0
गोल्डेन न्यूज संवाददाता
गोरखाको पुनःनिर्माणका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजना बनाउन शुक्रबारदेखि पोखरामा दाता सम्मेलन सुरु भएको छ । भूकम्प गएको सात महिना हुँदासमेत पुनःनिर्माण प्राधिकरण गठन नभएको बेला भूकम्पप्रभावित गाउँ, बस्ती पुनःनिर्माणका लागि रणनीतिक योजना बनाउन दाता सम्मेलन गरिएको हो । पुनःनिर्माणका लागि आवश्यक योजनाहरू तयार गर्न आयोजित गोष्ठीमा भूकम्पपछि गोरखा जिल्लामा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र भूकम्पपीडितलाई सहयोग गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिहरू पनि सहभागी छन् ।    गोष्ठीको उद्घाटनमा बोल्दै दातृ निकायका प्रतिनिधिहरूले पुनःनिर्माण प्राधिकरण तत्कालै गठन हुनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस गोरखाका जिल्ला सभापति हरि घलेले भूकम्पपीडितका लागि आएका सङ्घसंस्थाले पुनःनिर्माणको योजना बनेपछि खुरुखुरु काम गर्नुपर्नेमा जोड दिए । गोरखाका १३ हजार जनता पुनःनिर्माणको पर्खाइमा बसेको भन्दै उनले सरकारी मापदण्डअनुसार तत्काल घर बनाउनुपर्ने बताए ।
चिसोले भूकम्पपीडित कठ्याँग्रिएको भन्दै उनले भने– “पुनःनिर्माणमा सघाउन आएका सङ्घसंस्थाहरू आकाश हेरेर बस्ने होइन, खुरुखुरु काम गर्नुप¥यो ।” काम नगर्ने सङ्घसंस्थालाई जिल्लामा बस्न नदिइने गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए । केन्द्रले पुनःनिर्माण प्राधिकरण गठन नगरेपछि गोरखाको पुनःनिर्माणलाई कसरी अघि बढाउने भन्ने रणनीति तयार गर्ने उनको भनाइ छ ।    दाता सम्मेलनमा अहिलेसम्म भएका उद्धार तथा राहतका कामबारे समीक्षा गर्ने र पुनःनिर्माणका लागि दातृ निकायसँग कति बजेट छ भन्नेबारे जानकारी गराइने गोरखाका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए । “कुन संस्थासँग कति बजेट छ भन्नेबारे पत्ता लगाएर ठोस योजना बनाउँछौँ”–उनले भने । सम्मेलनमा डिएफआइडी, सिआरएस, अक्सफाम, इको नेपाल, पिपुल इन निड, युएनडिपी लगायत ठूला दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् । १३० जनाको सहभागिता रहेको सम्मेलन  शनिबारसम्म चल्नेछ । वैशाखमा गएको भूकम्पले गोरखामा ५८ हजार घरधुरी ध्वस्त हुनुका साथै ४७२ जनाको मृत्यु र एक हजार एक सयजना मानिस घाइते भएका थिए ।




Post a Comment

 
Top