0
गोल्डेन न्यूज संवाददाता
असल छिमेकी नेपालको आयोजनामा स्वयम्सेवक परिचालन तालिम सम्पन्न भएको छ । कार्यक्रममा स्वयम्सेवाका उद्देश्यहरु, स्वयम्सेवाका जिम्मेवारीहरु, स्वयंसेवकप्रति संस्थाका जिम्मेवारीहरु, स्वयंसेवाका आधारभूत सिद्धान्तहरु, स्वयम्सेवा व्यवस्थापन का चुनौतीहरु, स्वयम्सेवाका क्षेत्रहरु, विपद्का प्रकार, कारण, परिणाम र व्यवस्थापन तथा उद्धारका सिद्धान्तहरु बारे प्रशिक्षण दिइएको थियो । कालिका गण, मालेपाटन बाट असई पदमपाणि पाण्डेको नेतृत्वमा दुई सदस्यीय टोली प्रशिक्षणका लागि आएको थियो । प्रीशक्षणमा सैद्धान्तिक शिक्षाका साथै अभ्यासद्वारा व्यावहारिक ज्ञान पनि दिइएको थियो । साथै उद्धारमा प्रयोग गरिने औजारहरु र तिनको प्रयोगबारे पनि बताइएको थियो । कार्यक्रममा प्रशिक्षक पाण्डेले कतै विपद् आइलाग्नासाथ टोल फ्रि नम्बर १११४ मा फोन गर्न अनुरोध गर्दै उद्धार टोली तत्काल घटनास्थलमा पुगी सेवा दिन सकिनेबारे जानकारी दिए । त्यस्तै असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले विपद् व्यवस्थापनका लागि २५० जना तालिमप्राप्त स्वयम्सेवक तयार गरी भविष्यमा आइपर्ने विपद्हरुमा प्रभावकारी सेवा दिने योजना रहेको बताए । कार्यक्रम रामघाट चर्चमा आयोजना गरिएको थियो । कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा पोखराका विभिन्न चर्चहरुबाट महिलापुरुष गरी ३६ जनाको सहभागिता रहेको थियो ।


Post a Comment

 
Top