0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल उच्चमाविले मंगलबार रजत जयन्ती मनाएको छ । जयन्तीका अवसरमा गैह्रापाटनस्थित विद्यालय परिसरमा विभिन्न कार्यक्रम गरिएको छ । पश्चिमाञ्चल फाउण्डेशनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले रजत जयन्तीको अवसरमा मैनबत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए । उक्त अवसरमा विद्यालय परिसरमा आयोजित सांस्कृतिक कार्यक्रममा विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए । कविता, हास्यव्यंग्य तथा नाचगान गरेर विद्यार्थीले रजत जयन्तीको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए ।
कार्यक्रममा अध्यक्ष पराजुलीले विद्यालयले २५ वर्ष अवधिमा धेरै कर्णधार उत्पादन गरेको बताए । ‘विद्यालयले २५ वर्षमा हजारौं कर्णधार उत्पादन गरिसकेको छ । यो यात्रा अझै जारी छ,’–उनले भने । विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले रजत जयन्तीको अवसरमा यो वर्षभरी विभिन्न कार्यक्रम गर्ने बताए । उनका अनुसार विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता, वृद्धवृद्धालाई सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण, निवन्ध, कविता, वक्तृत्व प्रतियोगिता लगायतका कार्यक्रम गर्ने जानकारी दिए । विद्यालयका एकेडेमिक डीन अमृतकुमार भण्डारीले शैक्षिक क्षेत्रमा नयाँ शैली र प्रविधि अपनाउँदै आगामी दिनमा थप अघि बढ्ने बताए । विद्यालयले २०६० देखि उच्चमावि संचालन गरेको छ । फाउण्डेशन अन्तर्गत २०६३ देखि विद्यालयले स्नातक तहमा अध्यापन गराउने गरि लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर समेत संचालनमा ल्याएको छ ।

Post a Comment

 
Top