार देखिएका छन् । तर, दुवै नेताले मुख नखोले पनि उनीहरूको बूढानीलकण्ठ आवतजावत बन्द भइसकेको छ । निधि भन्छन्, ‘अबको महाधिवेशनमा यही नै पदमा लडिन्छ भन्ने प्रस्ट भइसकेको छैन ।’ कांग्रेसमा अघिल्लो पुस्ताका अग्रणी नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रलाई संस्थापनमा जोडिँदा पनि उनले अपेक्षा गरेको पद सहज रूपमा हात लाग्ने अवस्था भने छैन । किनभने, उनी पनि महामन्त्री पदमा नै उम्मेदवारी दिन चाहन्छन् । त्यसै गरी यसअघि नै पदाधिकारी सूचीमा दर्ज भइसकेकी र यसअघिको सरकारमा शिक्षामन्त्री हुँदा गतिलो छवि बनाउन नसकेकी कोषाध्यक्ष यादवका लागि भने यही पद भन्ने आशा छैन तर उनी महिला सहभागिताका रूपमा
पदाधिकारीको सुहाउँदो स्थानमा आफ्नो भूमिका निरन्तर होस् भन्ने पक्षमा छिन् ।
कांग्रेसभित्रका कतिपय नेता पार्टीको विधान संशोधन हुन्छ कि हुन्न, या भयो भने कुन रूपमा होला भनेर चनाखो भइरहेका देखिन्छन् । यसको कारण पनि आफ्नो स्थान र भूमिकाको निश्चितताका लागि हो । उनीहरूमध्ये केहीले त संगठन विभाग प्रमुख आनन्द ढुंगानाको संयोजकत्वमा बनाइएको विधान संशोधन समितिलाई आफू अनुकूल विधान संशोधनको प्रस्ताव लैजान लबिङसमेत गरिरहेका छन् । ‘स्वाभाविक रूपमा नेताहरूले पार्टीमा आफ्नो ठाउँ होस् भन्छन् तर यो सबै विधि र प्रक्रियाले मात्र तय गर्ने हो,’ समितिका संयोजक ढुंगाना भन्छन्, ‘कसैलाई कुनै पद दिने या नदिने भन्नुभन्दा पनि उसको भूमिकाको कदर पार्टीले गर्ने हो । नेता छानिने पनि प्रक्रियाबाट हो ।’ खास गरी कांग्रेसभित्र केही महिला नेतृ र केही युवा नेताहरूलाई पार्टी्विधान संशोधनप्रति बढी चासो छ । जस्तो स् उपसभापतिको संख्या बढाएर त्यहाँ महिलाको अनिवार्य प्रतिनिधित्वको विषय तय भयो भने त्यसमा पूर्वसभापति तथा पूर्वप्रधान मन्त्री गिरिजाप्रसाद कोइराला–पुत्री सुजाता कोइराला र वर्तमान कोषाध्यक्ष यादवको सरोकारको पद सिर्जना हुन सक्छ । राजनीतिक कौशलभन्दा विरासतका कारण कांग्रेस राजनीतिमा स्थान र भूमिका बनाइरहेकी सुजाताले गएको साउनअघि नै ‘सुशील कोइराला सभापतिमा नउठे म त्यो पदमा उम्मेदवारी दिन्छु’ भन्दै बार्गे्निङ गरिरहेकी छन् । भाषण र कार्यकर्ता भेटघाटमा जेजस्ता कुरा गरे पनि उनको लक्ष्य भनेको विधान संशोधन भएमा उपसभापति हो भने नभएमा पदाधिकारी तहको जुनसुकै पद पाए पनि हुन्छ भन्ने हो ।
सभापति सुशील कोइरालाले बीपी कोइराला–पुत्र सशांक कोइरालालाई पार्टी राजनीतिको अग्रपंक्तिमा ल्याउने सुइँको पाएका सुजाता र शेखर कोइरालाई एक प्रकारको बैचनी पैदा हुनु स्वाभाविक पनि हो । यति हुँदहुँदै पनि उनीहरू संस्थापनबाट विद्रोह गरेर बाहिर जान नसक्ने आफ्नै खाले परम्परा र बाध्यताबाट बाँधिएका छन् । यसअघि नै सुजाताको बैचैनी मत्थर पार्न सभापति कोइरालाले संसदीय बोर्डको सदस्य बनाएनन् मात्र, सार्क सम्मेलनका बेला ‘फस्र्ट लेडी’का रूपमा अघि सारेको कान्तिपुर अनलाइनले लेखेको छ । शेखरले भने केन्द्रीय सदस्य पदभन्दा अरू हिसाबले राजनीतिक अभ्यास गर्ने मौका पाएका छैनन् । कांग्रेसभित्र पदीय आकांक्षा राख्नेहरूको सूची छिमल्दै जाने हो भने त्यहाँ पार्टीको आन्तरिक जीवनमा पुर्रुयाएको योगदान, भूमिकाभन्दा बढी शक्ति सन्तुलन र नेतृत्वको सामीप्यका कारण नेताहरूमा लोभ सिर्जना हुँदै गएको प्रस्ट छ ।
