0
नेपालमा शक्तिशाली भूकम्प गएको करिब ९ महिना बितिसकेको छ । तर, भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन नसक्दा उनीहरुको अवस्था दयनीय बनेको छ । सरकारले भूकम्प पीडितका लागि राम्रा कार्यक्रम त ल्याएको छ तर ति कार्यक्रम तत्काल संचालनमा आउन नसक्दा पीडितहरुले ज्यानै समेत गुमाउनु पर्ने अवस्था आएको छ । पौषको कठ्याग्रिंदो जाडोमा न्यानो ओढ्ने लुगा समेत नपाउँदा चिसो कै कारण मर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । चिसोकै कारण मंगलबारसम्म ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । सरकारले भूकम्प पीडितलाई जाडोमा न्यानो दिने बताएपनि अहिलेसम्म पीडित समक्ष पुग्न सकेको छैन् । जस्ताको साँघुरो छानामा बस्दै आएका पीडितहरुलाई ओढ्ने ओछ्याउने कपडाकै समस्या पर्दा उनीहरु मृत्युलाई कुरेर बाँच्नु परेको छ । तर, सरकार र अन्य दल कहिले पुनर्निर्माण विधेयक नै पास हुन नदिने गरी संसद अवरुद्व गर्छन् । सरकार र दलहरुको यस्तो पाराले उनीहरुपीडितहरु प्रति संवेदनशिल छैनन भन्ने समेत पुष्टि गरेको छ । एउटाले गर्न खोज्दा अर्काेले निहुँ खोज्न कै लागि खुट्टा तान्ने जीर्ण सोच नेपाली राजनीतिको विशेषता नै बनेको छ । दिनहुँ जसो चिसोले कठ्याग्रिएर भूकम्प पीडितहरुको ज्यान गएको समाचार आएका छन् । यस्ता संवेदनशिल अवस्थाप्रति उनीहरुलाई रत्तिभर चिन्ता छैन । यदि चिन्ता हुन्थ्यो भने सरकार र राजनीतिक दलहरुले चाहे भने असंभव केही पनि छैन । कुरा धेरै र काम कम गर्ने नेपाल सरकार तथा राजनीतिक दलहरु केवल सत्ता ढाल्ने र बनाउने खेलमा मात्रै सीमित छन् । समयको महत्व के हो भन्ने कुरा समेत छुट्याउन नसक्ने दलका नेताहरुले देशलाई समृद्वि बनाउँछु भनेर अब भाषण नठोके पनि हुन्छ । किनभने नेपालका राजनीतिक दलहरुप्रति नागरिकहरुले भरोसा गर्न छाडिसकेका छन् । भूकम्पका कारण घरबार गुमाएका पीडितहरुले अवस्था निकै दयनिय बन्दै गएको छ । तर दलहरु पुर्न्निर्माण विधेयकलाई रोक्न संसद अवरुद्व गरिरहेका छन् । पौष लागेसंगै चिसो एक्कासी बढेपछि न्यानो कपडाको अभावमा रातभरी निदाउन सकेका छैनन् । झुपडीको चिसो रातलाई कटाउन उनीहरु आगो तापेर बस्न बाध्य भएका छन् । त्रिपाल मुनी चिसो आउने र सुत्नका लागि ओढ्ने ओछ्याउने पर्याप्त मात्रामा कपडा नहुँदा उनीहरु चिसोबाट पीडित छन् । यतिमात्रै होइन भूकम्पले विस्थापित बनेकाहरु सुगम ठाउँमा छाप्रोको जिन्दगी बाँचिरहेका छन् । उनीहरुलाई पुर्नस्थापित गर्न सरकारले कदम चाल्नु पर्दैन ? सरकारले जाडोका लागि न्यानो कपडा वितरण गर्ने भनी कार्यक्रम ल्याउन लागेको भएपनि मध्य जाडो सुरु भईसक्दा पनि कार्यक्रम शुरु नहुँदा भूकम्प पीडितहरु आक्रोसित समेत बनेका छन् । चिसोका कारण सबैभन्दा बढी वृद्ववृद्वा र बालबालिकाहरु प्रभावित भएका छन् । चिसोकै कारण विरामी परेर ज्यान समेत गुमाउने अवस्था सिर्जना भईरहेका बेला सरकारले न्यानो कपडा कार्यक्रमलाई छिटो ल्याउन जरुरी छ । पीडितलाई आशा देखाएर निराश पार्नु हुँदैन । सरकार चेतना भया ।

Post a Comment

 
Top