0
सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ पार्टी एमाओवादीभित्र असन्तुष्टि बढेको छ । स्थायी समिति र पार्टीका मन्त्रीहरूबीच शनिबार बिहान बसेको बैठकमा नेताहरुले आफ्ना मन्त्रीहरुको अनशासन र कार्यशैली पार्टीको आचारसंहिता अनुरुप नभएको भन्दै फिर्ता बोलाउनुपर्ने मागसमेत गरे । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो संयोजकत्वमा गठित सरकार संयोजन तथा परिचालन संयन्त्रले निर्माण गरेको आचारसंहिताविपरीत मन्त्रीहरु गएको भन्दै यो क्रम जारी रहे आफूले संयन्त्रको जिम्मेवारी त्याग्ने चेतावनी समेत दिए । स्थायी समिति स्रोतका अनुसार पार्टी अनुशासन र आचारसंहिता तोडै मन्त्रीहरु अघि बढेको भन्दै समितिमा आलोचना भएको थियो ।

तर दाहालका स्वकीय सचिव चुडामणि खडकाले भने मन्त्रीहरुको कामकारबाहीबारे आलोचना नभएको, केवल मन्त्रालयबारे अध्यक्षसमक्ष रिपोर्टिङ मात्रै भएको दाबी गरे । ‘मन्त्रीज्यूहरुले आ–आफ्नो मन्त्रालयबारे ब्रिफ गर्नुभयो, उहाँहरु र स्थायी समिति सदस्यहरुको बोल्ने क्रम अझै बाकी छ,’ उनले भने,–‘उहाहरु र अध्यक्षज्यूले सोमबार बोल्ने कार्यक्रम छ ।’ मन्त्रीहरुले सरकारमा एमालेको वर्चस्व रहेका कारण काममा सहजता नरहेको, नाकाबन्दीले गर्दा अरु विषयमा ध्यान केन्द्रित गर्न नपाएकोलगायत समस्या रिपोर्टिङ गरेका थिए । स्थायी समिति सकिएलगत्तै बसेको एमाओवादी केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले पार्टीको सांगठानिक जीवन अस्तव्यस्त भएको, सरकारमा पार्टीको फितलो प्रस्तुति देखिएको भन्दै आलोचना गरेका थिए । अघिल्लो मंगलबार सुरु केन्द्रीय समितिमा अहिलेसम्म १ सय ४ केन्द्रीय सदस्यले अध्यक्ष दाहालको प्रतिवेदनमाथि टिप्पणी गरिसकेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।





Post a Comment

 
Top