0
नेपाली वाङ्मयको क्षेत्रमा साहित्यका लघु विधा अन्तरगत गजल, मुक्तक र कवितामा क्रियाशील स्रष्टाको नाम हो कृष्ण पहारी। पिता केशवराज (स्व.) र माता विष्णुकुमारी (स्व.) पहारीका कोखबाट पोखराथोक–२ अमराई पाल्पामा जन्मेका पहारी पेसाले स्वास्थ्यकर्मी हुन्। साहित्य, सिर्जना र पत्रकारितामा रूचि राख्ने पहारी वि.सं. २०४० देखि नै किसान मासिक पत्रिकाको सम्पादन गरेर नेपाली वाङ्मयको क्षेत्रमा पाइला चाल्दै आएका स्रष्टा हुन्। पाल्पाका पहारी विभिन्न साहित्यिक र सामाजिक सङ्घसंस्थामा आवद्ध भएर नेपाली साहित्यको उत्थानमा तीन दशकदेखि निरन्तर लागि रहेका छन्। ‘बारूदका धुवाँहरू’ गजलसङ्ग्रह–२०६२, ‘परिवेशभित्रका पीडाहरू’ मुक्तकसङ्ग्रह–२०६५ हुँदै पछिल्लो समय पहारीले ‘मान्छे हराएको देश’ कविता कृति–२०७२ लिएर पाठकको अदालतमा उभिएका छन्। पहारीको मुक्तक कृति अध्ययन पछि पङ्क्तिकारले कतै लेखेको थियो, ‘पहारीको लेखन शैलीले पृथक र छुट्टै पहिचान बनाइसकेको अनुमान गर्न सकिन्छ। पहारीका सिर्जनाका मूख्य विषयवस्तु तीन ‘स’ सङ्कट, सङ्घर्ष र समयको जटिलता’ मा केन्द्रित भएको पाइन्छ।

प्रस्तुत कृति अध्ययनपछि पहिलाको स्मृतिलाई ताजै बनाइदिए पहारीले आफ्ना कविताका माध्यमबाट। ५५ थान कविता सङ्गृहीत कृतिको नाम मात्र होइन, कविताले पनि युगिन जीवनको परिवेशलाई चित्रण गरेका छन्। पहिला गरिएको अनुमान पहारीले वर्तमानमा सत्य सावित गराएर छोडेका छन्। कृति अध्ययनपछि के भन्न सकिन्छ भने, कृतिमा समावेश कविता पहारीका रोजा कविता हुन्। किनकि अधिकांश कविता फुटकर रूपमा पूर्व प्रकाशित भइसकेका छन्। केही मिति उल्लेख गरिएका र नगरिएका कवितामध्ये पहिलो मितिको कवितालाई आधार मानेर हेर्दा उनका कविताले निर्धारण गरेको समय सिमा वि.सं.२०६५ देखि प्रकाशन हुनभन्दा अगाडिको अवधिलाई मान्न सकिन्छ। यो सात वर्षको अवधिमा विभिन्न साहित्यिक र गैह्र साहित्यिक पत्रपत्रिका पत्रपत्रिकामा प्रकाशन भएका उनका उत्कृष्ट कविताहरूको सङ्गालो नै मान्छे हराएको देश बनेको छ।
पहारीको प्रस्तुत कृतिको शीर्ष कविता मान्छे हराएको देश अध्ययनपछि वरिष्ठ साहित्यकार सूर्य खड्का बिखर्चीको एक मुक्तकको याद आयो, उनले लेखेका थिए,
