0
गोल्डेन न्यूज संवाददाता
आदर्श युवा क्लव लेखनाथ १ भण्डारढिकको १८औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको क्लवका सदस्य पहिलो रक्तदाता लक्ष्यबहादुर के.सी लाई ब्लडव्याग हस्तान्तरण गर्दै, एन्फा कास्कीका अध्यक्ष धर्मसिंह लामिछानेले उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले लेखनाथमा आदर्श युवा क्लव सामाजिक क्रियाकलापमा अग्रणी रहेको उल्लेख गरे । उनले लेखनाथको खेलकुदको विकासमा क्लवले अतुलनिय योगदान पुर्याएको बताउँदै, प्रस्तावित रंगशालाको स्तरोन्नती, खेल सामाग्री बितरण, खेलाडीलाई प्रशिक्षण लगायतका क्रियाकलाप सह्रानिय रहेको उल्लेख गरे ।
 
क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लेखनाथका सभापति राजेन्द्रमणि लामिछाने, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ हार्डवेयर एशोसिएशनका अध्यक्ष ऋषिराम भण्डारी, क्लवका संस्थापक अध्यक्ष चेतवहादुर गुरुङ लगायतले खेलकुदको क्षेत्रमा आदर्श युवा क्लवको क्रियाकलाप लेखनाथका लागि कोशे ढुंगा सावित भएको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि र क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले फुटवल खेल प्रशिक्षणका लागि निर्माण गरिएको कोषका प्रशिक्षक मिलन गुरुङ, विश्वास गुरुङ र तारा के.सी लाई एक लाख ५० हजार रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेका थिए । मर्सी क्रप्सको सहयोगमा सो सामाग्री लेखनाथका ९ नीजि तथा सरकारी विद्यालयका खेलाडीलाई प्रशिक्षण उपलब्ध गराउन प्रयोग गरिने छ । क्रप्सले प्रस्तावित रंगशालाको स्तरोन्नतिका लागि ५० लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।
क्लवले बार्षिकोत्सव साताभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने जनाएको छ । १५ गतेसम्म विभिन्न विद्यालयलाई खेलसामाग्री बितरण, १६ गते विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता र मंसिर १८ गते निशुल्क दन्त शिविरको आयोजना गरिने क्लवका अध्यक्ष भण्डारीले जानकारी दिए  ।

Post a Comment

 
Top