0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले आपूर्ति असन्तुलित भएको बारे सरकारलाई जानकारी गराएको भन्दै पश्चिमाञ्चलमा सहज आपूर्ति व्यवस्था मिलाउन आफू लागि परेको बताएका छन् । मुलुकको अहिलको समस्या राजनीति भएको उल्लेख भन्दै उनले राजनीतिक समस्या समाधान नभएसम्म जनताको चुल्हो सहज नहुने स्पष्ट पारे ।
 
क्षेत्रीय प्रशासक भएका हालै पोखरा आएका उनलाई पोखरा उद्योग वाणिज्य संघले स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै उनले पोखरामा दाउरा वितरण गरिने सम्भावना रहेको बताउँदै हरेक परिवारलाई कार्डको व्यवस्था गर्न सके इन्धन पाउने अवस्था आउने भएकाले त्यसका लागि पहल गरिने जानकारी दिए । पोखरामा संचालित राष्ट्रिय गौरवका परियोजनाहरुको चर्चा गर्दै उनले बृहत पोखराको नक्सा तयार नपारेसम्म अन्य परियोजना अगाडि सार्न गाह्रो भएको बताए । ‘पोखरा गौरवका सबै परियोजनाको अवधारणा ठीक छ तर त्यसको काम नै सुरु भएको छैन’,उनले भने,–‘ कसैले समाजसेवा गर्छ भने ठीकै छ, नभए मनोगत आधारमा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना बन्दैन ।’ पोखरा र समग्र पश्चिमाञ्चलको विकास एवं आत्मनिर्भर अर्थतन्त्रका लागि कफी वा सुन्तलाको व्यवसायिक खेतिमा लाग्नुपर्ने उनको भनाइ छ । ‘त्यसको नेतृत्व र व्यवस्थापना निजी क्षेत्रले गरोस्, किसानको पनि सेयर होस र लगानी सबैको होस् ।’–उनले भने । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले देशमा चरम इन्धन अभाव भएको बेला इन्धनको समान आपूर्ति व्यवस्था मिलाउनका लागि क्षेत्रीय प्रशासकसँग आग्रह गरे । देशमा सीमित मात्रामा भित्रिएका इन्धन र ग्याँसको ठूलो परिमाण राजधानीमा मात्र लैजाँदा पोखरा लगायतका क्षेत्रमा समस्या परेको उनको भनाइ थियो । उनले खाना पकाउने ग्याँसको चरम अभाव हुँदा दाउराको भएपनि आपूर्ति हुनुपर्नेमा जोड दिए । अध्यक्ष थापाले क्षेत्रीय प्रशासन कार्यालय पोखराको अगुवाइमा पोखराको विकासको लागि १७ वटा गौरवका परियोजना छनौट गरिएको स्मरण गराउँदै ती परियोजनाहरुको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।
 
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा आपूर्ति व्यवस्था सहज नभएको वर्तमानमा नेपालको समग्र आपूर्ति व्यवस्था र बितरण प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता खड्किएको बताए । वर्तमान संकटको कारक राजनीतिक भएको उल्लेख गर्दै उनले राजनीतिक विषयलाई गम्भीरतापूर्वक समाधान गर्न राज्य उदाशिन भएको आरोप लगाए । देशमा राष्ट्रिय स्वाभिमानको नाममा  समानान्तर अर्थ व्यवस्थाको जगेर्ना भएको दावी गर्दै उनले खोक्रो राष्ट्रवादको कुरा गरेर जनतालाई भ्रममा नपार्न सरकार र राजनीतिक दलहरुसँग आग्रह गरे । भारत नेपालको छिमेकी राष्ट्र भएकोमा कुनै द्विविधा राख्न नहुने बताउँदै उनले छिमेकीविरुद्ध उत्तेजना फैलाउने कामले कसैको भलो नगर्ने जिकिर समेत गरे । पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष देव क्षेत्रीको धन्यवाद र महासचिव रविन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखे, पोखरा पर्यटन परीषदका उपाध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा अधिकृत बिक्रेता संघका अध्यक्ष सुरेश अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top