0
नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन तीन दिनभित्र आवश्यक पुनरावलोकन गरी सभापति सुशील कोइरालासमक्ष बुझाउन निर्देशन दिएको छ।  पार्टीको १३औं महाधिवेशनका लागि देशभरीबाट सङ्कलित क्रियाशील सदस्यता माथि छानविन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रीय समितिमा चारदिन लामो छलफल पश्चात पनि निश्कर्ष निकाल्न नसकेपछि थप छानविन गरी सभापतिसमक्ष बुझाउन समितिलाई निर्देशन दिएको हो। केन्द्रीय सदस्य गोविन्द भट्टराईका अनुसार, आइतबार साँझ बसेको दोस्रो बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले विवादित जिल्लाको क्रियाशील सदस्यताबारे थप पुनरावलोकन गरी सभापति लाई बुझाउन छानविन समितिलाई तीन दिनको समय दिने निर्णय सुनाएका थिए। केन्द्रीय सदस्य नरहरि आचार्य संयोजक, रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको छानविन समितिले तीनदिनभित्र विवादित जिल्लाको सदस्यताबारे निर्णय गरी आफ्नो प्रतिवेदन सभापति सुशील कोइरालालाई बुझाउने छ। त्यसपछि सभापति कोइरालाले पार्टीको आसन्न महाधिवेशनको लागि पार्टी सदस्य राधेश्याम अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिलाई उक्त प्रतिवेदनसहित क्रियाशील सदस्यहरुको नामावली बुझाउने छन्। छानविन समितिले झण्डै १० महिना लगाएर तयार पारेको प्रतिवेदनमा कतिपय जिल्लाबाट प्राप्त नयाँ क्रियाशील सदस्यता फारममा त्रुटि भेटिएको र कतिपयमा प्रक्रिया नपुगेको भन्दै त्यी सदस्यलाई पार्टीको १३ औं महाधिवेशनमा मताधिकार नदिइ स्थगित गर्ने सुझाव दिएको थियो।  चारदिनसम्म बसेको केन्द्रीय समिति बैठकमा ५९ जना सदस्यहरुले राय राखिसकेपछि उक्त प्रतिवेदनमाथि कुनै निर्णय हुन नसकेपछि सभापति कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवासहित पदाधिकारीहरुसँग केही समय छुट्टै परामर्श गरी बैठकको निर्णय तय गरिएको थियो। जुन आजको दोस्रो बैठकमा महामन्त्री सिटौलाले पढेर सुनाएपछि बैठकले पारित गरेको थियो।

समितिको उक्त प्रतिवेदनमा सोलुखुम्ब सोलुखम्बु जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य बलबहादुर केसी, धनुषाका आनन्दप्रसाद ढुंगाना, वाराका फरमुल्हा मन्सुर, पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले गम्भिर आपत्ति जनाउदै उक्त प्रतिवेदनको आधारमा पार्टी अघि बढे पार्टी संगठन नै समाप्त हुने दाबी गर्दै आएका थिए।  समितिले तयार पारेका प्रतिवेदन अनुसार, कांग्रेसमा यसपटक ४ लाख ७० हजार क्रियाशील सदस्यता कायम गरिएको छ। ऋघिल्लो पटक ३ लाख १६ हजार क्रियाशील सदस्यता रहेकोमा झण्डै ६० हजारले यसपटक नविकरण गरेका छैनन। पार्टी निर्णय अनुसार फागुन २० देखि २४ गतेसम्म काठमाडौंमा हुने अधिवेशनको तयारीका लागि माघ १५ गते गाउँ र नगरपालिका, २२ गते निर्वाचन क्षेत्र र २५ गते जिल्ला अधिवेशन हुने छ। कांग्रेसको विधान अनुसार, क्रियाशील सदस्यहरु कांग्रेसको तल्लो निकायका मतदाता हुन। जसको वितरण प्रक्रिया पार्टीले धेरै पहिलेदेखि व्यवस्थित गर्न नसक्दा निर्वाचनको मुखमा आएर एक अर्को पक्षबीच अधिवेशन प्रभावित पार्न अनियमित तबरले वितरण भएको विवाद चल्दै आएको छ।


Post a Comment

 
Top