0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा यो बर्ष आलु उत्पादनमा गिरावट हुने भएको छ । आलु खेती हुने पकेट क्षेत्रहरुमा गत बर्षको तुलनामा १० प्रतिशतसम्म आलु उत्पादन घट्ने कृषि विकास कार्यालय कास्कीको अनुमान छ । अघिल्लो बर्ष २५ हजार १ सय ३० मेट्रिक टन आलु उत्पादन भएकोमा यो बर्ष यसको दर ५ देखि १० प्रतिशतसम्म घट्नेछ । कोल्ड स्टोरमा राखिएका विउ कुहिएको र विभिन्न खालका रोग किराको प्रकोप देखिएकाले उत्पादनमा गिरावट आउने कार्यालयका बागबानी विकास अधिकृत मनहर कडरियाले बताए । यो बर्ष कोल्ड स्टोरका विउहरु कुहिएका छन्, उनले भने–बाहिरबाट आयात हुने वीउहरु पनि खासै गुणस्तरको छैन, यसले उत्पादन घट्न सक्छ । यस्तै ढुवानीको अभावले गाउँगाउँमा मल वीउ पुग्न नसकेको किसानहरुले गुनासो गरेका छन् । हामीलाई नाकाबन्दीको प्रत्यक्ष असर परेको छ, भलामका ब्यवसायिक किसान रामबहादुर हमालले भने–डिजेल पेट्रोल नहुँदा खनजोत गर्न र ढुवानीमा समस्या भयो । यसले गर्दा आलु खेतीबाटै जीविकोपार्जन गर्दै आएका जिल्लाका किसानहरु चिन्तित भएका छन् । जिल्लाको हेमजा, लेखनाथ, घान्द्रुक, पोखराका विभिन्न वडाहरु आलुका लागि पकेट क्षेत्र मान्छिन् । जिल्लामा हाल करिब १७ सय हेक्टर क्षेत्रफलमा आलु खेति गरिन्छ भने करिब ५ हजार जना ब्यवसायिक किसानहरु छन्, जसले हरेक बर्ष ब्यवसायिक रुपमै खेति गर्दै आएका छन् । गत बर्ष आलु बिक्रीबाट यहाँका किसानहरुले करिब ३६ करोड रुपैयाँ भित्र्याएका थिए । त्यसमध्ये हेमजाका किसानले मात्रै आधा भन्दा बढी रकम आम्दानी गरेका कृषि विकास कार्यालय कास्कीले जनाएको छ । आलु खेती गरेरै जीविकोपार्जन गर्ने किसानहरु पनि करिब २ सयको हाराहारीमा रहेको कार्यालय प्रमुख रमेश प्रसाद कोईराला बताउँछन् । जिल्लामा आलु उत्पादनको सम्भावना प्रचुर छ, उनले भने–तर किसानहरुले ब्यवसायिकता अपनाउन सकेका छैनन्, आधुनिक प्रणालीबाट खेती गर्न सके यसैबाट जीवन चलाउन सकिन्छ । यहाँका किसानहरुले अहिले आलु बेचेरै बार्षिक १० हजारदेखि ५ लाखसम्म कमाउँछन् ।
 
कास्कीमा अझै करिब १५ हजार मेट्रिक टन आलु जिल्ला बाहिरबाट आयात हुने गरेको कार्यालयको तथ्यांक छ । तर जिल्लाबाट भने करिब १ सय टन मात्रै निर्यात हुन्छ । आलुको उत्पादन बढाउन र किसानहरुलाई ब्यवसायिक बनाउनका लागि जिल्ला कृषि विकास कार्यालय कास्कीले अहिले किसानहरुलाई १४ टन आलुको वीउ अनुदानमा ढुवानी गरिदियो भने जिल्लाभरका २५ ठाउँमा नतिजा प्रदर्शन समेत गरिदियो । यी बाहेक तालिम तथा प्राविधिक सहयोग भने निरन्तर भैरहेको कार्यालयका बागबानी विकास अधिकृत मनहर कडरिया बताउँछन् । जिल्लाको उत्पादनले अझै माग धान्न सकेको छैन, कडरिया भन्छन्–तर सिञ्चाई र गुणस्तरीय वीउ अभावका कारण किसानहरु यसतर्फ आकर्षित हुन सकेका छैनन् । यसका लागि यन्त्रीकरण गरी उत्पादन लागत घटाउने र उन्नत जातका विउ प्रयोग गर्नेतर्फ किसानले ध्यान दिनुपर्ने उनको सुझाव छ । कास्कीमा हाल एमएस ४२, जनकदेव, खुमललक्ष्मी र अन्य स्थानीय जातका आलुहरु रोपण गरिन्छ । आलुको पकेट क्षेत्र हेमजा र लेखनाथमा आलुको वीउकोषका लागि सहकारीमार्फत २÷२ लाख रुपैयाँ अनुदान उपलब्ध गराईएको कार्यालयले जनाएको छ ।जिल्लामा अहिले आलुको भण्डारण सबैभन्दा मुख्य समस्या रहेको किसानहरुले गुनासो गरेका छन् । यो बर्षपनि भण्डारमा राखिएकै करिब १५ टन आलु कुहिए पछि कोल्ड स्टोरमा राखिएको आलु समेत सुरक्षित नभएको उनीहरुले महसूस गरेका छन् । यसका लागि सुरक्षित भण्डारण गृहको स्थापना हुनुपर्ने र प्रशस्तै संकलन केन्द्रको ब्यवस्था गर्न कार्यालय समक्ष उनीहरुको माग छ ।


Post a Comment

 
Top