कुनै नेता संस्थापन या अर्को गुटसँग नजिक–टाढा हुने या नयाँ समूह सिर्जना गर्ने्तिर लाग्नु यसैको परिणाम हो । ‘एउटा ठूलो प्रजातान्त्रिक पार्टीमा यस्ता प्रक्रिया स्वाभाविक पनि हुन्,’ संगठन विभाग प्रमुख ढुंगाना भन्छन्, ‘मूल्यांकनको परिपाटी परिष्कृत गर्नुपर्छ भन्ने कुरासँग भने सहमत हुन सकिन्छ ।’
पछिल्ला दिनमा सभापति कोइराला प्रधानमन्त्री हुँदा उनलाई नजिकबाट सघाउने नरहरि आचार्य, महेश आचार्य, बाहिरै बसेर पनि सघाउने पार्टी प्रवक्ता दिलेन्द्र बडू र दिलबहादुर घर्तीजस्ता नेतामा पनि अबको महाधिवेशनमा राम्रो स्थान पाइयोस् भन्ने राम्रै तिर्सना जागेको छ । ‘तर, सबैभन्दा नजिकको सहयोगी हुनुको बेफाइदा के हो भने आफूले मानेको नेताले चुप लाग्नुहोस् भन्दा मौन बस्नुपर्ने अवस्था हुन्छ,’ कांग्रेसका एक प्रभावशाली नेता भन्छन्, ‘क्षमता हुँदाहुँदै पनि यसरी शिखण्डीमा सीमित भएका नेताहरूको सूची लामै छ ।’
अर्कोतिर पार्टी सरकारमा जाँदा निरन्तर रूपमा त्यो अवसरको फाइदा लिइरहेका कतिपय नेताले पार्टी्भित्र आफ्नो सम्भावना र पहुँचको अभ्यास गर्नु त्यति अनौठो रहेन । जस्तो स् ०४६ को परिवर्तनपछि कांग्रेसले बनाएका सरकारमध्ये एउटा छाडेर सबैमा अर्थमन्त्रीको कार्यभार सम्हालेका रामशरण महत यसपटक आफूले महामन्त्री या उपसभापतिमध्ये एक पद पाउनुपर्ने भन्दै पार्टी्भित्र ‘लबिङ’ गरिरहेका छन् । उनीनिकट स्रोतका अनुसार यदि पार्टी पदाधिकारीमा आफ्नो स्थान सुरक्षित हुन सकेन भने कांग्रेसले आफूलाई अबको प्रधानमन्त्रीका रूपमा अघि सारिदियोस् भन्ने चाहना महतको छ । उनी पार्टीको संस्थापनमै रहेका छन् र रहने देखिन्छन् ।
राजनीतिमा अवसरले सबैभन्दा महत्त्वपूर्ण अर्थ राख्छ । तर, कांग्रेसभित्र अवसरलाई दुरुपयोग गरेर पनि पुनस् अवसर सिर्जना गर्ने उदाहरण नभएका होइनन् । खास गरी भागबन्डाको राजनीतिका कारण यस्तो गलत प्रवृत्ति पार्टी्भित्र मौलाइरहेको छ । अघिल्लो महाधिवेशनमा संस्थापनलाई सघाएका केन्द्रीय सदस्य अर्जुनन रसिंह केसी यसपटक पदाधिकारी बन्नका लागि रामचन्द्र पौडेलको उदाउने भनिएको नयाँ समूहदेखि नेता देउवा पक्षको ढोका ढकढकाउँदै छन् । पार्टी विभाजनपछि सह–महामन्त्री र पार्टी प्रवक्ताबाहेक पदाधिकारीका रूपमा खास अनुभव नबटुलेका केसी पछिल्ला दिनमा सभापति कोइरालाले ‘कर्नर’मा राखेका नेता हुन् । अवसरको खोजीमा कांग्रेसबाट पञ्चायतमा समेत प्रवेश गरेका र त्यहाँ खाईखेली गरेर ०४६ पछि पुनस् कांग्रेस फर्केका केसी गत संविधानसभा निर्वाचनका बेला बनाइएको संसदीय बोर्डमा सदस्य थिए । खासमा उपसभापति रामचन्द्र पौडेलको सहयोगमा उनी बोर्ड सदस्य बनेका थिए । जहिल्यै अवसरको ताकमा रहने उनी अहिले संस्थापनले महामन्त्री पद नदिने संकेत पाएपछि देउवा पक्षले उक्त पदमा उम्मेदवारी ग्यारेन्टी गरिदियोस् भन्ने चाहन्छन् । तर, देउवा खेमामा रहेका सहमहामन्त्री पूर्णबहादुर खड्काले स्वाभाविक रूपमा महामन्त्रीको उम्मेदवारी आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।
