0
गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अर्थात डिसेम्वर १० यसवर्ष पनि मनाइने भएको छ । यो दिवस विश्वव्यापी रुपमा हरेक वर्ष मनाइने गरिन्छ । पोखरामा भने सातौं राष्ट्रिय तथा क्षेत्रीय मानव अधिकार महाभेला–२०७२ को रुपमा विविध कार्यक्रमका साथ मनाइने भएको छ । राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको संयोजकत्वमा क्षेत्रीय प्रशासन कार्यालय तथा नागरिक समाज सम्मिलित क्षेत्रीय मानव अधिकार महाभेला आयोजक समिति संगको सहकार्यमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन लागिएको राष्ट्रिय मानव अधिकार आयोगकी क्षेत्रीय निर्देशक सम्झना शर्माले जानकारी दिइन ।
 
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मानव अधिकार संरक्षण तथा संवद्र्धनमा सरोकारवाला निकायहरुबाट गरिएका कार्यहरुको बारेमा जानकारी आदान–प्रदान गरी यस वर्ष तय गरिएका विभिन्न गतिविधिका जिम्मेवारी वहन गर्न  थप उर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । विभिन्न मानवअधिकारसंग सम्बन्धित संघ–संस्थाहरुले गर्ने कार्यक्रमहरुलाई समेट्दै यस वर्ष राष्ट्रिय मानवअधिकार आयोग, क्षेत्रीय प्रशासन कार्यालयका साथै नागरिक समाज तथा विभिन्न संघ–संस्थाले गर्ने कार्यक्रमलाई एकीतृत गर्दै कार्यक्रम गरिने आयोगकी क्षेत्रीय निर्देशक शर्माले बताइन ।
 
निर्देशक शर्माका अनुसार यस वर्षको मानव अधिकार दिवसको अन्तर्राष्ट्रिय नारा ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता सधैं’ रहेको छ भने राष्ट्रिय मानव अधिकार आयोगले ‘सबैका लागि घर–घरमा मानव अधिकार ः शान्ति र विकासको आधार’ रहेको छ । यस्तै पश्चिमाञ्चल क्षेत्रीय मानव अधिकार महाभेलाले भने ‘लोकतन्त्र, मानव अधिकार र समावेशिता, राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता’ नारा तय गरेको आयोगकी क्षेत्रीय निर्देशक शर्माले बताइन । मुलुकमा संविधान जारी भइसकेको अवस्थामा जारी संविधानमा आयोगले उठाएका आवाज लगायतका विषयहरु समावेश गरिएकोले यसलाई कार्यान्वयन तर्फ लैजान सशक्त आवाज उठाउनुपर्नेमा शर्माले जोड दिइन । पत्रकार सम्मेलनमा बाल्दै  उनले नेपाल सरकारले निर्माण गरेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान र सुशासन, मानव अधिकार र विकासको अन्तरसम्बन्धलाई केलाउदै मानव अधिकारमुखी विकास पद्धतिको अवलम्वन गर्न जरुरी रहेको बताइन । मानव अधिकार सम्वद्ध गैरसरकारी संस्थाहरुको संलग्नतामा विभिन्न समयमा हुने विविध कार्यक्रमले मानव अधिकार संस्कृतिको विकास गर्ने, भावी मानवअधिकार रणनीति तयार गर्न र राज्यले मानवअधिकारप्रति गरेको प्रतिवद्धतालाई व्यवहारिक रुपमै स्थानीय तहसम्म कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिइन ।
 
पत्रकार सम्मेलनमा बाल्दै उनले मानवअधिकारको बारेमा क्षेत्रीय र राष्ट्रियस्तरमा सचेतना फैलाउन, मानवअधिकारमैत्री कानून, लोकतन्त्र, संक्रमणकालिन न्याय, शान्ति र दीगो विकासका लागि सरोकारवाला निकाय र राज्यका संयन्त्रहरुबीच आपसी सहयोग र सद्भाव अभिवृद्धि गरि मानव अधिकार संस्कृतिको विकास गर्न यो दिवस मनाउन लागिएको बताइन । मानव अधिकारको प्रत्याभूति, दण्डहीनताको अन्त्य, विधिको शासन प्राप्त संविधानलाई संस्थागत गर्नका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन, महिला हिंसाको न्युनिकरण तथा बालअधिकार संरक्षणका लागि सामूहिक प्रयासमा जोड गर्ने र सामूहिक भावना अपनत्व र जिम्मेवारी बोध गराउन सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्यलाई सुदृढ गर्न मानव अधिकार दिवस प्रभावकारी हुने शर्माले विश्वास व्यक्त गरिन् ।
 
दुई दिवसीय रुपमा मनाउन लागिएको मानवअधिकार दिवसमा रक्तदान कार्यक्रम, चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजना क्षेत्रीय कार्यशाला, प्रभातफेरी लगायतका कार्यक्रम हुने बताइन्छ । यस्तै विभिन्न संघ–संस्थाको सहयोगमा मानवअधिकार तथा महिला अधिकार विषयक अन्तरक्रिया, देशको वर्तमान अवस्था र  मानव अधिकार विषयक सचेतना, भूकम्प प्रभावितलाई सचेतना, किशोरीहरुको अवस्था र उनीहरुको मानव अधिकारका साथै गाविस तहमा महिला र बालबालिकालाई सचेतना गराइने आयोगकी क्षेत्रीय निर्देशक शर्माले बताइन । उनका अनुसार मानव अधिकारका सवालमा विभिन्न संचारमाध्यममा संवाद, भ्रष्टाचार र सुशासनका लागि अनुशिक्षण, स्वच्छ सुनुवाइ सम्बन्धी अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सवालहरु विषयक छलफल कार्यक्रम मानव अधिकार दिवसमा आयोजना गरिएको छ ।
 
यसैगरी मानव अधिकार दिवसमा दलित र मानव अधिकार विषयक अन्तक्र्रिया, घुम्ती कानूनी सेवा, बालअधिकार संरक्षण र प्रवद्र्धनका लागि बालबालिकाद्वारा बनाइएको चित्रहरुको प्रदर्शनी, बालअधिकार अन्तक्र्रिया, बच्चाको संरक्षण र पढाइको सहयोगार्थ बाख्रापालनलाई सहयोग तथा अन्तक्र्रिया, बालअधिकारलाई घरेलु हिंसा सम्बन्धी बाल क्लव र शिक्षकसंग अन्तक्र्रिया कार्यक्रम तय गरिएको छ । गैससका सदस्यहरुलाई महिला अधिकारका सम्बन्धमा संवैधानिक र कानूनी प्रावधान कार्यान्वयनको अवस्था र मनोसामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम, महिला मानव अधिकारका साथै लैंगिक हिंसा विरुद्धको अभियानलाई समेत टेवा पुग्ने गरि कार्यक्रम तय गरिएको शर्माले जानकारी दिइन । मानव अधिकार राष्ट्रिय महाभेला आयोजक समितिका साथै, राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय प्रशासन कार्यालय, शान्तिका लागि नागरिक समाज सञ्जाल, मानव अधिकार पत्रकार संघ (हुर्जा), एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च, शक्ति समूह, कुञ्जनी परियार, किशोरी समूह, कोपिला नेपाल, सुनास, ल्याक कास्की, राइटफर चिल्ड्रेन, सिविन लगायतका संघ–संस्थाहरुले मानव अधिकार दिवसमा सम्पन्न विविध कार्यक्रमहरुको जिम्मेवारी लिएको हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीले जानकारी दिए ।






Post a Comment

 
Top