0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय सदस्य गोविन्द शर्मा पौड्यालले मुलुकमा जारी नाकाबन्दी र मधेश आन्दोलनका कारण गम्भीर प्रकारको मानवीय संकट देखा परेको बताएका छन् ।  ६७आंै अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अनलाइन पत्रिका फेवा न्यूज डटकम र रेडियो सफलताले बिहीबार पोखरामा आयोजना गरेको “नागरिकको मानव अधिकारको अवस्था तथा मानव अधिकारकर्मी र संचारको भूमिका” विषयक अन्तत्र्रिmया कार्यक्रममा उनले आम नागरिकको दैनिक आवश्यकताहरु परिपूर्तिका लागि अत्यावश्यक सामाग्रीहरुको अभाव हुदाँ मानव अधिकारको गम्भीर उल्लंघन भैरहेको बताए ।  आन्दोलनका क्रममा मानवअधिकार आयोग जस्तो संवैधानिक निकायको अनुगमनमा समेत अवरोध गरिएको उल्लेख गर्दै उनले लोकतन्त्रको न्यूनतम मूल्य र मान्यताहरुको समेत ख्याल नगरिएको पौडेलले आरोप लगाए। उनले तत्कालको समस्या समाधानका लागि सरकार र आन्दोलनकारी दुवै पक्ष गम्भीर भएर नलागे मुलुकले भयावह स्थितिको सामना गर्नुपर्ने चेतावनी दिए ।
राष्ट्रिय मानव अधिकार आयोगका प्लान अधिकृत डा. टिकाराम पोखरेलले मानवअधिकार मैत्री नैतिक पत्रकारितालाई अघि बढाउनुपर्नेमा जोड दिए ।
वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले अधिकार लिने, दिने र दिलाउने सवालमा हतार गर्न नहुने भन्दै परिस्थितिको उचित मूल्याङ्कन गर्न नसक्दा अधिकारकर्मी तथा संचारकर्मीहरु पनि समस्यामा पर्ने गरेको बताए ।   स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकारहरु सदैव अचानोमा पर्ने गरेको गुनासो गर्दै  मधेशमा जारी आन्दोलनमा पनि कलम चलाईरहेका पत्रकारहरुलाई विभिन्न समूहहरुले निशाना बनाउने गरेको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चलका संयोजक शिव खकुरेलले मानवअधिकार उल्लंघनका दोषीहरुले उन्मुक्ति पाउँदै गर्दा राज्यमा दण्डहिनता मौलाउदै गएको भन्दै मानव अधिकार सम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । प्राध्यापक वेदहरि तिमिल्सिनाले आम नागरिकका आवश्यकता र अधिकारको विषयलाई उजागर गर्नका लागि संचारमाध्यम र मानव अधिकारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताए । मुलुकमा देखिएको विद्यमान समस्याले आम नागरिकको मानवअधिकारको विषय कठिन परिस्थितिबाट गुज्रिएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरकारको प्रयास कमजोर देखिएको बताए ।
अधिवक्ता जनकल्याण पराजुलीले सहि सूचनाको अभावमा पनि सम्मानजनक जिउन पाउने नागरिकको अधिकार कुण्ठित हुने बताउँदै सूचनालाई हरेक नागरिकहरुको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिए। उनले सूचना प्रवाहका क्रममा न्यूनतम प्रभावलाई पनि ख्याल गर्नुपर्ने बताए । अधिकारकर्मी विष्णुप्रसाद बरालले वैशाखमा गएको विनाशकारी भूकम्प र महिनौंदेखि जारी नाकाबन्दी र मधेश आन्दोलनका कारण नागरिकहरुको जनजीवन नराम्ररी प्रभावित भएको भन्दै  सरकारी तदारुकता लाजमर्दो देखिएको बताए । अधिकारकर्मी कृष्ण अन्जान ज्ञवालीले तराईमा रहेका केही संचारमाध्यमहरु अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिएको भन्दै केही समूह र व्यक्तिले भने भारतको आडमा तराईलाई उत्तेजित बनाउने कार्य गरेको आरोप लगाए । महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सरिता थापाले राज्यको कमजोरीका कारण मुलुकभर मानव अधिकारको अवस्था दयनीय भएको भन्दै नागरिकले पनि आफ्नो अधिकार खोज्दा कर्तव्यलाई कहिल्लै भुल्न नहुने स्पष्ट पारिन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले संचारमाध्यमा काम गर्ने श्रमजीवि पत्रकारहरु अहिले दोहोरो चपेटामा परेको बताए । मानव अधिकार पत्रकार संघ (हुर्जा) कास्कीका अध्यक्ष राजेश पराजुलीले मानव अधिकारमैत्री पत्रकारिता गर्दै नागरिकको हक अधिकारलाई सुरक्षित गर्नुपर्नेमा जोड दिए । युवा मानवअधिकारकर्मी माधव पहारीले मधेश आन्दोलनका कारण अहिलेको परिस्थिति आएको भन्दै सबै मिलेर समस्याको समाधानमा लाग्नुपर्नेमा जोड दिए । रेडियो सफलताकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फेवान्यूज डटकमका संचालक वीरेन्द्र सापकोटा र  संचालन रेडियो सफलताकी प्रमिला बरालले गरेकी थिइन । यसैबीच मानवअधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी सम्पन्न भएको छ । मानव अधिकार चोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड हँुदै सभागृहमा पुगेर टुङ्गिएको थियो । प्रभातफेरीमा मानवअधिकारको क्षेत्रका पोखरामा क्रियाशिल सबै संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिभिन्न संघसंस्थाहरु आ–आफ्नो संस्थाको ब्यानर सहित उपस्थित भएका थिए । हरेक बर्षको १० डिसेम्बर का अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईन्छ । यसवर्ष ‘हाम्रा अधिकार र स्वतन्त्रका लागि सबैको लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका तय गरिएको थियो । ६६ बर्ष अघि १० डिसेम्वर आजकै दिन संयुक्त राष्ट्रसंघीय महासभाले विश्वव्यापी घोषणापत्र जारी गरि मानवअधिकार दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।

Post a Comment

 
Top