0
गोल्डेन न्यूज संवाददाता
६७औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) कास्की जिल्ला कार्य समितिको आयोजनामा वर्तमान अवस्थामा र मानव अधिकारको स्थिति विषयक सचेतना कार्यक्रम सोमबार सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ वरालले देशको वर्तमान अवस्था सबैलाई  थाहा भएको वताउँदै शान्तिपूर्वक जीउन पाउने मानिसको अधिकारलाई सरकारले सुरक्षित गर्नु पर्ने वताए। वौद्धिक जागरण समाजका अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक आचार्यले २७ र ४५ सालमा भारतले  लगाएको नाकाबन्दीको स्मरण गर्दै देशले असल नेता नपाउनाले जनताले पटक पटक दुःख पाएको वताए। कार्यक्रममा एशियन फोरममा केन्द्रिय अध्यक्ष निरज थापाले एशियन फोरमले विदेशमा रहेका आप्रवासी कामदारको हक, हित र अधिकारको लागि आवाज उठाउँदै आएको तथा स्वेदशमा रहेका वैदेशिक रोजगारीबाट आएकाहरु लाई एकीकृत गरी एकता वद्ध भई देश विकासमा लाग्न प्रेरणा दिने गरेको वताए।
 
पुनरावेदन वार एशोसिएनका अध्यक्ष अधिबक्ता खगेन्द्र आचार्यले मधेश आन्दोलनका नाममा मानव अधिकार हननका थुप्रै घटनाहरु वढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए। शान्ति समिति कास्कीका सदस्य तथा मानव अधिकारकर्मी अधिवक्ता खगराज आचार्यले २०४६ सालदेखि अहिलेसम्मका नेताहरुले आफू सत्तामा जान र टिकिरहन भारतसंग सहयोग माग्दै र झुक्दै आएकोले देशले यो अवस्था भोग्नु परेको वताए। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले मधेशका जायज मागहरु छिटो पुरा गर्नु पर्ने र पुरा गर्न नसकिने मागहरुलाई औपचारिक रुपमा सकिदैन भनेर सरकारले घोषणा गर्नु पर्ने वताए। नेपाल प्रगतिशिल प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष डा. टंकराज अधिकारी, महिला प्रतिनिधि दुर्गा आचार्य, अधिवक्ता दण्डपाणि वराल, मानव अधिकारकर्मी लेखबहादुर थापा, विरौटा क्लबका अध्यक्ष सूर्यप्रसाद वराल लगायतले वोलेका थिए। संस्थाका जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य मेनका पौडेल र संचालन कास्की जिल्ला सचिव मोहनराज बरालले गरेका थिए। सन् २००५ मा स्थापना भएको एशिया मानव अधिकार तथा सास्कृतिक विकास मञ्चले आप्रवासन, कृषि विकास, मानव अधिकार, साँस्कृतिक बिकास, उद्यमशिलता समुदाय क्षमता, शिक्षा र स्वास्थ्य लगायतका केन्द्रहरूमा निरन्तर काम गर्दै आईरहेको छ। 

Post a Comment

 
Top