यहाँ ढुकुर कराएको र हराएको खबर बन्छ
यहाँ कुकुर हराएको र कराएको खबर बन्छ
नेपाली खबरहरू पढ्दा अच्चम्म लाग्छ हजुर
यहाँ मान्छे मरेको र हराएको बेखबर बन्छ
साच्चै बिखर्चीले मान्छे हराएको चिन्ता मुक्तकमा व्यक्त गरेका थिए, पहारीले कविता मै व्यक्त गरे। पहारीले मान्छे हराएका देशमा बसेर कतै एउटा मास्टरको सम्झना गर्न भ्याउछन्, कतै आमाको। हरेक मानिसका जीवनमा आमा र मास्टरको भूमिका कसैले बिर्सन सक्दैन। त्यसैले पहारीले एउटै पुस्तक भित्र बिहान घर गोठ र दिनमा  कालो पाटीमा चक र डस्टर घोटेर शिक्षाको उज्यालो ज्योति चम्काउने मास्टरप्रति श्रद्धा मात्र व्यक्त गरेका छैनन्। पार्टीको झण्डा बोकेर नम्बर थपेर विद्यार्थी पास गराउने अनुशासनहिन मास्टरलाई दह्रो झापट पनि हानेका छन् र भन्छन्, ः
एउटा मास्टर
बिहान उठ्छ
गोवर सोत्तर गर्छ
दुहुनु–बाहान सक्छ
अनि भ्याई नभ्याई घाँटीबाट 
दुई गास लिएर
उल्टे मोजा च्यातिएको जुत्ता
चौघेरै फाटेको टोपी लगाएर
लौरो टेकदै पसिना पुछ्दै
हतार हतारमा स्कुल पुग्दछ ।
 एउटा मास्टर
चिया पसलमा
राजनीतिको बहस छाँट्छ
पार्टीको बिस्तार गर्छ
कोर्स कहिले सक्दैन पढाएर
विद्यार्थीलाई नम्बर थपेर पास गराउँछ
पार्टीको झन्डा बोकेर
सधै काठमान्डौ धाउछ । (पृ.५)
साच्चै देशमा मास्टरहरू मात्रै बिग्रेका छैनन्। सबै तह र तप्कामा रहेका पियनदेखि हाकिमहरू यसरी नै बिग्री रहेका छन्। समालोचक मदन भण्डारीले देशका राजनीतिक दलको दरिद्री पारा देखेर कतै लेखेका थिए, ‘झूटको खेती सपारेरै नेपालका प्रायः कम्युनिष्टहरूले सात पुस्तालाई विलासिलातपूर्ण जीवन बाँच्न पुग्ने सम्पत्ति कुम्ल्याए। डिपी अधिकारी, कृष्णचन्द्रसिंह प्रधान, भूपी शेरचन, कमलराज रेग्मी, जगदीशचन्द्र घिमिरे, शैलेन्द्रकुमार उपाध्याय, धर्मराज थापा, तारानाथ शर्मा, नीलाम्बर आचार्य, श्रवण मुकारूङ आदि धेरै कम्प्युनिष्टहरू त्यो छविको व्यापारमा रमाए ।
‘अनेक रूप आकार भएका परमाणुले
करोडौँ थरीका वस्तु बनेका छन् मिलानले
यिनैबाट आफै आफ सारा सृष्टि चल्दछ
सृष्टिकर्ता कुनै अर्को छैन ईश्वर–सिश्वर !’