सहमहामन्त्री खड्काले सभापति कोइरालाले दलहरूबीच भएको भद्र सहमति तोडेर प्रधानमन्त्री पदमा पुनस् उम्मेदवारी दिएपछि आफ्नो पदबाट राजीनामा गरेका थिए । राजीनामा स्वीकृत भएको छैन तर उनको राजीनामा प्रकरणलाई आसन्न महाधिवेशनका लागि रणनीतिक कदमका रूपमा पनि लिइन्छ । उनी स्वयंले यो कुरा नस्वीकारे पनि नेता विमलेन्द्र निधिको देउवा पक्षबाट भएको बहिर्गमनमा खड्काको रणनीति ठान्नेहरू पनि त्यत्तिकै छन् ।
पार्टीभित्र जेजस्ता खिचडी पाके पनि देशकै सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको महाधिवेशनप्रति पार्टीइतरको पनि उत्तिकै चासो छ । कांग्रेसले छान्ने नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय समितिको प्रभाव जुनसुकै रूपमा पनि राष्ट्रिय राजनीतिमा पर्छ । त्यसका आयामहरू सबैतिर जोडिन पुग्छन् । त्यसैले कांग्रेसभित्रको पदीय र शक्ति संघर्षको बैठान कसरी होला, त्यो छिनोफानो हुन अब तीन महिना पनि छैन ।
युवा कता ?
नेपाली कांग्रेसभित्र प्रभावशाली युवाहरूले यथोचित स्थान पाउन नसकेको उहिल्यैदेखि हो । यससँगै आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरु घिमिरे र प्रदीप पौडेलको स्थान कहाँ रहला भन्ने चासो सबैलाई छ ।
१२औँ महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य निर्वा्चित भएका थापाले यसपटक मौन रहेर नै पदाधिकारी पदका लागि वातावरण बनाउने रणनीति लिएका छन् । थापा संस्थापन या देउवामध्ये कुन पक्षमा लाग्ने भन्ने पनि टुंगो भइसकेको छैन । सँगसँगै उनी कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने र पार्टीले गतिशीलता पाउनुपर्ने भन्दै सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता रामचन्द्र पौडेलको समीपमा पनि पुगेका छन् ।
विधान संशोधन भएर सहमहामन्त्री पद थपिएको खण्डमा नेता थापाको चाहना यही पदमा देखिने छ । अर्को कुरा, ससुरा अर्जुननरसिंह केसीको महामन्त्री बन्ने महत्त्वाकांक्षा थापाका लागि पदाधिकारी बन्ने अवसरमा तगारो नबन्ला भन्न पनि सकिँदैन । त्यसै गरी, पछिल्लोपटक महामन्त्री कृष्ण सिटौलाको कोपभाजनमा परेर केन्द्रीय सदस्य मनोनीत हुन नसकेका विश्वप्रकाश शर्माको पनि पछिल्ला दिनमा संस्थापन र शेरबहादुर देउवा पक्ष दुवैतिर उत्तिकै राम्रो सम्बन्ध छ । कुशल वक्ताका अलावा लेखपढ गर्ने नेताका रूपमा परिचित शर्मा यसपटक निर्वा्चित केन्द्रीय सदस्यका रूपमा पार्टी मुख्यालय प्रवेश गर्न चाहन्छन् ।
धनराज गुरुङ, गुरु घिमिरे र प्रदीप पौडेलको हुटहुटी पनि शर्माको जस्तै कम्तीमा पनि निर्वा्चित केन्द्रीय सदस्य हुनेछ । पार्टी्भित्र सुजाता कोइरालानिकट मानिने घिमिरे र संस्थापनसँग नजिक मानिने नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पौडेल मनोनीत केन्द्रीय सदस्य हुन् । १२औँ महाधिवेशनमा संस्थापनलाई सघाएका गुरुङ पार्टीका तर्फबाट समानुपातिक सांसद छन् ।
Post a Comment