0
एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा राष्ट्रियताको मुद्दालाई केन्द्रबिन्दुमा राखेर अगाडि जानुपर्नेमा जोड दिइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा धारणा राख्ने नेताहरुले पछिल्लो दिनमा मुलुकको सार्वभौमसत्ता र अखण्डतामा सङ्कट पैदा भएको र राष्ट्रियता सङ्कटमा परेकाले त्यसलाई विशेष ध्यान दिनेगरी एजेण्डा तय गर्न आग्रह गरेका थिए । ंविधानसभाबाट संविधान जारी हुनु जायज भए पनि विगतदेखि नै पार्टीले उठाउँदै आएका सबै एजेण्डा समावेश हुन नसकेको, असन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन नसकिएको भन्दै संशोधनमार्फत विभिन्न क्षेत्रको मागलाई लिपिबद्ध गर्नुपर्ने विचार व्यक्त गरेका थिए । एमाओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेका अनुसार आजको बैठकमा १८ जना केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर धारणा राख्नुभएको हो । शनिबारको बैठकमा गोपाल किराती, जनार्दन शर्मा, ध्रुव पराजुली, हरि अधिकारी, सुरेश किराती, कालीबहादुर मल्ल, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद जैसवाल, लिलाबहादुर थापाले सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने, पार्टीभित्र देखिएको विकृत्ति तथा विसङ्गतिलाई अन्त्य गर्नुपर्ने, भारतलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए । संविधानको सहज कार्यान्वयनका लागि पार्टी प्रतिबद्ध भएर लाग्नुपर्ने, संविधानबाट प्राप्त भएका उपलब्धिलाई जनताको तहमा लैजानुपर्ने, पार्टीका तल्ला तहका कार्यकर्तालाई पनि संविधानमा उल्लेखित विषयवस्तुलाई प्रष्ट पार्नुपर्ने उहाँहरुको धारणा रहेको मुख्यसचिव पाण्डेले जानकारी दिए । यस्तै माओवादी मान्ने पार्टीका बीचमा एकता प्रक्रिया अगाडि बढाउनुपर्ने, नयाँ शक्तिका नाममा भइरहेको माओवादी आन्दोलनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत रहनुपर्ने धारणासमेत उनीहरुले राखेका थिए । बैठकमा केन्द्रीय सदस्य हेमराज भण्डारीले आफ्नो फरक मत दर्ज गराएका थिए ।  यस्तै पार्टीभित्र फरक मतको सम्मान गर्न, अन्तरसङ्घर्षलाई व्यवस्थित बनाउनुपर्ने, पार्टीभित्र क्रमिकरुपमा नेतृत्वको विकास गर्नुपर्नेसमेत उनीहरुको मत रहेको थियो ।

Post a Comment

 
Top