0
गोल्डेन न्यूज संवाददाता
पोखराको गहनाको रुपमा रहेको फेवातालमा जो सुकैको पनि ध्यान जाने गर्दछ । पर्यटन, पोखरा र फेवाताल पर्यावाची जस्तै भएका छन् । तर लामो समयदेखि फेवातालमा जलकुम्भीले फेवाको रुपलाई कुरुप बनाई रहेको थियो । विभिन्न संघसंस्थाले फेवाको जलकुम्भी हटाउने नाममो धेरै रकम दुरुपयोग भएका समाचार पनि नआएका होइनन् । तर अब फेवाको जलकुम्भी पूर्ण रुपमा हटाइने भएको छ । फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले पर्यटनसँग सम्बन्धित विभिन्न संघसस्था सँग आर्थिक संकलन गरेर फेवाताल जलकुम्भी व्यवस्थापन उपभोक्ता समितिलाई जलकुम्भी हटाउने जिम्मा दिएको थियो । ‘जिम्मा अनुसारको काम भएको छ, हामीले अनुगमन गर्यौँ केहि छिटफुट ठाउँ बाहेक फेवातालको कुनै ठाउँमा जलकुम्भी तैरिएको छैन।’ फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयका कर्मचारी कृष्ण पौडेलले भने । केहि दिनमा छेउ–छाउका ठाउँबाट पनि जलकुम्भी हट्ने छ । अहिले सम्म करीब ९० प्रतिषत जलकुम्भी हटाइएको र अब केहि दिनमा तालमा तैरिएको जलकुम्भी पूर्णरुपमा हटाइने फेवाताल जलकुम्भी व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी खातीले बताइन ।

यसैबीच तालमा जलकुम्भी हटाएको विषयमा लेकसाइडका विभिन्न संघसंस्थाका प्रतिनिधिले अनुगमन गरेका छन् । सो अबसरमा फेवाबाट तैरिएको जलकुम्भी ९० प्रतिशत हटाइएको आफूहरुले अनुगमनका क्रममा देखेको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए । त्यस्तै फेवातालबाट तैरीएको जलकुम्भी हटाएर सुरु भएको कार्यलाई निरन्तरता दिनुपर्ने टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिए । उनले जलाधार क्षेत्रबाट नै जलकुम्भी आउन रोक्नुपर्नेमा जोड दिए ।  अनुगमनबाट फर्किएपछि प्रतिक्रिया दिदै टुरिष्ट बुक्स अफ एशोसिएशनका अध्यक्ष भरत बहादुर पौडेलले फेवातालमा तैरिएको जलकुम्भी निकालिएको देख्दा खुशी लागेको भन्दै यो कार्यलाइ निरन्तरता दिनुपर्नेमा जोड दिए ।


Post a Comment

 
Top