0
भारतको नयाँ दिल्लीमा भएको विश्व कुङ्फु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि हात पारेको छ । नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कास्यपदकका साथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जानकारी दिए । त्यसैगरी प्रतियोगितामा भारत भने दोस्रो बनेको छ । डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्णपदक जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । सृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजतपदक जितिन् । त्यस्तै सान्डामा मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं, चिराग पौडेल तथा रवीन्द्र मगरले नेपाललाई समान एक एक स्वर्णपदक दिलाए ।  सान्डा स्पर्धामै युक्ता युवा, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं र सागर तामाङले समान एक÷एक रजत तथा यज्ञराज घलले कास्यपदक हात पारे ।


Post a Comment

 
Top