‘देवासुर संग्राम’ मा मोदनाथ पश्रितले ठोकुवा लगाए। आफूलाई, प्रेमीकालाई र छोरालाई उच्च–उच्च तहमा पु¥याए अनि सबैको साझा हुने नाटकमा हिजो आज आध्यात्मिक चिन्तन देखाइरहेका छन्।’ देशमा यस्तै भएको छ। यस्तैको राज छ। त्यो राजलाई नजिकैबाट नियालेका पहारीले पनि आफ्ना कवितामा यस्तै दरिद्रपन देखाउनेलाई झापट हाने। उनले नेपाली जनजीवनको विकृति र विसङ्गतीलाई टिपेर कविताका माध्यमबाट सबैको जिब्रो रसाउने स्वाद चखाएका छन्। जागिरे समयपछि साहित्य सिर्जनामा लाग्दै आएका साहित्यकार पहारीले जीवनलाई उत्सव बनाएका छन्। जिन्दगीको क्यालेन्डर फर्काएर कहिले वैंस बेचिनुको पीडा व्यक्त गर्दछन्। कहिले बुढा भएका मनहरूको कथा व्यथालाई, त कहिले जिन्दगी बुढो भएछ भनेर चिन्ता व्यक्त गर्दछन्। यसरी नै जिन्दगीमा आएका निराशा र कुष्ठालाई मात्र होइन, देशमा देखिएको समकालिन युग जीवनको चित्रण नै उनले आफ्ना कवितामा गरेका छन्। चाहे हाकिम सा’बको कुर्ची र धर्के रूमाल हुन्, चाहे बुद्ध तिमीले पनि बन्दुक बोक्न थाल हुन्। या बाँच्नैका लागि मात्रै बाँचेका हामीहरू हुन्। उनले आफ्ना मनमा उठेका यावद भावनालाई कहिल्यै मनमा नराखिकन पाठक माझ पोखिदिएका छन्।
कृतिमा सरल र सहज भाषाशैलीको प्रयोग गरिएको छ। केही आगन्तुक, तत्सम्, तत्भव र नेपाली जनजनका जनजिब्रोमा भिजेका झर्रा शब्दको प्रयोगले आम पाठकलाई अध्ययनमा सहजता प्रदान गरेको छ। पहारीका विगतका कृतिको तुलनामा प्रस्तुत कृतिको साजसज्जा र गुणस्तर उच्च कोटिको छ। अग्र, मध्य र अन्त गरी १५० पृष्ठमा संरचित कृतिको मूल्य १५० राखिएको छ। पुस्तकको साजसज्जा र गुणस्तर हेर्दा मूल्य असान्दर्भिक देखिदैन। कलम र कुची दुवै सँगसँगै अगाडि बढाउँदै आएका, सामाजिक सञ्जालमा भेटिएका र फुटकर पढ्न पाइएका मित्र राजेन्द्र तारकिणीको आवरण कला उत्कृष्ट रहेको छ। यतिधेरै राम्रा कुराहरू हुँदा पनि भन्नै मन लागेको कुरा के भने, वर्तमानमा ह्रस्व, दीर्घका कुरा त आम पाठकहरूले सच्चाएरै पढ्ने भइसके। किनकि सबै लेखक, पाठकका आफ्ना आफ्ना व्याकरण बनिसके भन्दा अन्यथा नहोला तर पहारीले जति महत्वका साथ प्रस्तुत कृतिलाई प्रकाशनमा ल्याए त्यत्तिकै संयमताका साथ व्याकरमा ध्यान दिन पाएको भए केही त्रुटिहरू कम हुने थिए। भाषा व्याकरण सम्पादन नै नभइकन उनको कृति बजारमा आएको नभए तापनि अग्र भागका शुभेच्छा, शुभकामना, मन्तव्यका वाक्य गठनमा केही त्रुटि बाहेक कृतिमा दोष लगाउने ठाउँ भेटिदैन भन्दा अन्यथा नहोला। 
साहित्यकार पहारी सधंै विचारको युद्ध गर्ने लेखक हुन्। उनी राम्रोसँग सोच विचार गरेर समस्याको समाधान निकाल्न अपिल गर्छन, मान्छे हराएको देशमा। उनी मानवता हराएको दुनियाँमा मानवता खोजेर हिँडेका छन्। नैतिकता बिर्सेकालाई नैतिकताको पाठ पढाएका छन्। इमानमा बाँच्न नजान्नेलाई इमान र स्वाभिमानको कुरा सिकाएका छन्। नेपाल आमाको सन्तान भएर पनि बेइमानी भएकालाई स्वाभिमानी बनेर बाँच्नका लागि हौसला प्रदान गरेका छन्। जसरी पहारीले मान्छे हराएको देशमा देश खोजिरहेका छन् त्यसै गरेर निरन्तर आफ्ना कवितामा कविताको देश खोज्दै रहनु यही शुभकामना !









Post a Comment

 
Top